गरीखानेका गुनासो : भोट हाल्न गाउँ जान मन छ तर पैसा छैन

कतिपयले खर्चकै कारण गाउँ नजाने बताइरहँदा केही भने सरसापटी गरेर पनि भोट हाल्न जाने बताउँछन् । भोट हाल्न गए पनि नगए पनि धेरैको कामना छ : चुनावपछि देश विकास होस्, देशमा शान्ति छाओस् ।

फाल्गुन १४, २०८२

आरती पौडेल

Grikhaane's complaint: I want to go to the village to vote, but I don't have money.

What you should know

काठमाडौँ — चुनाव नजिकिँदै छ । गाउँदेखि सहरसम्म नेतादेखि कार्यकर्तासम्मलाई भोटमाग्न घरदैलोको भ्यानभ्याइ छ । सकारात्मक परिर्वतन गर्ने बाचाका साथ आफूलाई बहुमतका साथ जिताउन उम्मेदवारहरू नागरिकहरूसँग बिन्ती बिसाइरहेका छन् ।  सदनमा आफ्ना कुरा राख्ने मात्र नभएर गाउँ-सहरको विकास नै गर्न तल्लीन रहने समेत बाचा गरेको नागरिक बताउँछन् । 

देशका विभिन्न स्थानबाट पेसा, व्यवसाय गर्ने सोच र सपना बोकेर धेरै मानिस काठमाडौं आएका छन् । कोही रोजगारको खोजीमा त कोही सन्तानको उज्ज्वल भविष्यका लागि ।  जसरी फरक-फरक काम गर्ने हरेक मानिसहरूको संघर्षका कथा भिन्न छन् । त्यसरी नै उनीहरुका उद्देश्य पनि भिन्न ।

काठमाडौंमा विभिन्न पेसा व्यवसाय गरेर बसेका नागरिक मतदान गर्न जाने सोचमा छन् कि छैनन् । उनीहरू के चाहन्छन् । चुनावप्रति उनीहरूको धारणा के छ ? साथै उनीहरू कसरी जीविकोपार्जन गरिरहेका छन् । उनीहरूले चाहेको देश कस्तो हो ? कान्तिपुरले केही प्रतिनिधि पात्रसँग कुराकानी गरेको छ ।  

यस पटक धेरै युवाहरू उम्मेदवार नै बनेका छन् । कतिपय चुनावमै भोट हाल्नका लागि भनेर विदेशबाट आइसकेका छन् ।  आफूलाई मन पर्ने राजनीतिक पार्टी र विचारका बारेमा  कोहीले सामाजिक सञ्जालमा भिडियोमार्फत, कोहीले स्टाटसमार्फत  आफूलाई मनपर्ने नेताको बारेमा भोट माग्दै गरेको सामाजिक सञ्जालमा प्रशस्त देखिन्छन् । तर केही नागरिक यस्ता पनि छन्, जसलाई चुनावभन्दा दैनिकी कसरी चलाउने भन्ने नै चिन्ता छ । 

०००

न्यून आयका बीच काठमाडौंको महँगीमा गुजारा चलाइरहेकामध्येका एक हुन् अमन चौधरी । काठमाडौं टोखामा ग्रीलको काम गर्दै गरेको अवस्थामा भेटिए २० वर्षीय अमन । टोखा, साईबाबा चोकमा रहेको एक ग्रील हाउसमा काम गर्छन् । उनी ५ वर्षदेखि उक्त पेसामा छन् । अमन ९ कक्षामा पढ्दै थिए । उनका बुवा वैदेशिक रोजगारका लागि साउदी गएका थिए । अमनका बुवाले विदेशमा पैसा कमाएर तिर्ने आशाले ऋण निकालेर गाउँमा घर बनाएका थिए । बुवा परिवारलाई भेट्ने र नयाँ घरमा बस्ने सपना बुनेर नेपाल आउने तयारीमै थिए ।

Grikhaane's complaint: I want to go to the village to vote, but I don't have money.

तर नेपाल आउने अघिल्लो दिन उनको अचानक मृत्यु भयो । बुवालाई पर्खिबसेका अमन, बहिनी र आमाको जीवनमा बज्रपात नै पर्‍यो । बिस्तारै आर्थिक स्थिति खस्किँदै गयो । घरको ऋण तिर्न गाह्रो भयो । धेरै पढेर केही गरौँला भनेका अमनको काँधमा १० कक्षामै परिवारको जिम्मा आइपर्‍यो । पढाइ छाडे, काठमाडौं आए काम गर्न । उनी भन्छन्, ‘साथीहरू हातमा किताब, कलम बोकेर पढिरहेका बेला मेरा हातले फलाम समात्नुपर्‍यो ।’

अमन अहिले मासिक २९ हजार रुपैयाँ कमाउँछन् । त्यसैले बस्ने खाने र बहिनीलाई कक्षा ११ पढाइरहेका छन् । आफूले नपढेकाले बहिनीले चाहेजति पढाउने अमनको इच्छा छ । चुनावी माहोल देख्दा उनलाई घर जान त मन छ । तर घर जाँदाआउँदा हुने खर्चले उनी छन् अलमल । उनी भन्छन्,‘परिवारमा कमाउने मैले मात्र हो । गाउँ जाँदाआउँदा खर्च लाग्छ । भोट हालेर आउने बेलासम्म २/४ दिन भए पनि काम गरिन्छ भन्ने पनि भएको छ । के गर्ने दोधारमा छु ।’ 

अमनले अहिलेसम्म एक पटक मात्र भोट हालेका छन् । उनी भन्छन्,‘फेसबुक खोल्यो कि चुनावको बारेमा मात्र समाचार भिडियो आउाछन् । के रहेछ भनेर हेर्ने गरेको छु ।’ अमन सबै राजनीतिको बारेमा कुरा गरेको देख्दा, पढ्दा आफूलाई पनि राजनीति गर्ने इच्छा भएको मुस्कुराउँदै सुनाउँछन् । जुन पार्टीले जिते पनि देश विकास होस् भन्ने चाहन्छन् अमन । 

०००

परिवार पाल्न काठमाडौंमा संघर्षरत अर्की पात्र हुन् दुर्गा सुनार । ५२ वर्षीया दुर्गा टोखामा मकै पोल्दै गरेको अवस्थामा भेटिइन् । उनले आगोमा मकै पोल्दै थिइन् । ठेलामा बदामसमेत राखेकी दुर्गाले छेउमा मिनिरल वाटर पनि बेच्न राखेकी थिइन् । पिरो धुँवाले उनको आँखामा आँसु देखिन्थ्यो । 

Grikhaane's complaint: I want to go to the village to vote, but I don't have money.

नुवाकोट शिवपुरीकी दुर्गा काठमाडौं आएको २१ वर्ष भयो । केही वर्षयता भने मकै पोल्न थालेकी छन् । निजकै श्रीमान्‌को फर्निचर छ । त्यसैले उनी त्यहीँ मकै पोल्ने, बदाम र पानी बेच्छिन् ।   उनका २ छोरा १ छोरी छन् । एक छोरा मलेसिया र छोरी बहराइन गएका छन् । नेपालमै सोचेअनुसार काम भएको भए आफ्ना सन्तानहरू कमाउनका लागि विदेश जान कोही पनि बाध्य नहुने दुर्गालाई लाग्छ ।

भोट हाल्न जान त्यति उत्साहित छैनन् उनी । उनी भन्छिन्,‘जसलाई भोट दिए पनि आफ्नो दुःख कहीँ जाँदैन । हामीले भोट दिएर गएका कहाँ-कहाँ पुग्छन् ? हामी जहाँको त्यहीँ,’ उनले भनिन्,‘केही कुरा छोइसक्नु छैन । त्यही फर्निचर भएको ठाउँको त ३५ हजार तिर्न पर्छ । अरु कुरा छोडौँ, यहीँ मकैको घोगा किन्दा कति महँगो छ ।  नेताले महँगी घटाउने भए पो त भोट दिनु ।’ कामै छाडेर खर्च गरीगरी भोट हाल्न नजाने उनी बताउँछिन् । ‘मलाई चुनावको खासै चाख पनि लाउँदैन । गाउँ जाने फर्कने पैसाले मकै किनेर पोल्यो भने बरु कमाइ राम्रै हुन्छ । के गर्नु पेट कसले पाल्दिन्छ र ?,' उनको प्रश्न छ । 

                       ०००

रायो, चम्सुर, सोंप, बेथेको साग अगाडि राखेर तीनकुने सुविधानगर जाने बाटोको छेउमा बसिरहेकी छिन् फूलमाया तामाङ । ४५ वर्षीया फूलमायाको घर सिन्धुलीको रातमाटे गाउँ हो ।  १५ वर्षअघि काठमाडौं छिरेकी उनी दुवाकोटमा बस्छिन् ।  उनी जग्गा भाडामा लिएर टहरा बनाएर बसेकी छिन् । उनी हरेक दिन भक्तपुरबाट साग किनेर तीनकुने बेच्न आउँछिन् । 

फूलमायाका २१ वर्षीय छोरा पसलमा काम गर्छन् । छोरी भने ८ कक्षामा पढ्दैछिन् । साग बेचेर थोरै भए पनि घरखर्चका लागि राहत हुने फूलमाया बताउँछिन् । 

चुनावमा भोट हाल्न जाने/नजाने दोधारमै छन् उनी पनि । ‘घर जादा र आउँदा मात्र ३ हजार जति त लाग्छ । ३ हजार कमाउन कति दिन लाग्छ मलाई । त्यति पैसाले त मेरो एउटा काम भए नि फत्ते हुन्छ,’ उनले भनिन् । पहिलेजस्तो कमाइ नभएकाले अहिले गाउँ जान पनि आँट नआएको उनी बताउँछिन् । ‘आफूसँग प्रशस्त पैसा भएको भए केही नसोची गइदिन्थेँ । के गर्नु कमाइ खासै छैन । आजकल अहिलेको के गर्ने सोच्नैपर्छ,’ उनले भनिन् । 

                     ०००

सिन्धुपाल्चोककी लीलामाया श्रेष्ठ टोखा भूतखेल पार्क छेउमा डालोमा बदार र पानी बेच्न बसेकी थिइन् । उनी मंसिरदेखि बदाम बेच्न बसेकी हुन् । तर अब त्यहाँ बस्न नदिने भनेपछि उनी दु:खी छन् । उनी भन्छिन्,‘यहाँको व्यवस्थापन समितिले अब बेच्न पाइँदैन भन्नु भएको छ । त्यही भएर छेउमा आएर आफूसँग भएको सामान सकेर अब नआउने सोचमा छु ।’

Grikhaane's complaint: I want to go to the village to vote, but I don't have money.

उनी काठमाडौं बस्न थालेको २१ वर्ष भयो । सुरुमा उनी कृषि क्षेत्रमा काम गरिन् । स्वास्थ्यमा समस्या आएपछि भने उनी कोठामै बस्न थालिन् । उनका श्रीमान् ज्यामी काम गर्छन् । कोठामा बस्नुभन्दा सानै भए पनि व्यापार गरम् भन्ने लाग्यो । उनी दिनमा ५ सय जति कमाउँछिन् तर अब के गर्ने भन्ने छटपटीले सताइरहेको छ । उनी भन्छिन्,‘थोरै भए पनि राहत भएको थियो । कोठामा बस्नभन्दा त्यहाँ समय पनि सजिलै जान्थ्थो । अब के गर्ने होला भन्ने कुराले नै पीर परेको छ ।’

चुनाव आएको थाहा छ उनलाई । तर स्वास्थ्यमा समस्या भएकाले उनी गाउँ नजाने बताउँछिन् । उनी भन्छिन्,‘भोट हाल्न जान त हुन्थ्यो तर म अलि बिरामी पनि छु । साथै गाडीमा हिँड्नै हुदैन निकै गाह्रो हुन्छ,’ उनले भनिन्,‘दिनभरि दु:ख गरेर बेलुका खाने हामीजस्तालाई चुनाव आए पनि के नआए पनि के ? त्यही पनि जसको सरकार आए पनि देशमा शान्ति छाओस् भन्ने प्रार्थना गरेकी छु ।’

          ०००

टोखामा कपडा व्यवसाय गरेर बसिरहेकी शशिकला बुढाथोकी ३२ वर्षकी भइन् । सर्लाही हरिवन घर भएको बताउने शशिकला काम छोडेर जान नसक्ने बताउँछिन् । उनी भन्छिन्,‘पेसा व्यवसाय भएपछि लगानी गरेको हुन्छ । टाढा छ, चुनाव भनेर च्वाट्टै आफ्नो काम छोडेर जाने कुरा पनि भएन । त्यसैले अहिलेसम्म भोट हाल्न जाने मेसो परेको छैन ।’ गाउँबाट पनि भोट हाल्नका लागि आउँ भनेर धेरैले फोन गरेका छन् उनलाई । 

Grikhaane's complaint: I want to go to the village to vote, but I don't have money.

शशिकलालाई पहिले राजनीतिबारे खासै चासो थिएन । तर आजकल सामाजिक सञ्जालमा देखिने समाचार साथै चुनावसम्बन्धफ भिडियोले कौतुहलता जागेको बताइन् । फेसबुक, टिकटक, इन्स्टा जे खोल्यो त्यहीमा चुनावको समाचार, भिडियो आउँछन् । आजकल चुनावप्रति निकै रुचि लाग्न थालेको छ ।’  आजकल पहिलेजस्तो व्यापार पनि छैन ।  ‘पहिला कपडा पसल निकै राम्रो चल्थ्यो । आजकल महँगी पनि छ । त्यही भएर पहिलाको जस्तो व्यापार छैन,’ उनी भन्छिन् । 

०००

कोही खर्च नभएर चुनावमा घर नजाने बताइरहँदा ट्याक्सीचालक दिलबहादुर बराइली भने मताधिकार प्रयोग गर्न उत्साहित छन् ।  ४३ वर्षीय दिलबहादुर १५ वर्षदेखि ट्याक्सी चलाएर घर परिवार पालिरहेका छन् । छोराछोरीलाई पढाउने खर्च, कोठाभाडा, रासन खर्च सबै गरेर साधारण हिसाबले पनि ५० हजार खर्च हुने गरेको बराइली बताउँछन् । बर्दिवास धनुषाधाम नगरपालिका–१ घर बताउने उनी चुनाव नजिकिँदै गर्दा निकै खुसी लागेको सुनाए । उनी भन्छन्,‘अरु कुरा जसोतसो संघर्ष गर्ने हो ।

Grikhaane's complaint: I want to go to the village to vote, but I don't have money.

तर चुनावमा भोट हाल्न त जसरी पनि जाने हो,’ उनले भने,‘जाँदा-आउँदा तेल खर्च, बाटोमा खाने खाना, खाजा गरेर १२ हजारजति खर्च हुन्छ । हिँडेपछि जाता पनि खर्च हुन्छ । तर पैसा सापटी नै मागेर भए पनि १८ गते गाउँ जाने सोचेको छु ।’ दिलबहादुर जसले चुनाव जिते पनि आफूजस्तो नेपालमै बसेर काम गरेका मान्छेलाई सहज होस् भन्ने चाहन्छन् । उनी भन्छन्,‘म १५ वर्ष नेपालमै दुःख गरेँ । मेरा साथीहरू विदेश पुगेर घर जोडे । हामीजस्ता नेपालमै संघर्ष गर्नेहरू केही जोड्न नसके पनि शान्तिसँग परिवारसँग बसेर दुई छाक सजिलै खाना खान पाइयोस् ।’

                       ०००

डालोमा बदाम बेच्दै हिँड्ने कलाम अली पनि चुनावमा जाने सोचमा छन् । ५८ वर्षीय कलामको घर रौतहटको जमुनामाई नगरपालिका-१ हो । उनी सिजनअनुसारको व्यापार गर्छन् । कहिले उनी काफल बेच्छन् त कहिले स्ट्रबेरी । उनी कलंकी बस्छन् । 

Grikhaane's complaint: I want to go to the village to vote, but I don't have money.तर हरेक दिन सिजनअनुसारका फलफूल बोकेर कोठाबाट निस्कन्छन् । उनी सामाखुसी हुँदै ग्रीनल्यान्ड र टोखासम्म व्यापारका लागि पुग्छन् । यसरी नै उनले रौतहटमा बस्ने परिवारको खर्च धानिरहेका छन् । दु:खसुख जेजसरी भए पनि उनी चुनावमा घर जाँदैछन् । उनी भन्छन्,‘जस्तो जे भए पनि भोट हाल्न त गाउँ जाने हो । राम्रोलाई जिताउनुपर्छ एक भोटको पनि बहुत महत्त्व छ त्यसैले जान लागेको हो,’ उनले भने,‘मानिसहरू भन्ने गर्छन् एक भोटले केही गर्दैन । तर एक भोटले हारेको हामीले देखेका सुनेका छौँ । त्यसैले एक भोटको पनि बहुत महत्त्व छ ।’ 

गाउँबाट चुनावका लागि आउन भन्दै धेरै नेताहरूले फोन गरेको कलाम बताउँछन् । ‘अहिले त्यही बदामको सिजन छ । पैसा आउने ठाउँ अरु कतैबाट छैन । बदाम बेचेर कमाएको पैसा जम्मा गरेर भोट हाल्न जान लागेको छु,’ उनले भने । कलाम पनि देश विकास होस्, देशमा शान्ति छाओस् भन्ने चाहना राख्छन् । 

०००

पढेर पनि भनेअनुसार काम नपाएका युवालाई भने चुनावताका निकै रिस उठ्छ । बर्दियाका शेरसिंह सिजापति एचए उत्तीर्ण हुन् । 

२८ वर्षीय उनी केही समय प्यूठानमा काम गरे । उनी अहिले काठमाडौं बसुन्धारा बस्छन् । काठमाडौं आएको ९ महिना भयो । ९ महिनादेखि कामका लागि भौंतारिरहेका छन् उनी । केही काम नपाएपछि उनी कहिलेकाहीँ पठाओ पनि चलाउँछन् । चुनाव नजिकिँदै गर्दा उनी पनि भोट हाल्न जाने/नजाने दोधारमा छन् ।

Grikhaane's complaint: I want to go to the village to vote, but I don't have money.

‘भोट हाल्न त जाने सोचमा छु तर पैसाले रोकेको छ । पैसाको जोहो भए जाने हो । ९ महिनादेखि काठमाडौं जस्तो सहरमा जागिर खोज्दै हिँड्दा पनि पाइएन । कसलाई भोट हाल्दा के पो हुने हो र ?,’ उनले भने ।  उनी भन्छन्,‘साथीहरू बिदेसिएको देख्दा मन दुख्छ । तर हामीजस्तो पढेर पनि बेरोजगार बस्नु परेको देख्दा दुःख पनि लाग्छ । अब देशमै रोजगार सिर्जना होस् भन्ने चाहना छ ।’ चुनावपछि बन्ने सरकारले बेरोजगारी अन्त्य र युवाका मुद्दालाई सम्बोधन गरोस् भन्ने चाहन्छन् उनी ।

आरती पौडेल

Link copied successfully