भोट बदर हुन नदिन मतदाता शिक्षा सिकाउँदै ६ हजार ७४३ स्वयंसेवक 

त्यसरी खटिएका स्वयंसेवकले घरदैलोमा पुगेर निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले मत बदर नहाेस् भन्ने उदेश्यले ७५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा एक जनाकाे दरले स्वयंसेवक परिचालन गर्ने भएको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागेकाे हाे । 

आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रम अनुसार फागुन ३ देखि १७ सम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुने सहायक प्नवक्ता कुलबहादुर जिसीले बताए ।

त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन्।

आयोगबाट आमसञ्चार माध्यमवाट विभिन्न किमिसका मतदाता शिक्षा सामग्री उत्पादन गरी प्रकाशन एवं प्रसारण गर्ने तयारी गरिरहेको तथा विभिन्न सरोकारवालासँग छलफल एवं अन्तर्क्रियाका माध्यमबाट पनि मतदाता शिक्षालाई प्रभावकारी बनाउने कार्य भइरहेकाे निर्वाचन आयोगले जनाएको छ ।  

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा सहयोग, समन्वय र सहजीकरणको लागि सातै प्रदेश सरकार, ७५३ स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोकारवालाहरूलाई आयोगले  अनुरोध गरेकाे छ ।

कान्तिपुर संवाददाता

Link copied successfully