धादिङ बस दुर्घटनाका घाइते भन्छन्: धन्नैले बाँचियो

‘बस खसेपछि नदीको अलिकति माथि ढुंगा र गिटीको थुप्रोमा परेकी रहेछु, ब्युँझिदा ममाथि तीनवटा सिटहरू र एउटा लास खप्टिएको थियो । मेरो आधा शरीर गिटीले पुरिइसकेको थियो,’ कहालीलाग्दो क्षण सुनाउँदै उनले भनिन् ।

फाल्गुन ११, २०८२

समर्पण श्री

Dhading bus accident victims say: Lucky to survive

What you should know

काठमाडौँ — ट्रमा अस्पतालको इमर्जेन्सी वार्डमा पल्टिरहेकी सदीक्षा हमाल बेलाबेला झस्किरहेकी छन् । आँखा खोल्दा होस् वा बन्द गर्दा, बिहानको भयानक दुर्घटनाले उनको मन पोलिरहेको छ । 

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौंडास्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस सोमबार बिहान साढे १ बजेतिर दुर्घटनामा परेको थियो । अनियन्त्रित भई बस सडकबाट करिब २ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । ४४ यात्रु बस दुर्घटनाबाट हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । सदीक्षा त्यही दुर्घटनाकी घाइते हुन् । 

तनहुँकी सदीक्षा पोखरा बस्थिन् । आइतबार उनी केही डकुमेन्ट तयार गर्न काठमाडौं जान बस चढेकी थिइन् । सदीक्षासँगै उनकी साथी पनि थिइन् । यात्राको सुरुवातमा सबै सामान्य थियो । 

‘म बसको अन्तिम सिटको झ्यालको कुनापट्टि बसेकी थिएँ । हामी आफ्नै कुरामा रमाइलो गर्दै अगाडि बढिरहेका थियौँ । समय ठ्याक्कै १२ बजिसकेको थियो । त्यसपछि हामी सुत्यौँ,’ उनले घटना वृतान्त सुनाइन्, ‘म झ्याप्प निदाएकी मात्र के थिएँ, अचानक एउटा भयानक आवाज आयो । घन्द्रङ-घुन्द्रुङ भयो । के भयो ?, कसरी भयो ?, केही पत्तै भएन ।’

बस सडकबाट भीरमा खस्यो । पल्टिँदै जाँदा टुक्रा-टुक्रा भयो । सिटहरू छुट्टिए, गाडीको अगाडिको भाग र अरू पाटपुर्जाहरू तितरबितर भए । उनी केहीबेर बेहोसझैँ भइन् । 

‘बस खसेपछि नदीको अलिकति माथि ढुंगा र गिटीको थुप्रोमा परेकी रहेछु, ब्युँझिदा ममाथि तीनवटा सिटहरू र एउटा लास खप्टिएको थियो । मेरो आधा शरीर गिटीले पुरिइसकेको थियो,’ उनले कहालीलाग्दो क्षण सुनाइन् ।  

त्यतिबेला सदीक्षालाई आफू बाँच्दिनझैं लागेको थियो । उनको नाकबाट रगत बगिरहेको थियो । सास फेर्न पनि गाह्रो भइरहेको थियो । ‘तर कताबाट हिम्मत आयो, मैले आफ्नो खुट्टाले ममाथि रहेका ती भारी सिटहरूलाई जोडले धकलेँ । सिटहरू पन्छाएपछि म माथि रहेको लासलाई पनि हटाएँ । त्यो लास निलो भइसकेको थियो र पूरै फुलिएको अवस्थामा थियो,’ उनले सुनाइन्, ‘त्यो सम्झँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ ।’

सदीक्षाका सामु घाइते र मृतकहरू थिए । ‘मेरो छेउमा रहेको एउटा केटाको मैले कपाल समातेर बसेकी थिएँ, तर उनी पनि बितिसकेका रहेछन् । अर्को एउटा केटा र अंकलको पनि त्यस्तै अवस्था थियो,’ उनले सम्झिइन् । केही समयपछि उद्धारका लागि मानिसहरू आए । उनीहरूले सुरुमा धेरै गम्भीर घाइते भएकाहरूलाई ओसारपसार गरे । ‘मलाई पनि बालुवाबाट निकालेर एम्बुलेन्ससम्म पुर्‍याइयो,’ उनले भनिन् ।  

त्यसपछि मुग्लिनतिरको एउटा अस्पतालमा लगेर पेनकिलर दिएको पनि उनलाई सम्झना छ । सदीक्षाको खुट्टामा र कम्मरमा चोट लागेको छ । उनकै बेडको छेउमा उनकी साथी पनि उपचाररत छिन् । उनी पनि खतरामुक्त छिन् ।

तनहुँका ४४ वर्षीय मनबहादुर थापा घरबाट बिदाबारी भई वैदेशिक रोजगारीका लागि ओमान जानका लागि बस चढेर काठमाडौं जाँदै थिए । दुई महिनाअघि छुट्टिमा आएका मनबहादुर सोमबार साँझ उड्ने तरखरमा थिए । ‘घरबाट विदेश जान बिदा लिएर हिँड्नुभएको । अचानक बिहान राति फोन गर्नुभयो । म दुर्घटनामा परेँ, धन्न बाँचे भन्नुभयो । मेरो होसै उड्यो,’ मनबहादुरीकी श्रीमती मनमायाले भनिन् ।

दुर्घटनाको खबर पाउनासाथ घरबाट मनमाया अतालिँदै उनलाई भेट्न आइपुगिन् । ‘म जाँदा मलेखुको हस्पिटलमा राखिएको थियो,’ उनले सुनाइन् । त्यसपछि बिहान करिब ९ बज्नुअघि मनबहादुरलगायत अन्य घाइतेलाई ट्रमा अस्पताल ल्याइएको थियो । ‘दुर्घटना हुँदा मलाई थोरै थाहा भएको थियो । गाडी पल्टिएर रोकिएपछि आफैँ बाहिर निस्किएँ । बाहिर निस्किएपछि अलिकति हिँडे  । तर मेरो शरीर निकै गलेको थियो,’ मनबहादुरले भने, ‘धन्न बाँच्न सफल भएँ ।’

दुर्घटनाबाट २५ जना घाइते भएका थिए । त्यसमध्ये १५ जना ट्रमामा उपचाररत छन् ।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully