विहेमा निम्तो, भोजमा छोइछिटो

विहे भोजमा जातीय विभेद गरेको आरोपमा पूर्वशिक्षक पक्राउ

फाल्गुन १२, २०८२

दीपक परियार

Invitation to a wedding, a quick kiss at a party

What you should know

पोखरा — छिमेकीको विहेमा निम्तो मान्न जाँदा आफू अपमानित भएर फर्कनुपर्ला भन्ने पोखरा–३२ मालमुलका सन्तबहादुर चँदारो (विश्वकर्मा) ले कहिल्यै सोचेका थिएनन् । प्रीति भोजमा गएका उनी आफूमाथि छोइछिटो भएपछि निम्ता नमानी फर्किए।

सन्तबहादुरका छिमेकी काशीराम घिमिरेका छोराको विहे भोज ९ फागुनमा पोखरा–२६ अर्घौंको नमस्ते पार्टी प्यालेसमा राखिएको थियो । निम्तो मान्न उनी दिउँसो १ बजेतिर पुगे । आडैको घर भएकोले विहे भोजमा मालमुलबाट दलित समुदायका उनी एकमात्र निम्तालु थिए । पार्टी प्यालेसमा निम्तालुका लागि आफै झिकेर खाने गरी खानाको व्यवस्था गरिएको थियो । 

पार्टी प्यालेसभित्र पसेर खाना भएको ठाउँतिर अगाडि बढ्दै गर्दा सन्तबहादुरकी अर्की छिमेकी सावित्री बराल आइपुगिन् । उनले मसिनो स्वरमा सन्तबहादुरलाई भनिन्, ‘तपाईं खानाको लाइनमा नबस्नुहोस् । तपाईंलाई मैले प्लेटमा खाना ल्याइदिन्छु । बरु हामी छुट्टै बसेर खाउला ।’ सन्तबहादुरले आफू दलित भएकोले सबै जना बसेको लाइनमा बसेर भोजमा सरिक हुन नदिइएको बुझिहाले । उनले बराललाई प्रश्न गरे, ‘कसले भनेको ?’ बरालले दुलाहाका बुबा काशीरामतिर इशारा गर्दै भनिन्, ‘भतेरमा नमिसाउनु, खाना निकालेर छुट्टै टेबलमा दिनु भन्नुभएको छ ।’ 

आफूलाई विहे भोजमा बोलाएर अन्य निम्तालुको अगाडि अपमान गरिएपछि उनी भोज नखाइ घर फर्किए । ‘मैले त्यस दिन घर आएर पनि खाना खाइनँ, रातभरि निद्रा पनि परेन,’ उनले भने, ‘त्यत्रा मान्छेको अगाडि अपमान गर्नु थियो भने बरु निम्तो नै नगरेको भए हुन्थ्यो ।’ 

शिक्षण पेशाबाट अवकासप्राप्त ६० वर्षीय काशीराम भोलिपल्ट सन्तबहादुरको घरमा पुगे । उनी चिरञ्जीवी तिवारी, पद्मराज तिवारी, इन्द्रविलास पौडेल, नारायण तिवारी लगायत अन्य छिमेकी लिएर गएका थिए । काशीरामले ‘विहे भोजमो के कसो भयो गाह्रो नमान्नु’ भने । सन्तबहादुरले आफूमाथि जातीय विभेद भएको भन्दै कानुनी प्रक्रियामा जाने बताए । उनले भने, ‘सबैले खाना आफै निकालेर खाएको ठाउँमा मलाई मात्रै छुट्टै प्लेटमा दिने कुरा सोझै जातीय विभेद हो ।’

काशीरामले ‘जे भयो–भयो भन्दै माफी मागे’ । उनीसँग गएका अन्यले पनि गाउँको कुरा गाउँमै मिलाउनुपर्ने दबाब दिए । ‘एउटा पशुलाई गर्ने जति पनि व्यवहार गरिएन, अपमानको पीडाले मन भतभति पोलिरहेको थियो, माफिमा टुंग्याउन मनले मानेन,’ सन्तबहादुरले भने, ‘मिलेर बसेको समाज भाँडिन्छ भन्ने नाममा कतिञ्जेल सहने । आखिर हामीले सहेर पो यो समाज मिलेको जस्तो देखिएको हो ।’ 

आइतबार उनी जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ बमोजिम काशीराम घिमिरे र सावित्री घिमिरेलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगे । तर प्रहरीले भने छलफलबाट टुंग्याउन दबाब दिँदै फर्काइदियो । सन्तबहादुरको मन मानेन । उनका आफन्त एवं छिमेकी महेश गोदार सुनारले मिलापत्रमा नटुंग्याइ जाहेरी दिनुपर्ने सुझाए ।

सोमबार सन्तबहादुर, महेश गोदारसहित अन्य दलित अभियन्ता पुगेर जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब दिए । प्रहरीले अन्तिम समयमा जाहेरी लिएर काशीरामलाई पक्राउ गर्‍यो । मंगलबार सावित्री बराल पक्राउ परिन् । ‘उहाँ एमाले नेता पनि हो, गाउँको कुरा गाउँमा मिलाउनुपर्छ भनेर पटकपटक एमाले नेताहरुबाट पनि धम्कीपूर्ण फोन आयो,’ कलाकार समेत रहेका महेश गोदारले भने, ‘भोलि गाउँमै बस्नुपर्छ भन्दैमा विभेद सहनुपर्छ भन्ने हुँदैन ।’ जाहेरी दर्ता नभए दलित समुदाय आन्दोलनमा उत्रिने बताएपछि बल्लतल्ल प्रहरीले जाहेरी लिएको उनले बताए । काशीरामले भने आफूले सबैलाई मिलाएर भोज खुवाउन भनेको र कसैलाई छुवाछूत नगरेको बताएका छन् ।

सन्तबहादुरले जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ३ ले निषेध गरेको जातीय विभेदको कसुर गर्नेलाई दफा ७ बमोजिम सजाय र दफा ९ बमोजिम क्षतिपूर्तिको माग गरेका छन् । दफा ३ मा कसैले पनि जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव गर्न वा गराउन नहुने, त्यस्र्ता कार्य गर्न कुनै प्रकारको मद्दत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने, त्यस्तो कार्य गरिए ऐन बमोजिममको कसूर गरेको मानिने उल्लेख छ । 

दफा ४(२) मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जातजाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका अधारमा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव गरी सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिवन्ध लगाउने वा व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनकि स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्ने कार्यलाई कसूर मानेको छ । 

दफा ७ ले त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरेको छ । दफा ९ मा पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराउनुपर्ने प्रावधान छ । पक्राउ परेका काशीराम घिमिरे र सावित्रा बराललाई कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully