बंगलादेशको नवनिर्वाचित सरकारको शपथ समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री ढाका जाँदै

शपथ समारोहका लागि नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भूटान, चीन, साउदी अरेबिया, टर्की, युएई, कतार, मलेसिया र ब्रुनाईका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको छ ।

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

Foreign Minister leaves for Dhaka to attend the swearing-in ceremony of Bangladesh's newly elected government

What you should know

काठमाडौँ — परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्ने भएका छन् ।

बंगलादेशमा हालै सम्पन्न निर्वाचनबाट दुई–तिहाइ सिट जितेको बंगलादेश राष्ट्रिय पार्टीका अध्यक्ष तरिक रहमानले मंगलबार प्रधानमन्त्रीको सपथ लिने भएका छन् । शपथ समारोहका लागि नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भूटान, चीन, साउदी अरेबिया, टर्की, युएई, कतार, मलेसिया  र ब्रनाईका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको छ ।

परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बंगलादेशबीचको  सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर जनाएको छ । 

परराष्ट्रमन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयलयका वरिष्ठ अधिकारी रहनेछन् । उनी फागुन ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

बंगलादेशको राष्ट्रिय संसद्को साउथ प्लामा शपथ समारोह हुनेछ । विगतमा शपथ समारोह बंगभवनस्थित दरबार हलमा हुने गरेको थियो । यो राष्ट्रपतिको आवास पनि हो । 

बिहीबार २ सय ९९ स्थानमा सम्पन्‍न निर्वाचनमा २ सय ९७ सिटको मतगणनामा हुँदा बंगलादेश राष्ट्रिय पार्टीले २ सय ९ सिट जितेको थियो । बाँकी दुई सिटमा अदालतले तत्काल मतगणना नगर्न आदेश दिएको थियो । कुल ३ सय प्रत्यक्ष सिटमध्ये एक सिटमा उम्मेदवारको निधनले निर्वाचन स्थगित भएको छ । 

बंगलादेशको जातीय संसद्मा कुल ३ सय ५० सिट छ । त्यसमध्ये ५० सिट महिलाका लागि आरक्षित छ । यसमा पार्टीहरुले प्रत्यक्षतर्फ ल्याएको मतभारलाई आधारमा मानेर समानुपातिक रूपमा प्रतिनिधि चयन गरिन्छ । 

कान्तिपुर

Link copied successfully