अबको सरकारले सुझबुझपूर्ण ढंगले मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

'छोटो अवधि र संयुक्त सरकारले ठिक ढंगले कार्य सम्पादन गर्न नसक्दा सुशासन, विकास र समृद्धिको चाहना ओझेलमा पर्‍यो ।'

फाल्गुन ९, २०८२

रासस

काठमाडौँ — पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका लागि हुन लागेको निर्वाचनको महायज्ञलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन सबै राजनीतिक दल र उम्मेदवारलाई अपिल गरेका छन् ।

राजनीतिक दल र उम्मेदवारबाट हुने शान्तिपूर्ण चुनावी प्रचारप्रसार र चुनावमा मतदाताको उत्साहपूर्ण सहभागिताले मात्र लोकतन्त्र फस्टाउने र मुलुकले समृद्धि हासिल गर्ने उनको भनाइ छ ।

राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले प्रजातन्त्रको स्थायित्वका लागि आवधिक अवधि नपुगी बीचैमा निर्वाचन गराउन पर्ने अवस्था सकेसम्म आउन दिन नहुने बताए । 'नेपालमा जुन अवस्थाका कारण निर्वाचन घोषणा भयो, त्यो वातावरण नआएको भए विसं २०८४ मा नियमित निर्वाचन हुन्थ्यो,' उनले भने, ' जेनजी आन्दोलनको बलमा बीचमै निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । यद्यपि, जेनजी आन्दोलनमा निर्वाचनको माग उठेको थिएन ।' 

चुनावमा सबै उम्मेदवारलाई जित्ने निर्वाचन गर्न नसिकने भन्दै उनले थपे, 'सबै जित्ने होइन, तर नेपाल र लोकतन्त्रले जित्नैपर्छ ।' आगामी निर्वाचनबाट सकेसम्म विधिसम्मत रूपमा सम्पूर्ण वर्ग, क्षेत्र, समूह र लैङ्गिक प्रतिनिधित्व हुनुपर्ने उनले बताए । 'निर्वाचनपछि बनेको सरकारले पूरा अवधि पाँच वर्ष सरकार चलाओस् । सदन पनि पूरा चलोस् । पाँच वर्षका लागि भनेर चुनाव गर्ने अनि विगतको जस्तो १७ वर्षमा १७ वटै सरकार ब्यहोर्नु नपरोस्,' उनले भने ।

छोटो अवधि र संयुक्त सरकारले ठिक ढंगले कार्य सम्पादन गर्न नसक्दा नेपाली जनताको सुशासन, विकास र समृद्धिको चाहना ओझेलमा परिरहेको उनको भनाइ छ । 'यो पटक मतदाताको सामूहिक विद्वताले असल नतिजा दिलाउन सक्नुपर्छ । त्यसका लागि विश्वास लागेको पात्र र दललाई मतदान गर्नुपर्छ, जसबाट मुलुकमा स्थायी सरकार दिलाउन सकियोस्,' उनले सुझाए ।

निर्वाचनमा अथाह खर्च गर्ने अनि कागजी  प्रतिवेदनमा भने ठिक्क हिसाब देखाउने प्रवृत्ति रोकिनुपर्नेमा उनले जोड दिएका छन् । 'प्रसारप्रसारलाई शान्तिपूर्ण ढङ्गबाट नै लैजानुपर्छ । एकअर्कालाई आरोप प्रत्यारोप गर्नहुन्न,' उनले भने, 'निर्वाचलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षालाई चुस्त बनाउनुपर्छ ।'

निर्वाचनपछि गठन हुने सरकारले सम्पूर्ण देशको क्षमता र अवस्थाका आधारमा सुझबुझपूर्ण ढंगले मुलुकलाई समृद्धितर्फ लैजान सक्नुपर्ने उनको भनाइ छ ।

रासस

Link copied successfully