स्कुल भ्यान दुर्घटना अपडेट : एक विद्यार्थीको मृत्यु, २५ घाइते

घाइतेमध्ये ६ जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने १९ जना धौलागिरि अस्पतालमा उपचाररत छन् ।

माघ २९, २०८२

प्रकाश बराल

बाग्लुङ — बिहीबार बिहान भएको स्कुल भ्यान दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 

बाग्लुङ नगरपालिका–१ स्थित न्यु एभरेष्ट बोर्डिङ स्कुलको भ्यान बाग्लुङ नगरपालिका–४ पाखाथर भन्ने स्थानमा साढे ४ बजेतिर सडकबाट करिब ६० मिटर तल खसेको थियो । ग१च ८६२१ नम्बरको उक्त भ्यानमा सवार ६ जना गम्भीर घाइतेलाई पोखरास्थित गण्डकी अस्पतालमा रिफर गरिएको छ । अन्य १९ जनाको धौलागिरि अस्पताल बाग्लुङमा उपचार भइरहेको छ । 

धौलागिरि अस्पतालका अनुसार मृत्यु हुनेमा अमन बोहोरा छन् । घाइतेमध्ये ६ जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने १९ जना धौलागिरि अस्पतालमा उपचाररत छन् । 

घटनाको जानकारी पाउनासाथ स्थानीय, प्रहरी, सशस्त्र र नेपाली सेना उद्दारमा खटिएका थिए । घाइतेहरूमध्ये संगम किसान, सुजल छन्त्याल, सोलुमन रसाइली, निकिता किसान, आयान बोहोरा र आयुस बोहोरालाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइको छ । 

अन्य विद्यार्थीहरू आयना बोहोरा, वीरबहादुर थापा मगर, निस्मा खड्का, सेमुल थापा, समीक्षा गैरेको धौलागिरि अस्पतालमै उपचार भैरहेको छ । शिव किसान, सान्वी किसान, सुप्रिया किसान, रोशनी बोहोरा, अनन्या किसान, अनिस बोहोरा, सुमित गैरे, उमंग किसान, निक्सन बोहोरा, रोबिन्स किसान, मुस्कान किसान, अलिना किसान र अनिता किसानको पनि धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार भ्यान अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully