कुनै धरौटी रकम राख्न नपरेकाले उनीहरु अब पेसीका दिन अदालतमा नियमित उपस्थित भए पुग्छ ।
काठमाडौँ — विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा अभियोगपत्र दर्ता भएका पाँच आरोपितलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार राति पाँचजनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो । उनीहरु सोमबारै साधारणमा छुटेकाे विशेष अदालतले जनाएकाे छ ।
पूर्वसचिवहरु मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मा, पूर्वउपसचिव प्रेमनाथ उपाध्याय र नेपाल नागरिक तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदी रिहा भएका हुन् । कुनै धरौटी रकम राख्न नपरेकाले उनीहरु अब पेसीका दिन अदालतमा नियमित उपस्थित भए पुग्छ ।
बैठकमा आमन्त्रित सदस्यको रुपमा उपस्थित भएको देखिए पनि खरिद प्रक्रियाका अन्य चरणमा प्रत्यक्ष संलग्न रहेको भन्ने खुल्न आएको नदेखिएको भन्दै साधारण तारेखमा रिहा गर्न विशेषले आदेश गरेकाे हाे ।
विशेष अदालतले पुर्पक्ष थुनामा राख्ने अवस्था नभएको र धरौटी पनि माग्नु नपर्ने प्रावधानको कानुनी दफा उद्धृत गर्दै उनीहरुलाई साधारण तारेखमा रिहा गरेको हो । यही प्रकरणमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई एउटा मुद्दामा थुनामा पठाएकाे थियो भने पोखरा विमानस्थल प्रकरणमा सर्वोच्च अदालतले विशेष अदालतको धरौटीको आदेश उल्ट्याई थुनामा पठाउने आदेश गरेको थियो ।
