कास्की अदालतले रोक्यो रविविरुद्धको मुद्दा फिर्ता प्रक्रिया, सर्वोच्चको निर्णय कुर्ने आदेश

सोमबार जिल्ला न्यायाधीश नीतिज राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट आएको मुद्दा फिर्ता लिने निर्णयमाथि सर्वोच्च अदालतमा रिट परेकाले तत्काल मुद्दा फिर्ता प्रक्रिया अगाडि नबढाउने आदेश दिएको छ ।

फाल्गुन ४, २०८२

दीपक परियार

Kaski court halts process to withdraw case against Ravi, orders to await Supreme Court's decision

What you should know

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जीबी राईसहित करिब ५० व्यक्तिविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने प्रक्रिया तत्काल रोकिएको छ । कास्की जिल्ला अदालतले सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म मुद्दा फिर्ता नलिने निर्णय गरेको हो ।

सोमबार जिल्ला न्यायाधीश नीतिज राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट आएको मुद्दा फिर्ता लिने निर्णयमाथि सर्वोच्च अदालतमा रिट परेकाले तत्काल मुद्दा फिर्ता प्रक्रिया अगाडि नबढाउने आदेश दिएको छ । ‘सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्रै निर्णय गरिने छ,’ जिल्ला अदालत कास्कीका रजिस्ट्रार राजन खनालले भने ।

यसअघि महान्यायाधिवक्ता सविता भण्डारीले गत ३० पुसमा लामिछाने लगायतविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । उनले सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् राख्ने तर संगठित अपराध र मनी लाउन्ड्रिङसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी हुन् ।

महान्यायाधिवक्ताको उक्त निर्णय विवादित बनेपछि युवराज पौडेल (सफल) ले २ माघमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनले मुद्दा फिर्ता लिने निर्णय कानुनसम्मत नभएको भन्दै अदालतको हस्तक्षेप माग गरेका छन् ।

कास्की जिल्ला सरकारी वकिल कार्यालयले महान्यायाधिवक्ताको निर्णयअनुसार अभियोग संशोधन गर्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन जिल्ला अदालतमा निवेदन पेस गरेको थियो । तर अदालतले सोमबार भएको सुनुवाइमा सर्वोच्चको निर्णय नआएसम्म मुद्दा फिर्ता लिन नमिल्ने ठहर गरेको हो ।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि यस्तै आदेश जारी गरिसकेको छ । रूपन्देहीमा पनि लामिछानेविरुद्धको संगठित अपराध मुद्दा फिर्ता लिने प्रक्रिया रोकिएको छ । पोखराको सूर्यदर्शनलगायत अन्य सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध कास्कीसहित रूपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतमा मुद्दा दायर भएका छन् । ती मुद्दामा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ ।

महान्यायाधिवक्ता भण्डारीको मुद्दा फिर्ता लिने निर्णयले राजनीतिक र कानुनी विवाद निम्त्याएको छ । विभिन्न पक्षले यो निर्णय राजनीतिक दबाबमा गरिएको आरोप लगाउँदै आएका छन् । तर सर्वोच्च अदालतको अन्तिम निर्णयले नै यस प्रकरणको भविष्य निर्धारण गर्ने देखिएको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully