यदि हामी आज सचेत भएनौं र फेरि उही पुराना र असफल शक्तिलाई नै चुन्यौं भने १० वर्षपछिको अर्को आन्दफलनमा मर्ने तपाईंकै परिवारको कोही हुनसक्छ, त्यसैले भोट हाल्नेबेला सोच्नुहोस्, सक्षम व्यक्ति छान्नुस्
What you should know
काठमाडौँ — कन्सल्टेन्सीलाई १० लाख बुझाएर काम खोज्दै रुस पुगेका दैलेखका प्रकाश बोहरा १८ महिनासम्म रुस–युक्रेन युद्धमा सामेल भए । छोरा जन्मिएपछि नेपाल फर्किए, तर बेरोजगारीका कारण फेरि विदेश जानुपर्ने सोचमा पुगे । कतार जान भन्दै गत भदौमा काठमाडौं आए ।
त्यहीबेला जेन–जी आन्दोलन भयो । आन्दोलनमा सहभागी भएका प्रकाशलाई गोली लाग्यो, रगतले लतपतिएको उनको सेतो जुत्ता सडकमा अलपत्र थियो । जुन जुत्ताको एउटा तस्बिरले देशवासीकै मन बिथोलिदिएको थियो । पााच महिनाको उपचारपछि उनी हालै ‘डिस्चार्ज’ भएका छन् । उनै प्रकाशले सोमबारदेखि जारी ‘कान्तिपुर कन्क्लेभ २०२६’ मा व्यक्त गरेका भावनाको सम्पादित अंश :
म प्रकाश बोहरा, कर्णाली प्रदेशको दैलेख नारायण नगरपालिका–८ को एउटा सामान्य गाउँमा हुर्किएँ । पहाडी भूगोल भए पनि तराईसँग जोडिएको छ हाम्रो ठाउँ । गाउँमै मेरो बाल्यकाल बित्यो । घरमा बा, आमा, दाइ, भाउजू, श्रीमती र १९ महिनाको एउटा छोरा छन् । आज मैले भन्न खोजिरहेको यो कथा एउटा जुत्ताको मात्र होइन, यो त मेरो पुस्ताले अहिले भोगिरहेको कुशासन, बेरोजगारी र राज्यको लाचारीको कथा पनि हो ।
मलाई सानैदेखि पढाइमा भन्दा बढी रुचि ‘आर्मी’ बन्नमा थियो । भारतीय सेनामा भर्ती भएर परिवार पाल्ने मेरो सपना थियो । बुबाको इच्छा भने म सामान्य चिकित्सक (हेल्थ असिस्टेन्ट) बनोस् भन्ने थियो । बुबाको खुसीका लागि म दैलेखबाट स्कुले पढाइ सकेर नेपालगन्ज झरें । आर्थिक अवस्था त्यति राम्रो थिएन । तैपनि २०७३ सालमा जेनतेन ‘एचए’ पढेर सिध्याएँ ।
पढाइका बीचमा मैले भारतीय सेनामा भर्तीका लागि पनि प्रयास गरें, तर असफल भएँ । त्यतिबेला मलाई ठूलो झड्का लाग्यो । पढाइमा खासै ध्यान थिएन । पहिलो वर्ष चार वटा र दोस्रो वर्ष तीन वटा विषय लागेको थियो । तर जब आर्मीमा भर्ती हुने ढोका बन्द भयो, मैले महसुस गरें कि अब मेरो अन्तिम विकल्प पढाइ नै हो । मैले अन्तिम वर्षमा पुगेपछि एकैचोटि १४ वटा विषयको परीक्षा दिएर पास गरें । मेरो परिवारको आशा र भरोसा भनेकै म थिएँ । कान्छो छोरो भएकाले पनि सबैले मबाट आशा गरेका थिए ।
२०७४ सालमा म ठूलो सपना बोकेर पहिलो पटक काठमाडौं आएँ । लोक सेवाको तयारीमा जुटें तर नाम निस्किएन । त्यसपछि स्वास्थ्य समायोजनका कुरा आए । तर तीन वर्षसम्म स्वास्थ्य क्षेत्रमा लोक सेवाको विज्ञापन नै खुलेन । यसबीचमा केही परियोजनामा जागिर खाएँ । त्यसपछि दुई वर्ष कोभिडले खाइदियो । जुन स्पिडमा म केही गर्छु भनेर दौडिन खोजेको थिएँ, राज्यको कमजोरीले मेरो जीवनको पाँच वर्ष त्यत्तिकै खेर गयो । म अन्योलमा परें । मेरो बाटो नै अवरुद्ध भयो ।
केही समय दैलेख कारागारमा करारमा काम गरें, तर त्यहाँ पनि स्थायी कर्मचारी आएपछि मलाई निकालियो । त्यसपछि मलाई लाग्यो, यो देशमा बस्नुको अब कुनै अर्थ छैन । मैले विदेश जाने निर्णय गरें ।
त्यतिबेला रुस र युक्रेनबीच युद्ध चलिरहेको थियो । मलाई फेरि आर्मी हुने पुरानो इच्छा जाग्यो । मैले युट्युब र सामाजिक सञ्जालमा धेरै रिसर्च गरें । कति नेपालीहरू त्यहाँ युद्धमा मरेका वा बन्धक बनेका कुराहरू पनि सुनें, तैपनि मेरो परिस्थितिले मलाई त्यहाँ जान बाध्य बनायो । घरमा कसैलाई थाहा नदिई म ‘स्टुडेन्ट भिसा’ मा १० लाख रुपैयाँ बुझाएर रुस पुगें । जबकि यो कुरा कन्सल्टेन्सीलाई पनि थाहा थिएन, म रसियामा आर्मी हुन जाँदै छु भनेर । तीन महिना लगाएर म रसिया पुगें ।
रुस पुगेको पाँच दिनभित्रै म भर्ती केन्द्रमा पुगें र आर्मीमा भर्ना भएँ । जम्मा सात दिनको तालिमपछि मलाई रुस–युक्रेनको बोर्डरमा पठाइयो । त्यहाँ मैले गोली चलाउन, बंकर अट्याक गर्न र ग्रेनेडबाट बच्न सिकें । हामी ३ सय जनाको टोली १८ घण्टा लामो यात्रा गरेर युक्रेनको धेरै भित्रसम्म पुग्यौं ।
त्यहाँको करिब १८ महिना मेरो जीवनको सबैभन्दा भयानक समय थियो । आँखा अगाडि साथीहरू मरेको देखें । टाउको माथिबाट मिसाइलहरू सुइँ–सुइँ उडेको देखिन्थ्यो । कतिपय साथीहरूले ह्वाट्सएपमा म्यासेज गर्थे, ‘म फ्रन्टलाइनमा जाँदै छु, फर्किएर आएँ भने ठीकै छ, नत्र घरमा खबर गरिदिनू ।’ ३० जनाको टोली फ्रन्टलाइनमा जाँदा १०–१५ दिनपछि ५–१० जना मात्र फर्किएर आउँथे । धेरै नेपाली मरेका छन् । मेरा साथीहरू पनि ।
१८ महिनासम्म प्रत्येक दिन र रात मैले मृत्युलाई नजिकबाट नियालें । तर अचम्मको कुरा, संसारकै ठूलो युद्धभूमिमा १८ महिना बस्दा मेरो एउटा नङसम्म पनि झरेन, मलाई एउटा सानो खोट पनि लागेन ।
म युद्धमै हुँदा नेपालमा मेरो छोरा जन्मिएको थियो । छोराको अनुहार देखेपछि मलाई जतिसक्दो चाँडो घर फर्कन मन लाग्यो । म १८ महिनापछि सम्मानका साथ रुसबाट नेपाल फर्किएँ । नेपाल आएपछि म केही समय दैलेख बसें, तर फेरि बेरोजगार ! नेपालमा केही नहुने भएपछि फेरि कहाँ जाने भन्ने चिन्ताले सताउन थाल्यो । मेरा केही साथीहरू कतार पुलिस हुनुभएको थियो । त्यसपछि म कतार पुलिसमा जान काठमाडौं आएँ ।
काठमाडौंमा डकुमेन्ट मिलाउँदै गर्दा टिकटकमा जेन–जी आन्दोलनका भिडियोहरू देखें । पहिले त कुरा बुझिनँ, तर पछि हेर्दै जाँदा लाग्यो कि यो त मेरै पुस्ताको लडाइँ हो । मलाई कसले आन्दोलनमा बोलाएको हो ? को अगुवा हो ? केही थाहा थिएन । तर, मलाई यति थाहा थियो कि हाम्रो अघिल्लो पुस्ताले बोलेन, त्यसैले हामीले यो कुशासन र भ्रष्टाचारविरुद्ध बोल्नैपर्छ । मेरो छोरा र आउने पुस्ताले यो देशमा बस्ने वातावरण पाऊन् भनेर म २३ भदौमा माइतीघर पुगें ।
२३ भदौको बिहान म बानेश्वरबाट मेरो सालो विप्लव थापासँग माइतीघर पुगें । माइतीघरबाट हामी ठूलो समूहमा बानेश्वरतिर लाग्यौं । हामी सरकारलाई केही प्रश्न सोध्न सडकमा उत्रिएका थियौं । मलाई लाग्थ्यो, आफ्नो देशमा प्रश्न गर्दा गोली खाइँदैन । तर, बानेश्वर चोकभन्दा केही अगाडि संसद् भवननजिकै पुग्दा अचानक मेरो देब्रे खुट्टामा गोली लाग्यो ।
गोली लाग्नेबित्तिकै म भुइँमा ढलें । त्यो दुई–तीन सेकेन्डको समयमा मैले आफ्नो खुट्टा हेरें, त्यो क्षतविक्षत भइसकेको थियो । म एय्या भनेर ढलेको थिएँ । त्यतिबेलै मलाई खतरै गोली लागेको छ भनेर थाहा पाइसकेको थिएँ । गोली लाग्नासाथ खुट्टा फुलेको देखेको थिएँ । मेरो खुट्टा लत्रिएको अवस्थामा थियो । मैले उद्धार छिटो पाएँ । मेरो जुत्ता रगतले पूरै लतपतिएको थियो । मलाई एम्बुलेन्समा हाल्ने क्रममा साथीहरूले त्यो रगत मुछिएको सेतो जुत्ता खोलेर त्यहीँ फाल्दिए । त्यो जुत्ता मैले केही समयअघि मात्रै नेपालगन्जको एउटा पसलमा १५ सय रुपैयाँ हालेर किनेको थिएँ । मलाई त्यो जुत्ता साह्रै मन परेको थियो, तर त्यही जुत्ता पछि आन्दोलनको प्रतीक बन्यो ।
मलाई नेसनल ट्रमा सेन्टर लगियो । त्यहाँको अवस्था झन् भयानक थियो । कसैलाई कहाँ गोली लागेको छ, कोही कहाँ, बेडहरू सबै भरिएका थिए । मेरो १२ घण्टा लामो अप्रेसन भयो र म झन्डै २४–२६ घण्टापछि होसमा आएँ ।
होसमा आउँदा आईसीयूमा नर्सले मलाई प्रधानमन्त्री (सुशीला कार्की) को वक्तव्य सुनाउनुभयो । उहाँले यसलाई ‘आम हत्या’ भन्नुभएको थियो र दोषीलाई कारबाहीको माग गर्नुभएको थियो । त्यो सुन्दा मेरो शरीर जिरिङ्ग भयो । हामीलाई ठूलो आशा थियो कि अब केही परिवर्तन हुन्छ, तर यो सरकारले त्यो अपेक्षा पूरा गर्न सकेन । ७६ जना साथीहरूले ज्यान गुमाए, २६ सयभन्दा बढी घाइते भए । म रुसको त्यत्रो युद्धबाट सकुशल फर्किएको मान्छे, आफ्नै देशमा कुशासन र भ्रष्टाचारविरुद्ध सडकबाट प्रश्न सोध्दा राज्यको गोली खाएर घाइते हुनुपर्यो ।
त्यो जुत्ताको कथाचाहिँ, म रसियाबाट आएपछि नेपालगन्ज गएको थिएँ । त्यहाँ सेलमा जुत्ता राखिएको रहेछ । जुत्ता एकदम राम्रो थियो । दुई जोर किनेको थिएँ । अहिले भाइरल भइरहेको सेतो जुत्ता एकदमै मन परेको थियो । यो कथा किन त भन्ने प्रश्न आउँछ । हामी जलाउन आन्दोलनमा हिँडेको हैन । सरकारसँग मनमा लागेका प्रश्न र गुनासा लिएर आन्दोलनमा उत्रिएका थियौं । त्यसको जवाफ सरकारले गोली हानेर दियो । सरकारलाई प्रश्न गर्दा हामी मर्नु पर्ने हो ?
मैले यो कथा सहानुभूति पाउन सुनाइरहेको होइन । म कहिल्यै यस्तो स्टेजमा चढेर बोलेको पनि थिइनँ । म त केवल यो भन्न चाहन्छु कि हामीलाई यो देशमा बस्ने वातावरण बनाइदिनुस् । हामीलाई स्थिर सरकार र रोजगारी दिनुस् । हामीलाई फेरि विदेश जान र युद्ध लड्न बाध्य नबनाउनुस् ।
आज ७६ जनाको परिवारमा जो–जो मरे, तिनको पीडा तिनैलाई मात्र थाहा छ । यदि हामी आज सचेत भएनौं र फेरि उही पुराना र असफल शक्तिलाई (चुनावबाट) चुन्यौं भने १० वर्षपछिको अर्को आन्दोलनमा फेरि मर्ने ७६ जनामध्ये तपाईंको परिवारको कोही सदस्य पनि हुन सक्छन् । त्यसैले भोट हाल्ने बेला सोच्नुस्, सक्षम व्यक्ति छान्नुस् । मेरो रगतले भिजेको जुत्ताले सोधिरहेको प्रश्नको जवाफ हामीले नै खोज्नुपर्नेछ ।
