नेपाली सेना दिवस एवं एकता दौड–२०८२ आयोजनाका क्रममा शनिबार उपरथी केसीले सेनाको संयमित, अनुशासित उपस्थिती र जनतासँगको सहकार्यले समाजलाई पुनः शान्तिपूर्ण मार्गमा फर्काएको बताए।
What you should know
धनगढी — सुदूरपश्चिमका पृतनापति उपरथी किरण केसीले आगामी निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित ढंगले मतदान गर्ने वातावरण बनाउन नेपाली सेना फिल्डमा खटिएको बताएका छन् ।
नेपाली सेना सुदूरपश्चिम पृतना हेडक्वाटरको संयोजकत्वमा ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नाराका साथ नेपाली सेना दिवस एवं एकता दौड–२०८२ आयोजनाका क्रममा शनिबार उपरथी केसीले सेनाको संयमित, अनुशासित उपस्थिती र जनतासँगको सहकार्यले समाजलाई पुनः शान्तिपूर्ण मार्गमा फर्काएको बताए।
‘आसन्न निर्वाचन सुरक्षामा नेपाली सेनाको संयमित उपस्थितिले जनताको आत्मविश्वासलाई अझ बलियो बनाउने छ । लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित राख्ने छ र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने छ,’ उनले भने, ‘निर्वाचन सुरक्षामा पनि आफ्नो अनुशासन, जिम्मेवारी र समर्पण मार्फत जनविश्वासलाई थप मजबुत बनाउने प्रतिज्ञा गर्दछ ।’
सेनाले राष्ट्रको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नुका साथै सार्वभौमसत्ता र अखण्डताको रक्षा, विपद् व्यवस्थापन, शान्ति स्थापना र राष्ट्र विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाई थियो । ‘नेपाली सेना जनताको विश्वास, राष्ट्रको कवच, र गौरवको प्रतीक हो,’ उपरथी केसीले भने, ‘जब जनता सेनालाई हेर्छन्, उनीहरुले केवल सैनिक देख्दैनन्, उनीहरूले आफ्नो सुरक्षा, आफ्नो भविष्य र आफ्नो राष्ट्रिय गौरव देख्छन् ।’
उपरथी केसीले नेपाली सेना सदैव जनतासँगै हिँड्ने, जनताको साथ र आत्मभरोसा जित्ने राष्ट्रको कवच भएको उल्लेख गरे । उपरथी केसीले बलियो एकता तथा सुरक्षित राष्ट्र भन्ने मुख्य भावना आत्मसात गर्दै सुदूरपश्चिम पृतना हेडक्वाटरले महाशिवरात्री तथा २६३औं सेना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताए । उनले दौड प्रतियोगितामार्फत खेलकुदको प्रवर्द्धन मात्र नभई राष्ट्रिय तथा प्रादेशिक एकताका लागि ‘जब हामी सबै एउटै लक्ष्यतर्फ दौडिन्छौं, तब मात्र हाम्रो देश सुरक्षित रहन्छ र हाम्रो भविष्य उज्ज्वल रहन्छ’ भन्ने सन्देश प्रवाह भएको बताए ।
महाशिवरात्री तथा २६३ औं नेपाली सेना स्थापना दिवसको अवसरमा शनिबार धनगढीबाट पाँच किलोमिटर एकता दौडमा १ सय ७५ जना र १० किलोमिटर दौडमा २ सय ८० जना महिला तथा पुरुष सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा पाँच किलोमिटर दौड महिलातर्फ देवकी कुमारी धामी प्रथम, मन्जु कुमारी धामी द्धितीय र पवित्रा सार्की तृतीय भएका थिए । पुरुषतर्फ टेक बहादुर चन्द प्रथम, टेकेश चन्द द्धितीय र प्रदिप खत्री तृतीय भएका थिए । विजेताहरुलाई क्रमश १५, १० र पाँच हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिएको पृतनाले जनाएको छ ।
त्यसैगरी १० किलोमिटर खुला दौड प्रतियोगितामा महिलातर्फ गोरखबक्स गणका सिपाही श्रृजना पाण्डे प्रथम, जगदल गणका हुद्दा सरस्वती भट्टराई द्वितीय र सर्वेश्वर गणका सिपाही शान्ता वली तृतीय भएका थिए ।
पुरुषतर्फ भैरवनाथ गणका सिपाही अक्कल पाल प्रथम, रणसिंहदल गणका सिपाही प्रकाश कठायत द्वितीय र अर्जुनबाण गणका सिपाही अर्जुन सार्की तृतीय भएका थिए । उनीहरुले क्रमसः ३५, २५ र १० हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।
