निकुञ्जभित्रको ढक्का बस्तीको पीडा: बाह्रैमास वन्यजन्तुको त्रास

सरकारले अहिलेसम्म ३२ वटा आयोग गठन गरे पनि विस्थापितको समस्या समाधान हुन सकेको छैन । आयोगपिच्छे विस्थापितको संख्या घटबढ भइरहेको छ ।

माघ २७, २०८२

भवानी भट्ट

The pain of the dense settlement inside the park: The fear of wildlife all year round

What you should know

कञ्चनपुर — गत शनिबार मध्यरात गहुँबारी रेखदेख गर्न घरबाहिर निस्किएका अमरबहादुर विष्टले बारीमा हात्ती पसेको देखे । त्यतिञ्जेल हात्तीले उनको गहुँबारी सखाप पारिसकेको थियो । हात्ती बारीमै रोकिएन, केही बेरमा उनकै घर नै भत्कायो । श्रीमती र छोरीको ज्यान जोगियो । 

उनले पुच्छर नभएको हात्ती बस्तीमा पसेको भन्दै गाउँलेलाई खबर गरे । हात्तीले नजिकैको अर्को घर पनि भत्काउन थाल्यो । घरभित्र रहेकी पार्वती नातिनी ब्युँझयाएर भाग्ने कोशिषमा थिइन् । जेठी नातिनी आफै भागिन् । कान्छी ६ वर्षीया रेजिनालाई आफुसँगै लगेर भाग्दैं थिइन् । त्यहीबेला हात्तीले आक्रमण गर्‍यो । गम्भीर घाइते रेजिनाको आइतबार बिहान धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । पार्वतीको उपचार भइरहेको छ । 

‘रातिको समय सबैलाई खबर गर्नै पाइएन, हेर्दाहेर्दै ज्यानै लियो,’ विष्टले भने, ‘हाम्रा लागि हरेक रात यसैगरि बितेका छन्, हामीलाई झुक्याउने काम मात्र भइरहेको छ ।’ ०५८ मा निकुञ्जको पूर्वी क्षेत्र विस्तारका क्रममा साविकको पिपलाडी गाविसको तारापुर क्षेत्रबाट उनी विस्थापित भएका हुन् । 

शुक्लाफाँटा निकुञ्जभित्र पर्ने ढक्का शिविरमा बार्‍है महिना हात्तीको त्रास हुन्छ । घर भत्काउने, खेतीपाती नोक्सान गर्ने त कहिले ज्यानै लिने घटना बारम्बार भइरहन्छन् । चार वर्षअघि पनि हात्तीको आक्रमणबाट ढक्का शिविरमा बसोबास गर्ने खगराज रानाको मृत्यु भएको थियो । 

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) बिस्तारका क्रममा विस्थापित भएका बासिन्दाको पुर्नस्थापना हुन नसकेका कारण उनीहरु अहिले पनि निकुञ्जको ‘कोर’ क्षेत्रमा रहेको ढक्कामा छाप्रा बनाएर बसोबास गरिरहेका छन् । विस्थापित भएको एक वर्षसम्म पुर्नस्थापना नभएपछि उनीहरु ०५९ देखि उक्त क्षेत्रमा छाप्रा निर्माण गरेर बसोबास गरिरहेका हुन् । 

यहाँका बासिन्दालाई स्थानान्तरण गर्ने विषय हरेक निर्वाचनमा दल र उम्मेद्वारको मुख्य एजेण्डा बन्ने गरेका छ । तर, समस्या समाधान भन्दा विस्थापितलाई जहिल्यै ‘भोट बैंक’ मात्रै बनाउने गरेका छन् । समस्या समाधान गर्न भन्दै विभिन्न आयोगका नाममा राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बनेको छ । समस्या समाधान हुने विश्वासमा यहाँका बासिन्दाले निर्वाचनमा मत बदले पनि उनीहरुको नियति भने फेरिएको छैन । वन्यजन्तु आक्रमणबाट घाइते र ज्यान गुमाउनुपर्ने घटना उनीहरुका लागि सामान्य जस्तै बनेका छन् । 

‘हाम्रा नाममा धेरै राजनीति भयो, धेरै नेता चुनाव जितेर गए, तर हाम्रो बास जंगलमै छ,’ आरक्ष पीडित संघर्ष समिति संयोजक मोतीलाल डगौंराले भने, ‘जंगलमा त्रासै त्रासमा बस्नुपरेको छ, कतिबेला जंगली जनावर आएर ज्यान लिन्छन् केही भर हुँदैन ।’ उनका अनुसार बर्खायाममा सर्प–किराको त्यतिकै डर हुन्छ । शिविरमा ६ सय भन्दा बढी परिवारको बसोबास छ । 

एक सय ५० वर्गकिलोमिटर क्षेत्रफल रहेको तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष पूर्वी क्षेत्र विस्तार गरेर ३ सय ५ वर्ग किलोमिटर पुर्‍याइएको थियो । सोही क्रममा विस्थापित भएकाको अझै पुर्नस्थापना हुन नसकेको हो । विस्थापितहरु १४ वटा शिविरमा बसोबास गरिरहेका छन् । 

सरकारले अहिलेसम्म ३२ वटा आयोग गठन गरेपनि समस्या समाधान हुन सकेको छैन । आयोगपिच्छे विस्थापितको संख्या घटबढ भइरहेको छ । पछिल्लो पटक गठन भएको आयोगले विस्थापितको संख्या २ हजार २७ देखाएको छ । त्यसअघिका आयोगले २ हजार ४ सय ७३ परिवारको पुर्नस्थापना गर्नुपर्ने देखाएको छ । ‘अहिले पनि नेताहरु आउन थालेका छन्, हामीहरु पुर्नस्थापना गरेरै छाड्छौं भन्छन्, तर जितेपछि कोही फर्केर आउँदैनन्,’ स्थानीय प्रेम शाहीले भने, ‘हामीले वन्यजन्तुसँगै बस्नुपरेको छ, कतिबेला कुन जनावरले ज्यान लिन्छ केही थाहा हुँदैन ।’

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully