स्पष्टीकरण सोधिएकामध्ये २१ जनाले जवाफ बुझाएका छैनन्
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता उल्लघंन गरेको आरोपमा निर्वाचन आयोगले हालसम्म ५१ जनालाई स्पष्टीकरण सोधेको छ । २१ फागुनमा तोकिएको निर्वाचनका लागि आयोगले तोकेको आचारसहिताविपरीत काम गरेपछि आयोगले यस्तो स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकामध्ये २१ जनाले जवाफ बुझाएका छैनन्।
३० जनाले मात्रै स्पष्टीकरण बुझाएको र बाँकीको जवाफ आउन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले बताए।
जीसीका अनुसार, २१ जनाले स्पष्टीकरण बुझाएका छैनन्। उनीहरूलाई स्पष्टीकरण बुझाउन ताकेता गरिएको आयोगले जनाएको छ। उनले केही व्यक्तिलाई दोहोराएर स्पष्टीकरण सोधिएको बताए ।
निर्वाचन आचारसंहिता उल्लघंन गरेको देखिएमा आयोगले स्पष्टीकरण सोध्ने गरेको छ। स्पष्टीकरण आएपछि जाँचबुझ गरी कारबाहीको निर्णय गर्छ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरेको छ।
