सोना श्रेष्ठ एडीबीको दक्षिण एसिया महानिर्देशक नियुक्त

यसअघि उनी दक्षिण एसिया विभागकी उपमहानिर्देशक थिइन् ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले दक्षिण एसिया महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ । यस पदमा रहेर श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा कार्यक्रमहरूको विकास र कार्यान्वयनको जिम्मेवारी लिनेछिन् ।

यस नियुक्तिअघि उनी दक्षिण एसिया विभागकी उपमहानिर्देशक थिइन् । उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभागमा उप–महानिर्देशक, सहायक सचिव, दक्षिण–पूर्वी एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार डिभिजनमा निर्देशक तथा इन्डोनेसियाका लागि उपदेश निर्देशकका रूपमा पनि काम गरिसकेकी छन्न ।

एडीबीमा आफ्नो प्रारम्भिक भूमिकाहरूमा उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिण–पूर्वी एसियाभरि व्यापक सञ्चालन अनुभव हासिल गरेकी छिन् । श्रेष्ठसँग यस क्षेत्रका काम गरेको २७ वर्षभन्दा बढी पेसागत अनुभव छ । त्यसमध्ये २३ वर्ष एडीबीमै बिताएकी छन् ।

‘दक्षिण एसियाको महानिर्देशकमा नियुक्त हुन पाउँदा म सम्मानित महसुस गरिरहेकी छु,’ नवनियुक्त महानिर्देशक श्रेष्ठले भनिन्, ‘क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासलाई समर्थन गर्न एडीबीको संलग्नता अझ सुदृढ बनाउन म उत्सुक छु ।’

श्रेष्ठले संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि र स्नातकोत्तर उपाधि प्राप्त गरेकी छन् । उनले अमेरिकाकै स्मिथ कलेजबाट अर्थशास्त्रमा बीए गरेकी छिन् ।

एडीबी एसिया तथा प्रशान्त क्षेत्रमा समावेशी, उत्थानशील र दिगो आर्थिक वृद्धिलाई समर्थन गर्ने अग्रणी बहुपक्षीय विकास बैंक हो । आफ्ना सदस्य र साझेदारहरूसाग मिलेर जटिल चुनौतीहरूको समाधान खोज्दै नवप्रवर्तनशील वित्तीय उपकरण र रणनीतिक साझेदारीमार्फत जीवनस्तर रूपान्तरण, गुणस्तरीय पूर्वाधार निर्माण तथा पृथ्वीको संरक्षणमा योगदान पुर्‍याउँदै दाबी एडीबीले गर्दै आएको छ ।

सन् १९६६ मा स्थापित एडीबीमा ६९ राष्ट्र सदस्य छन् । त्यसमध्ये ५० राष्ट्र एसिया क्षेत्रकै हुन् ।

कान्तिपुर

Link copied successfully