यहाँबाट झिकिएका क्यामरा अब अन्तिम चरणको बाघ गणनाका लागि शुक्लाफाँटा–लालझन्डी कम्प्लेक्समा प्रयोग गरिनेछ ।
What you should know
पर्सा — चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सम्पन्न भएको छ । यो कम्प्लेक्सको तेस्रो ब्लकमा तीन साताअघि बाघ गणनाका लागि जडान गरिएका क्यामरा बिहीबार हटाइएको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत हेमराज आचार्यले जानकारी दिए ।
आचार्यले चितवन–पर्सा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजित गरी बाघ गणना सम्पन्न गरिएको बताए । पुस १ देखि यो कम्प्लेक्समा बाघ गणना सुरु गरिएको थियो । अन्तिम चरणमा पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयबाट पश्चिम तथा पूर्व, पर्सा, बारा र मकवानपुर डिविजन वन कार्यालयका मातहतको केही क्षेत्रमा एकै साथ क्यामेरा जडान गरिएको थियो ।
बाघ गणनाका लागि ‘क्यामरा ट्रयाप विधि’ प्रयोग गरिएको थियो । यस पटक गणनाका लागि निकुञ्ज र बाघ पाइएको निकुञ्जबाहिरको ठूलो वन क्षेत्र समेटिएको थियो ।
बाघ गणनाका लागि क्यामरा जडान गर्न १२ वटा शिविर खडा गरिएको थियो । शीतलपुर, भाठा, महादेवपट्टी, अमलेखगन्ज, चुरियामाई, रातोमाटे, सहजनाथ, निजगढ, चपुर, तामागढी र घोडेमसानमा गरी ती १२ शिविर स्थापित गरिएका थिए । भाठामा मात्र दुई वटा र अन्य सबै स्थानमा १/१ शिविर थिए । सबै शिविरमा ७ जनाको दरले प्राविधिक टोली गरेर सात दर्जन जनशक्ति खटिएका थिए ।
बाघ गणनाका लागि प्रत्येक दुई वर्ग किलोमिटको फरकमा एक जोडी क्यामेरा जडान गरिएको थियो । यसरी करिब ६ सय क्यामरा बाघ गणनामा प्रयोग गरिएको थियो । जमिनबाट ४० देखि ६० सेन्टीमिटरको उचाइमा र ६ देखि ८ मिटरको फरकमा ती क्यामरा जडान गरिएका थिए । ती क्यामराले एकैसाथ सम्पूर्ण ब्लकमा नभ्याउने भएकाले दुई पटकमा गरी ब्लकका सम्पूर्ण क्षेत्रमा क्यामरा बाघ गणनाका लागि बिछ्याइएको थियो ।
प्रत्येक चार वर्षमा गरिने बाघ गणनामा यस वर्ष वन्यजन्तु विभाग, राष्ट्रिय प्राकृतिक संरक्षण कोष, डब्लूडब्लूएफ नेपाल र जेडएसएल नेपालको सहयोगमा तथा नेपाली सेना, नेपाल प्रहरी, डिभिजन वन कार्यालय लगायत सरोकारवालाको सहकार्य रहेको थियो । चार वर्षअघिको गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा ४१, चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ र बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ गरी नेपालभर ३ सय ५५ वयस्क बाघ गणना भएको थियो ।
अघिल्लो बाघ गणनामा जस्तो यस पटकको गणनामा क्यामरामा धेरै क्षति नपुगेको आचार्यले बताए । चितवन–पर्सा कप्लेक्सबाट झिकिएका क्यामरा अब अन्तिम चरणको बाघ गणनाका लागि शुक्लाफाँटा–लालझन्डी कम्प्लेक्समा प्रयोग गरिनेछ ।
