राजविराज कारागारमा कसले पुर्‍यायो गाँजा र चिलिम ?

बरामद भएको मोबाइलको ‘कल हिस्ट्री’बाट पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ

फाल्गुन १, २०८२

विद्यानन्द राम

What you should know

राजविराज — सप्तरीको राजविराज कारागारमा गाँजा, सेवन गर्न प्रयोग हुने चिलिम र एउटा मोबाइल बरामद भएको दुई साता भइसक्यो । तर, त्यहाँसम्म कसले गाँजा पुर्‍याएको विषय अझ खुल्न सकेको छैन । अघिल्लो मंगलबार (माघ २०) बिहान त्यहाँका कैदीबन्दीलाई चेक गर्दा १० ग्राम गाँजा, चिलिम र एउटा मोबाइल बरामद भएको थियो । 

‘ए ब्लक’मा एउटै कोठामा बस्दै आएका महदेवा गाउँपालिका–१ का सुमित मण्डल, राजविराज नगरपालिका–६ का सुरज राउत र वडा नम्बर ५ का अभिषेक मण्डललाई चेक गर्दा ती प्रतिबन्धित सामग्री बरामद भएको हो । घटनापछि चोरी, हातहतियार तथा लागुऔषध ओसारपसारसम्बन्धी मुद्दामा ४ वर्ष सजाय भोगिरहेका सुमित र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा ३ वर्ष ४ महिना कैद काटिरहेका सुरजलाई रौतहट कारागार सारिएको कारागार प्रमुख रूपक मण्डलले बताए । 

‘घटनाका आरोपी सुमित र सुरजलाई बयानपछि कारागार व्यवस्था विभागको निर्देशनअनुसार रौतहट कारागार पठाइसकेका छौं,’ उनले भने, ‘हाल ती घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ भने विभागले पनि जिल्ला प्रशासन कार्यालयमार्फत विस्तृत अनुसन्धानका लागि छानबिन समिति बनाएको छ ।’

प्रहरीले त्यहाँबाट बरामद भएको मोबाइलको ‘कल हिस्ट्री’बाट पनि अनुसन्धान गरिरहेको छ । तर,  अझसम्म अनुसन्धान पूरा गर्न नसक्दा कारागारमा कसले गाँजा पुर्‍याएको विषय खुल्न नसकेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले त्यस विषयमा अनुसन्धान भइरहेको बताए । ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने । 

जिल्ला प्रशासन कार्यालयले बनाएको छानबिन समितिले पनि छानबिन प्रक्रिया पूरा गर्न सकेको छैन । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, कारागारका प्रमुख, जिल्ला प्रहरी कार्यालयका असई र प्रशासनकै नायब सुब्बा छानबिन समितिमा सम्मिलित छन् ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले हालसम्म छानबिन प्रतिवेदन प्राप्त नभएको बताए । ‘६/७ दिनभित्र प्रतिवेदन तयार भइसक्ने समितिले जानकारी गराएको छ,’ उनले भने, ‘स्वतन्त्र, निष्पक्ष र नडराइकन प्रतिवेदन तयार पार्न भनेको छु । त्यसमा देखिएअनुसार कारबाही गर्नुपर्नेलाई कारबाही गर्छौं ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully