पूर्वप्रधानमन्त्री ओलीले समेत यसलाई 'विदेशी सेनाको नांगो नाच’ भन्दै टिप्पणी गरे तर सैनिक अधिकृतका अनुसार वास्तविकता ओलीले अर्थ्याएभन्दा फरक छ ।
What you should know
काठमाडौँ — नेपाली सेनाले आइतबार सैनिक मञ्च, टुँडिखेलमा भव्य सांस्कृतिक कार्यक्रम गरेर २६३ औं स्थापना दिवस मनायो । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलसमेत उपस्थित समारोहमा सैनिक कौशल देखाइयो, सांस्कृतिक प्रस्तुतिहरु भए ।
तर, त्यसमा अमेरिकी सेनाको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले यसलाई इंगित गर्दै ‘अमेरिकी सेनाको परेड सार्वभौम राष्ट्रमाथि विदेशी सेनाको नांगो नाच’ भन्दै टिप्पणी गरेका छन् । उनले शिलापत्र अनलाइनसँग झापामा कुरा गर्दै नेपालको संस्कृतिप्रति ठाडो हस्तक्षेपको सुरुवात गरिएको दाबी गरेका छन् ।
तर, सैनिक अधिकृतहरुका अनुसार, वास्तविकता ओलीले अर्थ्याएभन्दा फरक छ ।
‘सेना दिवसमा भारत, बेलायत र संयुक्त राज्य अमेरिकाको ब्याड टोलीबाट सांगीतिक प्रस्तुति थियो, यो विगतका वर्षहरुमा हुने सेना दिवसमा समेत हुँदै आएको परम्परा हो,’ नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी राजाराम बस्नेतले भने, ‘यो ऐतिहासिक संस्कृति, संस्कार आदनप्रदानको कार्य हो, सैनिक कूटनीति र सम्बन्ध विस्तारको एउटा माध्यम पनि हो ।’
बस्नेतका अनुसार, नेपाली सेनाको ब्यान्ड टोलीले समेत भारत, अमेरिका, बेलायत लगायतका देशका सेना दिवसको अवसरमा प्रस्तुति दिने गरेको छ । स्वयं ओली प्रधानमन्त्री भएका बेला समेत अमेरिका, बेलायत लगायतका मुलुकको सेनाले सांगीतिक प्रस्तुति दिएको थियो । यसपालि पनि त्यसैले निन्तरता पाएको हो ।
२८ फागुनमा जंगीअड्डामा भएको सांस्कृतिक कार्यक्रममा समेत छिमेकी मुलुकका सेनाले प्रस्तुति दिएका थिए । त्यो कार्यक्रममा भारत र पाकिस्तानी सेनाका अधिकृतहरु समेत देखिएका थिए । ‘सैनिक–सैनिक स्तरको सहकार्य अन्तरगत यो विश्वव्यापी चलन हो, हाम्रोमा पनि धेरै पहिलेदेखि यसले निरन्तरता पाउादै आएको चलन हो,’ बस्नेतले थपे ।
सैनिक कूटनीतिअन्तर्गत नै नेपाली सेनाले विश्वका अन्य मुलुकसँग संयुक्त सैन्य अभ्याससमेत गर्दै आएको छ । भारतसँग अभ्यास सूर्यकिरण, चीनसँग सगरमाथा फ्रेन्डसिप, अमेरिकासँग ‘ब्यालेन्स्ड नेल’, बेलायतसँग ‘क्याब्रियन पट्रोल’ नामक सैन्य अभ्यास हुने गरेको छ ।
सैन्य सम्बन्ध विस्तारका लागि सेनाले विभिन्न मुलुकमा हुने सैन्य प्रतियोगितामा पनि भाग लिने गर्छ । बेलायतको क्याब्रियन पट्रोलमा त सेनाले पटकपटक स्वर्ण पद पाएको छ । १७ देशमा ३८ टिम सहभागी पाकिस्तानमा भएको अर्को सैन्य प्रतियोगितामा समेत नेपाली सेनाले प्रथम स्थान हाासिल गरेको सहयाक रथी बस्नेत बताउँछन् ।
दक्षिण छिमेक भारतसँग त एकअर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने परम्परासमेत छ । भारतसँग केही वर्षयता एकअर्काको देशमा पालैपिच्छे ‘चिफ्स कन्क्लेभ’ समेत हुने गरेको छ, जसमा बहालवालासँगै पूर्वप्रधानसेनापतिसमेत सहभागी हुन्छन् ।