धादिङ बस दुर्घटनामा तनहुँका श्रीमान्- श्रीमतीले गुमाए ज्यान

‘घरमा अरु कोही छैन, गोठभरि बाख्रा, भैंसी छन्,’ आफन्त पुष्पा ढकालले भनिन् । उनका अनुसार श्रीमान् रुद्रप्रसाद ढकाल श्रीमती विष्णुमाया ढकाललाई सोमबार नै काठमाडौं पुर्‍याएर बेलुका नै घर फर्किने भनेर घरमा ताला लगाएर गएका थिए ।

फाल्गुन ११, २०८२

दीपक परियार

Husband and wife from Tanahun lost their lives in Dhading bus accident

What you should know

(पोखरा — धादिङ बस दुर्घटनामा तनहुँ शुक्ला गण्डकी नगरपालिका–७ खैरेनीटार मालेबगरका श्रीमान् श्रीमतीले नै ज्यान गुमाएका छन् । ६० वर्षीय रुद्रप्रसाद ढकाल र उनकी श्रीमती ५५ वर्षीया विष्णुमाया ढकालले ज्यान गुमाएका हुन् ।

उनीहरुका आफन्त पुष्पा ढकालका अनुसार सीटीईभीटीकी जागिरे कान्छी बुहारीको पोखराबाट सरुवा भएपछि विष्णुमाया नाति हेर्न तीन महिनादेखि काठमाडौं बस्दै आएकी थिइन् । भान्जीको विवाहमा सामेल हुन ८ फागुनमा घर आइन् । काठमाडौं फर्किने बेला एक्लै हुने भएपछि रुद्रप्रसादले श्रीमतीलाई पुर्‍याउने र एक वर्षीय नातिलाई भेटेर घर फर्किने सोच बनाए ।

‘घरमा अरु कोही छैन, गोठभरि बाख्रा, भैंसी छन्,’ आफन्त पुष्पा ढकालले भनिन्, ‘सोमबार पुर्‍याएर बेलुका नै फर्किने भनेर घरमा ताला लगाएर जानुभएको रहेछ ।’

ढकाल दम्पतीको टिकट पनि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीकै खैरेनीटारस्थित काउन्टरमा काम गर्ने आफन्तले काटिदिएका थिए । ‘त्यो भन्दा अघिल्लो बसमा जाने कुरा रहेछ तर पछाडिको सिट मात्रै खाली रहेछ,’ पुष्पा ढकालले सुनाइन्, ‘पछाडि बसेर जान गाह्रो हुन्छ भनेर यो बसमा बीचको सिट पाएर जानुभएको रहेछ ।’

उनका अनुसार ढकाल दम्पतीका जेठो छोरा जर्मनी छन् । अर्को छोरा सविन ढकाल साउदीमा छन् । उनी बुबा आमाको निधनको खबर पाएपछि साउदीबाट नेपाल फर्किँदै छन् । ढकाल दम्पतीको शव शुक्ला गण्डकीकै जीपी कोइराला अस्पतालमा राखिएको छ ।

‘आइतबार दिउँसोसम्म जाने सुर थिएन, बुहारीले पनि चुनावसम्म बस्नुस् भनेकी रै’छन्,’ पुष्पाले भनिन्, ‘पछि फेरि के कुरा भयो खै जानुपर्ने भयो भनेर निस्कनुभएको रहेछ । आमाले एक्लै जान सक्दिनँ भनेपछि बुबा पुर्‍याउन जानुभएको हो ।’

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully