विश्व शान्तिकालागि बुद्ध जन्मस्थल लुम्बिनीको भूमिका प्रसंशनीय र अनुसरणीय भएकाले आफू प्रभावित भएर भ्रमण गर्न आएको उनले बताए ।
What you should know
कपिलवस्तु — जापानको वाकायामा राज्यका गर्भनर मियाजाकी ईमुजीले बुद्ध जन्मस्थल लुम्बिनीको अवालेकन भ्रमण गरेका छन् ।
विश्व शान्तिकालागि बुद्ध जन्मस्थल लुम्बिनीको भूमिका प्रसंशनीय र अनुसरणीय भएकाले आफू प्रभावित भएर भ्रमण गर्न आएको उनले बताए ।
लुम्बिनीको विकास र संरक्षणकालागि आफू गर्भनर भएको वाकायामा राज्यबाट के गर्न सकिन्छ भन्ने ? विषयमा अध्ययन गरेर सहयोग र सहकार्यको हात बढाउन चाहेको बताए ।
लुम्बिनी विकास कोष र जापानको कोया टाउन नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको १० वर्ष पुगेको उपलक्ष्यमा जापानको वाकायामा प्रदेशका गर्भनर मियाजाकी ईमुजीको नेतृत्वमा १८ सदस्यीय उच्च स्तरीय प्रतिनिधि मण्डल लुम्बिनी भ्रमणमा आएका हुन् ।
टोलीमा वाकायामा राज्यका उपसभामुख फुमिनारी आकिजुकी र जापानको कोया टाउन नगरपालिका मेयर हिरानो योहियालगायत कोया टाउनमा रहेका विहार प्रमुखहरु सहभागी छन् । टोलीले मायादेवी मन्दिरमा पूजाआजा र प्रार्थना गरेका थिए ।
त्यस्तै अशोक स्तम्भको अवलोकन र पुष्करणि पोखरीस्थित बोधी बृक्षमा दीप प्रज्वलन गरेका थिए । त्यस्तै टोलीले लुम्बिनीमा रहेको थाउजेन्ट टेम्पल र रोयल थाई विहारमा पनि अवलोकन गरेका थिए ।
टोलीलाई लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले स्वागत गरेका थिए । प्रतिनिधि मण्डललाई लुम्बिनी विकास गुरुयोजना, ऐतिहासिक, पुरातात्विक महत्व र संरक्षणका प्रयासबारेमा सूचना सहायक विकास लामाले जानकारी दिएका थिए ।
जापानको कोया टाउन नगरपालिका र बुद्ध जन्मस्थल लुम्बिनी दुबै विश्व सम्पदास्थल हुन् । जापानको वाकायामा प्रदेश अन्तर्गत ईटो जिल्लाको कोयो पर्वतको टुप्पोमा रहेको कोया सहर जापानी बौद्ध धर्मको केन्द्रका रुपमा स्थापित छ । यो विश्व सम्पदास्थलमा सूचीकृत पनि छ ।
