निर्वाचनको दिन आन्तरिक र बाह्य हवाई उडान चलाउन दिने आयोगको निर्णय

निर्वाचन आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै मतदानको दिन हवाई उडान सञ्चालनमा कुनै अवरोध नगर्न र आवश्यक वातावरण मिलाउन निर्देशन दिएको छ।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

Commission's decision to allow domestic and international flights on election day

काठमाडौँ — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडान सञ्चालन हुने भएका छन्। विगतका निर्वाचनमा आन्तरिक उडान  रोक्ने गरिएको भए पनि यस पटक  निर्वाचन आयोगले हवाई सेवालाई यथावत राख्ने निर्णय गरेको हो। 

आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै मतदानको दिन हवाई उडान सञ्चालनमा कुनै अवरोध नगर्न र आवश्यक वातावरण मिलाउन निर्देशन दिएको  छ। यो निर्णयसँगै २१ फागुनमा उडानको टिकट भएका यात्रुहरूले ढुक्कसँग यात्रा गर्न पाउनेछन्। यात्रुलाई सहज बनाउन आयोगले केही  व्यवस्था गर्न भनेको छ ।

आन्तरिक वा अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुहरूले विमानस्थलबाट घर वा होटलसम्म र होटलबाट विमानस्थलसम्म जान निजी सवारी साधन वा सम्बन्धित एयरलाइन्सको गाडी प्रयोग गर्न पाउने आयोगले जनाएको छ ।  हवाई टिकटकै आधारमा आवतजावत गर्न दिने भन्दै आयोगले निर्णय गरेको छ । 

यात्रुहरूले आफ्नो साथमा रहेको हवाई टिकट देखाएरै विमानस्थलसम्मको यात्रा गर्न सक्ने व्यवस्था मिलाउन आयोगले गृहलाई भनेको छ। आयोगले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मतदान प्रक्रियामा सहजीकरण गर्न यस्तो खुकुलो नीति लिएको जनाएको छ।

कान्तिपुर

Link copied successfully