छोरीको गुफा निकाल्ने सामान किन्न आफ्नै बसमा काठमाडौं जाँदै थिए मल्ल दम्पती । श्रीमान् ओमबहादुरले ज्यान गुमाए भने श्रीमती सुकमाया घाइते भएकी छन् ।
What you should know
पोखरा — तनहुँको व्यास नगरपालिका–५ गुणाँदीका ओमबहादुर मल्ल ७ वर्ष साउदी अरब बसेर फर्किए । पाँच वर्षअघि नेपाल आएर उनले पोखरा–काठमाडौं चल्ने डिलक्स बस किने । श्रीमती सुकमायासँग उनी आफ्नै बसमा काठमाडौं जाने क्रममा दुर्घटना भयो ।
ग २ ख १४२१ नम्बरको उनको बस सोमबार बिहान साढे एक बजेतिर धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौंडास्थित पृथ्वीराजमार्गबाट त्रिशुलीमा खस्यो । ३९ वर्षीय ओमबहादुरको आफ्नै बसमा निधन भयो । उनकी श्रीमतीको करङ र हात भाँच्चिएको छ । टाउकोमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अवस्था मध्यम छ । बसका चालक सुजित नेपालीको पनि दुर्घटनामा निधन भएको छ भने सहयोगी प्रतीक पौडेल घाइते छन् ।
व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार मल्लका एक छोरा र एक छोरी छन् । नेवारी परम्पराअनुसार छोरीको गुफा रहेको एक साता भएको थियो । १२ दिनमा गुफा निकाल्नुपर्ने र त्यतिबेला कपडा लगायतका सामान किन्ने भन्दै मल्ल दम्पत्ति काठमाडौं जाँदै थिए ।
‘हामी एउटै गुठी भित्रका सदस्य हौं । बिहानै दुर्घटनाको खबर पाएपछि घर पुगेको थिएँ,’ उनले भने, ‘अरु बेला ड्राइभर र कन्डक्टरकै भरमा बस छोड्ने हो । अहिले सामान किन्न भनेर काठमाडौं जाँदै रहेछन् ।’ १२ दिन नपुगी छोरीलाई गुफाबाट निकाल्न नमिल्ने उनले सुनाए । छोरीको १७ फागुनमा गुफा निकाल्ने तयारी थियो ।
उनका अनुसार ती छोरीका बुबा र आमाको निधन भइसकेको छ । एक जना दाइ भारतमा छन् भने अर्को दाइको सवारी दुर्घटनामा खुट्टा भाँचिएको थियो । सोमबार मल्लको शव तनहुँ ल्याइसकिएको छ ।
