उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन फागुन २१ सम्म मात्रै भएकाले सोचेर आफ्नो मत सदुपयोग गर्न पनि नेता लिङ्देनले आग्रह गरे ।
What you should know
भैरहवा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नु नागरिक अधिकार भएकाले मत खेर नफाल्न अनुरोध गरेका छन् । प्रत्येक नागरिकले मतदानमार्फत मुलुकको भविष्य निर्धारण गर्ने भएकाले चुनावमा सहभागी हुन उनले आग्रह गरेका हुन् ।
रूपन्देही–१ का राप्रपा उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसारका लागि शनिबार देवदहमा आयोजित चुनावी सभामा बोल्दै लामो समयदेखि भविष्यमा विद्रोह गर्न नपर्ने गरी दल र राजाबीच राष्ट्रिय समझदारी गर्न आग्रह गरे पनि बेवास्ता गरिएकाले जनताले नै राप्रपालाई मत दिएर दबाब सिर्जना गर्नुपर्ने उनले बताए ।
उनले मुलुकमा राष्ट्रिय समझदारी कायम गर्नका लागि दबाब पुग्ने किसिमले मतदान गर्न आग्रह गरेका छन् । उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन फागुन २१ सम्म भएकाले सोचेर मात्र आफ्नो मत सदुपयोग गर्न पनि उनले आग्रह गरे ।
नयाँ समझ्दारी नगरेको खण्डमा मुलुक दुर्घटनामा पर्ने र नेताहरू भाग्नु पर्ने चेतावनी दिए पनि नसुनेको उनले बताए । २०८४ सालमा गर्नुपर्ने आवधिक निर्वाचन ०८२ मा गर्दैमा समस्या हल नहुने उल्लेख गर्दै जतिसक्दो छिटो राजा र दलबीच नमिलेका कुरा मिलाउनु पर्नेमा उनले जोड दिए । एउटा प्रजातान्त्रिक दलका रूपमा राप्रपा निर्वाचनमा सहभागी भएको उनले बताए ।
‘मुलुक निर्वाचनमय भइसकेको छ,’ उनले भने, ‘त्यसैले राजा र दलबीच सहकार्यका लागि शक्ति आर्जन गर्ने गरी हामीलाई भोट दिनूस् ।’ मतदान नगर्दा नागरिकको अधिकार खेर जाने भएकाले विवेक पुर्याएर मतदान गर्न उनले आग्रह गरे ।
मुलुकमा २०४६ सालपछि दलले अभ्यास गरेको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक शासन भोगिसकेको जनाउँदै अब पनि पुरानै दललाई मतदान गर्नुअघि हजार पटक विचार गरेर मतदान गर्न उनले आग्रह गरे । ‘३० वर्षसम्म मुख्य नेताका हातमा मुलुक थियो,’ उनले भने, ‘शासनको जे नाम दिए पनि देश सुधार हुन सकेन ।’
कार्यकर्ताले जयजयकार गरेको देखेर नेतालाई सबै जनता सुखी छन् जस्तो लाग्ने गरेको उनले बताए । त्यसैले यसअघिका निर्वाचनमा हालेको मत के ? कति सदुपयोग भयो भन्ने सोचेर मात्र भोट हाल्न उनले अनुरोध गरे । रुपन्देही–१ बाट राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा प्रज्वल चुनावी प्रतिस्पर्धामा छन् ।
