पर्यटन कार्यालय गौरमा एक महिनादेखि दुईजना ‘हाकिम’

एउटै कार्यालयमा दुईजनालाई प्रमुखको जिम्मेवारी तोकेपछि कसको निर्देशन मान्ने भनेर मातहतका कर्मचारी अलमलमा पर्ने गरेका छन् ।

माघ २८, २०८२

शिव पुरी

What you should know

रौतहट — गौरस्थित पर्यटन कार्यालयमा केही करिब एक महिनायता दुईजना कार्यालय प्रमुख छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय जनकपुरले फरक–फरक निर्णय गरेर एउटै कार्यालयमा दुईजनालाई प्रमुखको जिम्मेवारी तोकेपछि कसको निर्देशन मान्ने भनेर मातहतका कर्मचारी अलमलमा पर्ने गरेका छन् ।

मन्त्रालयले छैठौँ तहका इन्जिनियर कमलेशकुमार मिश्रलाई २ माघमा पर्यटन विकास कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी दिएको थियो । त्यसको ठिक दुई दिनपछि अर्थात ४ माघमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिवस्तरीय निर्णयले पर्यटन मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न पत्राचार गरेको थियो । पत्रमा मुख्यमन्त्री कार्यालयका उपसचिव रोहितकुमार कोइरालाले इन्जिनियर मिश्रको सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएका थिए । उपसचिव कोइरालाले पर्यटन कार्यालय गौरको प्रमुख राजेश काफ्ले भएको बताए । ‘काफ्लेको काज फिर्ता नभएसम्म उनी नै प्रमुख हुन्,’ उनले भने, ‘यसमा केही कारण छैन । पहिले जो थिए, उनै प्रमुख हुन् ।’

पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले काजमा खटिएका पहिलेका प्रमुख काफ्लेको काज अवधि सकिएपछि मुख्यमन्त्री कार्यालयले नै २ माघमा फिर्ता गरेपछि इन्जिनियर मिश्रलाई प्रमुख बनाएको बताए । ‘काज भनेको तीन महिनाको लागि हुन्छ । काफ्लेको काज सकिएपछि मिश्रलाई पठाएको हो । तर, निर्वाचन आचारसंहिता लागू भइसकेपछि मुख्यमन्त्रीको कार्यालयले निर्णय कार्यान्वयन नगर्नु भनेर पत्र पठाएको छ,’ उनले भने, ‘यो के गरेको हो बुझ्नै सकिएन । काफ्लेलाई नै प्रमुख भनेर तोके भै गो नी । आफैले काज सकियो भन्ने अनि अर्को पठाएर कार्यान्वयवन नगर भन्नु कत्तिको जायज होला ?’

पत्र पाउनासाथ इन्जिनियर मिश्र ६ माघमा कार्यालयमा हाजिर भइसकेका छन् । अर्का प्रमुख काफ्ले पनि त्यही कार्यालयमा प्रमुखको जिम्मेवारीमा छन् । मन्त्रालयले मिश्रलाई प्रमुखको जिम्मेवारी तोकेर पठाएको छ भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पर्यटन मन्त्रालयले गरेको निर्णय कार्यान्वयन नगर्नु भनेको छ । त्यसपछि काफ्लेले मिश्रलाई ६ माघमै मन्त्रालयमा फिर्ता जानु भन्ने पत्र थमाए । मिश्रले हाजिर भएकै दिन काफ्लेको काज अवधि सकिएको भन्दै गौर कार्यालयबाट ‘सम्बन्धित दरबन्दिमा जानु’ भनेर पत्र थमाइदिएका थिए ।

प्रदेश सरकारभित्रै निर्णय कार्यान्वयन र अधिकार क्षेत्रका विषयमा देखिएको असमझदारीले प्रशासनिक प्रक्रिया प्रभावित भएको सरोकारवालाहरूको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्री परिषद् र उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयले फरकफरक निर्णयगरी प्रमुख तोकेपछि प्रदेश सरकारभित्र समन्वय अभाव सतहमा आएको हो ।

प्रमुख पदका लागि दुई कर्मचारीबीच हानाथाप हुँदा कार्यालयको दैनिक प्रशासनिक कार्य ठप्प जस्तै भएको छ । कर्मचारीहरू कसको निर्देशन मान्ने भन्ने अन्योलमा छन् । बुधबार पनि काफ्ले र मिश्र दुवै प्रमुखको रुपमा कार्यालयमै थिए । दुवैबीचको विवादले उग्र रुप लिएपछि प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले समन्वयकारीको भूमिका खेलेका थिए । उनले दुवैलाई समन्वय गराउन खोजे पनि करिब एक महिनादेखिको विवाद मिलेको छैन् ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully