उपभोक्ता अधिकार अभियन्ताहरूले क्यान्टिन सञ्चालकसँगै अस्पताल प्रशासनको पनि आलोचना गरेका छन् । आफ्नो परिसरमा बिक्री हुने खाद्यवस्तुको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी अस्पतालले लिनुपर्ने उनीहरुको तर्क छ ।
What you should know
काठमाडौँ — काठमाडौंका सरकारी अस्पतालमा सञ्चालित क्यान्टिनहरूमा सरसफाईको कमी रहेको तथा कम गुणस्तरका खाद्यान्न बिक्री–वितरण हुँदै आएको नयाँ अनुगमन प्रतिवेदनले देखाएको छ ।
गत मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संयुक्त अनुगमन गर्दा धेरै अस्पताल क्यान्टिनले भान्छामा तेल प्रयोग गर्दा तोकिएको मापदण्ड पालना नगरेको देखियो ।
अनुगमनकर्ताले सरसफाई राम्रो नरहेको, मसलाको प्रयोग अधिक भएको र म्याद गुज्रिएका पेय पदार्थसमेत बिक्री–वितरण भइरहेको बताएका छन् । अनुगमन टोलीका अनुसार पकाइएका खानेकुरा प्रायः खुला अवस्थामा छोडिएका थिए । फ्रिजहरू सही तरिकाले मर्मत–सम्भार भएको थिएन ।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको चितवन होटल एन्ड रेष्टुराँ, महाराजगञ्जमै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एमबी चमेनागृह, महाबौद्धास्थित वीर अस्पतालभित्रको गुह्येश्वरी होटल प्रालि र महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरको सुनिल क्यान्टिनले कम गुणस्तरको खाद्यान्न बेचेको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार चितवन होटल एन्ड रेष्टुराँबाट संकलित तारेको तेलको नमुनामा टोटल पोलार म्याटेरियल्स (टीपीएम) १२ प्रतिशत मापन गरिएको छ, जुन तोकिएको मापदण्डअनुसार होइन । टीपीएमलाई भान्सामा प्रयोग हुने तेलको गुणस्तर मापन गर्ने भरपर्दो सूचक मानिन्छ । यसको मात्रा बढ्दा स्वाद बिग्रने, खार धेरै आउने र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने जोखिम रहन्छ, त्यसैले यस्तो तेल तत्काल फेर्नुपर्छ ।
अनुगमनका क्रममा समोसा, जेरीलगायत तयारी परिकारहरू नछोपिकनै राखिएको पाइयो । सो क्यान्टिनको भान्सा पनि सफा नरहेको अनुगमनकर्ताले बताएका छन् । खाद्य प्रविधि विभागले चितवन होटल एन्ड रेष्टुराँलाई तयार परिकारहरू अनिवार्य रूपमा छोपेर राख्न, उपयुक्त तापक्रममा भण्डारण गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिएका छन् ।
एमबी चमेनागृहमा प्रयोग गरिएको तारेको तेलको टीपीएम १४ प्रतिशत नापिएको छ, जो स्वास्थ्य मापदण्डविपरीत हो । अनुगमनकर्ताले त्यहाँ पनि सरसफाईको कमी रहेको, फ्रिज फोहोर रहेको र खाद्य सामग्रीहरू छोपेर नराखी भण्डारण गरिएको तथ्य फेला पारेका छन् ।
उनीहरुले काउन्टर नजिकैको फ्रिजमा मिति गुज्रिएका फ्यान्डा ब्रान्डका नौ बोतल पेय पदार्थ फेला परे । अनुगमन टोलीले ती सबै बोतल त्यहीँ नष्ट गर्यो र क्यान्टिन सञ्चालकलाई कुनै पनि म्याद गुज्रिएको वस्तु बिक्री नगर्न कडाइका साथ निर्देशन दियो । त्यस्तै, क्यान्टिनमा स्वच्छता मापदण्डको अनिवार्य पालना गर्नं निर्देशन दिइयो ।
वीर अस्पताल परिसरभित्र रहेको गुह्येश्वरी होटलले तरकारीहरू सिधै भुइँमा र फोहोर क्रेटमा राखेको भेटियो । त्यहाँ, भान्साको फ्लोरका टाइलहरू भाँचिएको देखिएको छ । त्यहाँ प्रयोग गरिएको तारेको तेलको गुणस्तर पनि तोकिएको मापदण्डअनुसार नरहेको पाइएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरभित्रको सुनिल क्यान्टिनमा अनुगमनको क्रममा डस्टबिनको ढकनी खुल्लै राखिएको भेटियो । क्यान्टिनले म्याद गुज्रिएको बिर्यानी मसला खानामा प्रयोग गरिरहेको पाइयो ।
उपभोक्ता अधिकार अभियन्ताहरूले क्यान्टिन सञ्चालकसँगै अस्पताल प्रशासनको पनि आलोचना गरेका छन् । आफ्नो परिसरमा बिक्री हुने खाद्यवस्तुको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी अस्पतालले लिनुपर्ने उनीहरुको तर्क छ । टेन्डर प्रक्रियामार्फत क्यान्टिन सञ्चालनको ठेक्का अस्पतालले दिने भएकाले सरसफाइ र सुरक्षा मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन भए/नभएको सुनिश्चित गर्ने जिम्मा पनि अस्पतालकै रहेको उनीहरुले बताएका छन् ।
उपभोक्ता अधिकार संरक्षण मञ्च–नेपालका महासचिव विष्णु प्रसाद तिमिल्सिनाले कम गुणस्तरको खानाले बिरामीको स्वास्थ्यमा जटिलता आउनसक्ने भएकाले अस्पताल जवाफदेही हुनुपर्ने बताए ।
‘स्वच्छता र फोहोर खाना खाँदामानिस बिरामी पर्न सक्छन् । तसर्थ, सबैभन्दा पहिले अस्पताल नै जिम्मेवार हुनुपर्छ, किनकि अस्पताल भर्ना भएका बिरामीहरू यही क्यान्टिनमा तयार हुने खाना खान्छन्,’ उनले भने । ‘कम गुणस्तरका खाद्यवस्तु सेवनले फुड पोइजनिङजस्ता समस्या देखिनसक्छ । यो गम्भीर समस्या हो । यसलाई उपभोक्ताविरुद्धको अपराधका रुपमा लिइन्छ,’ तिमल्सिनाले भने ।
