मुस्ताङका दुई हिमालमा पहिलोपटक सफल आरोहण

चिनियाँ आरोही हे जिङको नेतृत्वमा ऐतिहासिक सफलता मिलेको हो ।

फाल्गुन २, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — मुस्ताङ हिमालको दुर्गम क्षेत्रका अहिलेसम्म नचढिएका दुई शिखरमा शिशिरकालीन पहिलो आरोहण सफलतापूर्वक सम्पन्न भएको छ। 

प्रख्यात चिनियाँ आरोही हे जिङले ६,०६२ मिटर उचाइको ज्यान्ग्लातुनपु र ६,१८७ मिटर उचाइको केक्याप रीमा २६ माघमा सफलता हासिल गरेकी हुन्। 

आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्स प्रालिले गरेको थियो।

सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईँका अनुसार, ट्रिपल क्राउन भर्जिन पिक एक्सपेडिसन टोलीमा हे जिङसँगै अन्तर्राष्ट्रिय हिमाल गाइड संघबाट मान्यता प्राप्त नेपाली गाइड दावा फिन्जो लामा भोटे, सिनियर गाइड मिङ टेम्बा शेर्पा, फुर्बा सोनाम शेर्पा, वाङदाङ भोटे र स्पिड दावा सहभागी थिए।

पर्यटन विभागबाट हिमाल आरोहण अनुमति प्राप्त गरेपछि टोली २१ माघमा काठमाडौंबाट मुस्ताङतर्फ प्रस्थान गरेको थियो। टोलीले घ्युन उपत्यकामा वैकल्पिक मार्ग प्रयोग गर्दै आधारशिविर घर गुम्बा नजिक स्थापना गरेको थियो, जुन अघिल्ला शिविरहरू भन्दा करिब २०० मिटर तल रहेको थियो।

दोस्रो दिन भारी हिमपातका कारण प्रारम्भिक आरोहण योजना परिवर्तन गर्नुपरेको थियो। 'पहिले तय गरिएको कूलोइर र ट्राभर्स बाटो छोडेर हामीले हिमालको धारमार्ग प्रयोग गर्‍यौं। केक्याप ला पासको तल्लो भागमा रात बिताउन शिविर स्थापना गरियो,' आयोजक सेभेन समिटले भन्यो । 

चिनिया आरोही हेले भनिन्,'सगरमाथासहित विश्वका १४ वटा आठ हजार मिटरभन्दा माथिका शिखर बिना अक्सिजन चढ्दा पनि म सधैँ पेसागत संरचनामा थिएँ। यसपटक हामी आफैँले सबै व्यवस्थापन गर्‍यौँ। यो अनुभव अत्यन्त चुनौतीपूर्ण र विशेष रह्यो।'

टोलीका अन्य सदस्यहरूले पनि कठिन नेभिगेसन, चरम चिसो र मिश्रित आरोहण अवस्थाबीच सफलता हासिल गरेको प्रतिक्रिया दिए ।

नेपालको सबैभन्दा ठूलो साहसिक पर्यटन अपरेटर सेभेन समिट ट्रेक्स र आउटडोर ब्रान्ड पेलिओटको संयोजनमा सञ्चालन भएको यस अभियानमा, टोलीले ज्यान्ग्लातुनपु र केक्याप री शिखर नजिकैको छुहा–४ (६,१७९ मिटर) आरोहण गर्ने योजना बनाएको थियो। 

तर दुई शिखरको सफल आरोहण पछि समयको सीमाले टोलीले मुस्ताङ फर्किनुपरेको थियो।

सगरमाथासहित अन्य हिमालमा हे जिङजिका अन्य उपलब्धि विश्व कीर्तिमान छन् ।


२०१७ मा मनास्लुबाट अक्सिजन–रहित आरोहण यात्रा सुरु गरेकी उनले २०२४ अक्टोबरमा शिशापाङ्मा आरोहण गर्दै संसारका १४ वटा आठ हजार मिटरभन्दा माथिका शिखर बोतल अक्सिजन बिना आरोहण गर्ने पहिलो महिला बनिन्। 

उनलाई शुक्रबार ठमेलमा आयोजित समारोहमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सञ्चालक समिति सदस्य ऋषिराम भण्डारी, नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईँलगायतले गिनिज वर्ल्ड रेकर्ड प्रमाणपत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए।

हे जिङका अन्य रेकर्डहरूमा सहायक अक्सिजन बिना सबै १४ शिखर आरोहण गर्ने पहिलो महिला, र बोतल अक्सिजन नलिएर सबैभन्दा छिटो सगरमाथा–के२ आरोहण गर्ने रेकर्ड समावेश छन्।

३७ वर्षिया हे चीनको सियान सहरकी इन्जिनियर हुन्।

कान्तिपुर

Link copied successfully