५२ वर्षीया राज्य भुल भन्छिन् : ‘छनोट भएर पहिलो दिन तालिममा आउँदा गुन्यु–चोली लगाएर आएकी थिएँ । कहिल्यै नसोचेको पोसाक लगाउँदा, प्रहरीको जस्तो तालिम गर्दा आफैंलाई अचम्म लाग्छ । मेरा लागि नयाँ अनुभव पनि हो ।’
What you should know
अछाम — मंगलसेन नगरपालिका–४ की ५२ वर्षीया राज्य भुल अहिले निर्वाचन प्रहरीको भूमिकामा छिन् । सामान्य साक्षर उनले २०७९ को निर्वाचनमा पनि म्यादी प्रहरीका लागि आवेदन दिएकी थिइन् । त्यतिबेला लिखित परीक्षामा उत्तीर्ण भइनन् । यस पटक भने उनी छोरीसहित निर्वाचन प्रहरीमा भर्ना भएकी छन् ।
राज्यका ६ छोरी र २ छोरा छन् । दुई छोरीको विवाह भइसकेको छ । बाँकी सन्तानको लालनपालनका लागि उनी र श्रीमान् पदम मजदुरी गर्दै आएका छन् ।
कमजोर आर्थिक अवस्थाका कारण परिवारको खर्च धान्न असहज भएपछि निर्वाचन प्रहरीमा भर्नाका लागि प्रयास गरेको उनले बताइन् । ‘गुन्यु–चोलीबाहेक मैले त कुर्ता–सुरुवालसम्म लगाएकी थिइनँ । अहिले त प्रहरीकै जस्तो पोसाक लगाउँदा लाज र अप्ठ्यारो पनि लाग्छ, हिम्मत आए जस्तो पनि लाग्छ,’ राज्यले भनिन् ।
उनले भनिन्, ‘छनोट भएर पहिलो दिन तालिममा आउँदा गुन्यु–चोली लगाएर आएकी थिएँ । कहिल्यै नसोचेको पोसाक लगाउँदा, प्रहरीको जस्तो तालिम गर्दा आफैंलाई अचम्म लाग्छ । मेरा लागि नयाँ अनुभव पनि हो ।’
निर्वाचन प्रहरी बन्नु उनको रहर नभई बाध्यता हो । कमजोर आर्थिक अवस्था र ६ छोराछोरी जन्मेपछि परिवार र समाजले गरेको विभेद र बहिष्कारले उनी मानसिक र सामाजिक रूपमा एक्लो भइन् । ‘छोराको आसमा ६ जना छोरी भए । एकपछि अर्को छोरी हुँदा परिवार, आफन्त र समाजको हेला सहनुपर्यो । घरमा बस्न सक्ने अवस्था रहेन । परिवारबाट टाढा अस्थायी कटेरो बनाएर बस्यौं,’ उनले भनिन्, ‘मैले श्रीमान्को माया र साथ पाएको छोरा भइसकेपछि हो । अहिले २ छोरा छन् । श्रीमान्को माया पनि पाएकी छु ।’
शारीरिक, मानसिक र आर्थिक समस्यासँग जुधिरहेकी राज्यले छोरीलाई पनि निर्वाचन प्रहरीमा आवेदन दिन लगाइन् । आमा–छोरी एउटै पोसाकमा, एकै ठाउँमा तालिम गरिरहेका छन् । ‘पहिले म्यादी प्रहरीका लागि आवेदन दिन आउँदा श्रीमान्ले साथ दिनुभएको थिएन । महिलाले त्यस्तो काम गर्ने होइन भनेर रिसाउनुहुन्थ्यो । यो पटक सायद उहाँले बुझ्नुभयो । श्रीमान्कै सल्लाहमा आएकी हुँ,’ उनले भनिन् ।
श्रीमती र छोरी निर्वाचन प्रहरीको भूमिकामा खटिएपछि पदम भुलको दैनिकी पनि फेरिएको छ । घरभित्रका अधिकांश जिम्मेवारी अहिले उनले एक्लै सम्हालिरहेका छन् । श्रीमती र छोरीले नयाँ जिम्मेवारी सम्हालेको देख्दा आफूलाई गर्व लागेको पदम बताउँछन् । ‘पहिले महिलाले यस्तो काम गर्नु हुँदैन जस्तो लाग्थ्यो,’ उनले भने, ‘अहिले छोरी र श्रीमतीको मिहिनेत र आत्मविश्वास देख्दा खुसी लाग्छ ।’
दिनभरि तालिममा व्यस्त आमा–छोरी साँझ फर्किएपछि थाकेका हुन्छन् । उनीहरूलाई सहज बनाइदिन आफूले सकेको सहयोग गरिरहेको पदम बताउँछन् । ‘श्रीमती र छोरी सोबन घरबाट बिहान ८ बजे गएर साँझ ६ बजे आइपुग्छन् । उनीहरू आउँदासम्म खाना पकाएर राख्छु,’ पदम भन्छन्, ‘दिनभर थाकेका आमा–छोरी बिहान ढिलो उठ्छन् । बिहानको खाना आफैं पकाउँछु । घर धान्न कति गाह्रो हुँदो रहेछ भन्ने अहिले थाहा भइरहेको छ ।’
मंगलसेन नगरपालिका—५ की ४२ वर्षीया बिन्द्रा भाट दोस्रो पटक निर्वाचन प्रहरी भएकी छन् । उनको दैनिकी भने सहज छैन । उनका लागि निर्वाचन प्रहरीले काम गर्नुपर्ने ४० दिन अरूको तुलनामा असहज छन् । गाईबस्तुको जिम्मेवारी, पाँच सन्तानको हेरचाह र निर्वाचन प्रहरीको भूमिका एउटै समयमा सम्हाल्दै आएकी छन् । उनको गोठमा तीन भैंसी, दुई गाई र तीन गोरु छन्, जसको हेरचाह पनि उनी आफैंले गर्छिन् ।
बिन्द्राले आफ्नो दिनचर्या बताउँदै भनिन्, ‘बिहान ३ बजे उठ्छु । गोबर सोहोर्ने, खाना पकाउने काम सकेर ८ बजे ड्युटीमा जान्छु । साँझ ६ बजे फर्केर घरको काम सकाउन राति ११ बज्छ ।’ निर्वाचन प्रहरी भएपछि राति ३ घण्टा पनि सुत्न नपाएको उनले सुनाइन् । निर्वाचन प्रहरी हुँदा आएको पैसाले घरखर्च चलाउन सहज हुने उनी बताउँछिन् । ‘श्रीमान् बिरामी छन् । छोराछोरी सानै छन् । आम्दानीको बाटो केही छैन,’ उनले भनिन्, ‘केही दिनका लागि भए पनि खर्च टर्ने आसमा भर्ना भएकी हुँ ।’
मंगलसेन नगरपालिका—५ की ४० वर्षीया सीता ढुंगाना पनि सामान्य साक्षर हुन् । निर्वाचन प्रहरीको भूमिकामा रहेकी सीताका लागि पनि नयाँ अनुभव हो । ‘४० दिनका लागि मात्रै भए पनि सरकारी काम गर्ने अवसर पाइयो । पैसा पनि आउने, नयाँ कुरा सिक्न पनि पाइने, मलाई त रमाइलो लागिरहेको छ,’ उनले भनिन्,‘पाइन्ट, टिसर्ट मैले कहिल्यै लगाएको थिइनँ । सुरुको दिन घरबाट पोसाक लगाएर आउन लाज लाग्यो । बाटोमा लगाएँ । अहिले त लाज, संकोच सबै हट्यो ।’
पहिले एक दिन माइत जाँदा पनि घरको कामकै चिन्ताले सताउने गरेकामा अहिले भने ढुक्कले छोड्न सकेको उनी बताउँछिन् । ‘घरको सबै काम आफैंले गर्नुपर्थ्यो । अहिले मैले भ्याएको छैन । परेपछि घरका अरूले पनि काम त गर्दा रहेछन्,’ उनले भनिन्, ‘घर छोडेर बाहिर निस्किँदा धेरै कुरा थाहा हुँदो रहेछ । छोरीले किन जागिर गर्नुपर्छ भन्ने महसुस गरिरहेकी छु ।’ जिल्लाभर १ हजार ४ सय ६२ निर्वाचन प्रहरी छन् । तीमध्ये ८४० पुरुष र ६२२ महिला छन् ।
