बिनाआधार र कारण थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश गरेको थियो
काठमाडौँ — मेडिकल व्यवसायी एवं 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ' अभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरण जारी गरेको थियो ।
बिनाआधार र कारण थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश गरेको थियो । मंगलबार नै रिहा हुनुपर्ने भए पनि केही प्रक्रिया बाँकी रहेकाले बुधबारमात्र प्रसाईं रिहा भएका हुन् ।
उनलाई जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गत साता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोहीआधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
