‘हाइ नोट’ को आशामा नेपाल र स्कटल्यान्ड

अन्तिम समयमा विश्वकप खेल्न आएको स्कटल्यान्डले पहिलो ३ खेल नै कोलकाताको इडेन गार्डेनमा खेलेको थियो, नेपालले सबै ४ खेल वानखेडेमा खेलिरहे पनि अघिल्ला खेलहरूमा त्यसको फाइदा लिन सकिरहेको छैन ।

फाल्गुन ५, २०८२

विनोद पाण्डे

Nepal and Scotland hoping for a 'high note'

What you should know

मुम्बई — नेपाल र स्कटल्यान्ड दुवै आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट उच्च नोटमा अन्त्य गर्ने आशामा छन् । यी दुई टोली मंगलबार वानखेडे रंगशालामा आफ्नो समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छन् । 

नेपालले एउटै जित हात पार्न सकेको छैन । पहिलो तीन खेलमै गुमाएको छ । वेस्ट इन्डिज र इंग्ल्यान्डसँग पराजित स्कटल्यान्डले इटालीमाथि विजय पाएको थियो । तर स्कटल्यान्ड पनि ‘सुपर एट’ दौडबाट बाहिरिइसकेको छ । समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड समान ३ जित निकाल्दै दोस्रो चरणमा पुगिसकेको छ । 

बंगलादेशले प्रतियोगिता नखेल्ने भएपछि अन्तिम समयमा स्कटल्यान्ड त्यो स्थान लिन आइपुगेको हो । टोलीले पहिलो तीन खेल नै कोलकाताको इडेन गार्डेनमा खेलेको थियो । स्कटिस टोलीले पहिलो पटक मुम्बईमा खेल्न लागेको हो । नेपालले सबै ४ खेल वानखेडेमा खेलिरहे पनि अघिल्ला खेलहरूमा त्यसको फाइदा लिन सकिरहेको छैन । 

इंग्ल्यान्डसँग १ सय ८५ रनको विजय लक्ष्य पछ्याउँदा नेपालले १ सय ८० रन बनाएर कडा चुनौती दिए पनि इटाली र वेस्ट इन्डिजसँगको खेलमा निकै फितलो ब्याटिङ गरेको थियो । इटालीसँग नेपाल २० ओभर पनि टिक्न नसकी १ सय २३ रनमा अलआउट भयो । वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङका लागि निम्त्याइएको नेपालले पहिलो १० ओभरमा ४२ रनमात्र बनाउँदा ४ विकेट गुमाएको थियो ।

‘इंग्ल्यान्डसँगको खेलमा हामीले आफ्नो योजना मैदानमा उतार्न सकेका थियौं भने त्यसपछि इटालीसँग योजनाअनुसार खेल्नै सकेनौं,’ नेपालका दक्षिण अफ्रिकी ब्याटिङ कन्सल्टेन्ट निक पोथाज आफ्ना खेलाडी रणनीतिअनुसार खेल्न नसकेको जनाउँदै भन्छन्, ‘नेपाली टोलीले समूहगत रूपमा जुन हिसाबमा सिक्नुपर्ने हो त्यो सिकिरहेको छैन । माथिल्लो स्तरको क्रिकेट खेल्न नेपाली खेलाडीले निकै मिहिनेत गर्नुपर्छ । पावर प्लेमा धेरै विकेट जाने समस्या रोक्नुपर्ने रणनीति प्रयोग भइरहेको छैन ।’ 

नेपालबाट ब्याटर सन्दीप जोरा र अलराउन्डर बसिर अहमदले अझै मौका पाएका छैनन् । स्कटल्यान्डसँग अन्तिम खेलमा उनीहरूले मौका पाउन सक्छन् । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबाहेक नेपालबाट अन्यले गतिलो प्रदर्शन गर्न सकेका छैनन् । यी दुईको प्रयासमा नेपालले आइतबार वेस्ट इन्डिजसँग अन्तिम १० ओभरमा ९१ रन जोडेर कुल स्कोर हेर्नलायक बनाएको थियो । 

स्कटल्यान्डका प्रमुख तीव्र गतिका बलर साफयान सरिफ ग्रोइन इन्ज्युरीका कारण प्रतियोगिताबाट बाहिरिइसकेका छन् । उनको स्थानमा ज्याक जार्भिसलाई ल्याइएको छ । सरिफ वेस्ट इन्डिजसँगको खेलपछि प्रशिक्षणमा घाइते भएका थिए । त्यसपछि उनले दुई खेल खेलेनन् । जार्भिस स्कटल्यान्डसँगै ट्राभल टोलीमा थिए । 

स्कटल्यान्डका ब्याटर टम ब्रुस नेपालमाथि विजय हात पारेर उच्च लयमा विश्वकप टुंग्याउने दाउ रहेको जनाउँछन् । ‘नेपाल र स्कटल्यान्ड परिचित प्रतिद्वन्द्वी हुन्, दुवै टोली लामो समयदेखि खेल्दै आएका छन्, हाम्रो टोलीका खेलाडीहरू नेपालसँग खेल्न निकै उत्साही हुन्छन्, तर मैले भने नेपालविरुद्ध पहिलो पटक खेल्दै छु,’ ब्रुसले भने, ‘नेपालले अहिले नतिजा निकाल्न सकिरहेको छैन । तर नेपाल निकै चुनौतीपूर्ण प्रतिद्वन्द्वी हो । हामीले पनि सोचेजस्तो खेल्न सकेका छैनौं । त्यसैले नेपाललाई पराजित गरेर विश्वकपमा आफ्नो यात्रा टुंग्याउन खोजिरहेका छौं ।’

ब्रुसले यसअघि न्युजिल्यान्डबाट खेलिसकेका छन् । सन् २०१७ मा बंगलादेशविरुद्ध नेपियरमा खेल्दै उनले न्युजिल्यान्डबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । गत वर्षदेखि भने उनले न्युजिल्यान्डबाट खेलेका हुन् । ब्रुसले न्युजिल्यान्डबाट १७ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै दुई अर्धशतक बनाएका छन् । २०२० मा भारतविरुद्ध माउन्ट मउनगानुलमा अन्तिम पटक न्युजिल्यान्डबाट खेलेका थिए । स्कटल्यान्डबाट भने ट्वान्टी–२० मा उनले यसै विश्वकपदेखि खेलेका हुन् । उनले ग्लोबल फ्रेन्चाइज लिग यूएईको आईएल टी–२० देखि इंग्ल्यान्डको भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग खेल्दै आएका छन् । 

ब्रुसले नेपालविरुद्धको खेलमा दर्शकको ठूलो अपेक्षा राखेका छन् । ‘नेपालको खेलमा जहिले पनि दर्शक आउँछन्, त्यो उनीहरूका लागि सकरात्मक पक्ष हो । स्कटल्यान्डमा खेल हुँदा उनीहरू नेपालले जितेपछि मैदानमै प्रवेश गरेका थिए, हामी समर्थकमाझ रमाएर खेल्ने प्रयास गर्नेछौं,’ उनले भने, ‘इंग्ल्यान्डसँग हामीले कोलकातामा यसअघि नै धेरै समर्थकमाझ खेलेका थियौं । त्यसैले हामीलाई धेरै दर्शकसामु खेल्न खासै समस्या छैन ।’ 

वेस्ट इन्डिजविरुद्ध आइतबार नेपालले खेलेको खेलमा १९ हजार २ सय २५ दर्शक थिए, त्यसमा अधिकांश नेपाली थिए । नेपालले इटालीसँग खेल्दा १३ हजार ४ सय ६ र इंग्ल्यान्डसँग खेल्दा १७ हजार ८ दर्शकले वानखेडेबाट प्रत्यक्ष हेरेका थिए । ती सबै दर्शक नेपालकै थिए । त्यसैले वानखेडेलाई नेपालको दोस्रो घरजस्तै हेरिएको छ । 

नेपालले मे–जुनमा स्कटल्यान्ड भ्रमण गरेको थियो, जहाँ नेपालले विश्वकप लिग २ र त्रिकोणात्मक शृंखलामा गरी स्कटल्यान्डसँग २–२ खेल खेलेको थियो । स्कटल्यान्डविरुद्ध लिग २ को खेलमा करण केसीले ब्याटबाट साहसिक प्रदर्शन गर्दा डन्डीमा नेपालले अन्तिम बलमा १ विकेटको विजय पाएको थियो । त्यही खेलमा दर्शक मैदान प्रवेश गरेका थिए । नेपालले लिग २ को ५० ओभरको खेलमा स्कटल्यान्डविरुद्ध एक खेलमा जित र अर्को खेलमा पराजय भोगेको थियो । ग्लास्गोमा भएको ट्वान्टी–२० अन्तर्राष्ट्रियको त्रिकोणात्मक शृंखलामा पनि नतिजा उस्तै थियो । लिग २ को शृंखला खेल्न स्कटल्यान्ड मेमा काठमाडौं आउने कार्यक्रम छ । 

रातिको खेलमा वानखेडेमा स्पिनरहरूको प्रभाव पर्न सक्छ । त्यसले पनि आफ्नो टोलीलाई खासै फरक नपर्ने ब्रुस दाबी गर्छन् । ‘हामीले इंग्ल्यान्डविरुद्ध खेल्दा आदिल रशिद र लिएम डावसनलाई खेलाएका थियौं, स्पिनरविरुद्ध खेल्ने बानी छ,’ उनले भने, ‘सबैखाले चुनौतीका लागि टिम तयार भएर बसेको हुन्छ । नेपालका स्पिनरहरू राम्रा छन्, हामीले त्यहीअनुसार योजना बनाएका छौं ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully