१३३ निर्वाचन क्षेत्रको मतपत्र छापियो

निर्वाचन आयोगका अनुसार शुक्रबार बिहानसम्म प्रत्यक्षतर्फको १ करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भएको छ ।

फाल्गुन १, २०८२

राजेश मिश्र

काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १ सय ३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ पूरा भएको छ ।

निर्वाचन आयोगका अनुसार शुक्रबार बिहानसम्म प्रत्यक्षतर्फको १ करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भएको छ । ती मतपत्रहरू सम्बन्धित निर्वाचन क्षेत्रहरूमा पठाउनका लागि १ हजार ५ सय ३१ बाकसमा प्याकिङ गरिसकिएको छ ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार प्रति मतपत्र छापिने छन् । प्रत्यक्षतर्फको मतपत्र १६ माघदेखि छाप्न सुरु भएको हो ।

समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्रको छपाइ त्यस अगावै सम्पन्न भएर जिल्ला–जिल्ला पठाउनका लागि प्याकिङ गरेर राखिएको छ ।

कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाका १२ निर्वाचन क्षेत्रको मतपत्र बिहीबार पुर्‍याइसकिएको छ ।

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully