भारतीय जंगलमा नेपालीलाई घाँस–दाउरा गर्न निषेध

वन विभाग, धर्मापुरका वनकर्मी संजय मिश्राले जंगलमा घाँस-दाउरा गर्न गएकाहरूलाई वन्यजन्तुले आक्रमणगरी ज्यानै लिन थालेपछि प्रवेशमा रोक लगाएको बताए ।

फाल्गुन ३, २०८२

कमल पन्थी

Nepalis banned from collecting firewood in Indian forests

What you should know

बर्दिया — भारतीय वन विभागले सीमावर्ती बहराइचस्थित कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रमा घाँस काट्न, दाउरा बटुल्न र चरिचरन गर्न निषेध गरेको छ । घाँस काट्न जाँदा वन्यजन्तुको आक्रमणबाट सर्वसाधारणको ज्यानै जान थालेपछि संरक्षण क्षेत्रअन्तर्गत धर्मापुर रेन्जपोष्टले नेपालीमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

सीमावर्ती नेपाली गाउँका अधिकांश किसान घाँस दाउराका लागि भारतीय वनमै आश्रित छन् । नेपाली सीमावर्ती क्षेत्रमा वन छैन । वन विभाग, धर्मापुरका वनकर्मी संजय मिश्राले जंगलमा प्रवेश गरी घाँस-दाउरा गर्न गएकाहरूलाई वन्यजन्तुले आक्रमणगरी ज्यानै लिन थालेपछि घाँस काट्न रोक लगाएको बताए ।

कतरनियाघाट वन्यजन्तु आरक्षमा बाघ, चितुवा र हात्तीको संख्या बढीरहेको मिश्राले बताए । सीमावर्ती क्षेत्रका बस्तीमा वनबाट आएका चितुवाले दिनहुँ कुकुरसहित घरपालुवा जनावारमाथि आक्रमण गर्ने र मारेर खान थालेको छ । साँझ पर्नासाथ भारतीय वनबाट चितुवा निस्केर बस्तीमा पस्ने गरेको मधुवन नगरपालिकाकी सूचना सुनारले बताइन् । भारतीय वनमा यसअघि पुरुषलाई प्रवेशमा रोक लगाएको थियो,’ उनले भनिन् ‘महिलालाई घाँस, दाउरा ल्याउन दिए पनि अहिले बाघ, चितुवा र हात्तीको त्रासले रोक लगाएको छ ।’

सशस्त्र प्रहरी बीओपी तारातालका एक अधिकारीले भारतीय वनमा वन्यजन्तुको जोखिम बढेकाले नजानुस् भन्दा नमानेको बताए । सोही कारण भारतीय वनका अधिकारीले रोक लगाएको उनको भनाइ छ । घाँस, दाउरा र चरिचरण निषेध गरेपछि बर्दियाका सीमावर्ती बासिन्दा प्रभावित भएका छन् । यस भेगका बासिन्दा सीमावर्ती गाउँनजिक जंगल नभएका कारण वर्षौदेखि भारतीय जंगलमा आश्रित छन् । भारतीय जंगलमा घाँस, दाउरा र चरिचरनबापत नेपालीले वनका मुन्सीलगायतका कर्मचारीलाई खाद्यन्य बुझाउने गरेको स्थानीयले बताए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully