‘हास्यव्यंग्यसँग सत्ता डराउँछ’

हास्यव्यंग्यले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले योबिना राजनीति निरंकुश र जवाफदेहिताविहीन हुने धारणा।

माघ २७, २०८२

प्रकृति दाहाल

'The government is afraid of humor'

What you should know

सुर्खेत र रुकुम पश्चिम — राजनीतिमाथिको हास्यव्यंग्यसँग सत्ता डराउने हास्यव्यंग्य कलाकारहरूले बताएका छन् । सोमबारदेखि सुरु ‘कान्तिपुर कन्क्लेभ–२०२६’ को पहिलो दिनको चौथो सत्र ‘आफैंमाथि व्यंग्य लेख्दै नेपाली राजनीति’ मा सहभागी उनीहरूले हास्यव्यंग्यबिना राजनीति निरंकुश र जवाफदेहिता विहीन हुने बताएका हुन् । कमेडीले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामा महत्त्वपूर्ण भूमिका खेल्ने वक्ताहरूको निष्कर्ष थियो ।

उक्त सत्रका वक्ता कमेडियन पर्वत लामाले हास्यव्यंग्य र राजनीति एकअर्कासँग जोडिएको विषय भएको बताए । ‘जब आलोचनात्मक चेत कमेडियनले दिँदैनन्, तब जनताहरू सत्तासँग डराउन थाल्दछन् । जनताको मनबाट सत्ताको डर हटाउने काम कमेडीले गर्छ,’ उनले भने । त्यसैले कमेडी बन्द गरिए राजनीतिक विचार र आलोचनाको स्वर पनि बन्द हुने उनको भनाइ थियो । हास्यव्यंग्यले समाजका सबै पाटो देखाउने भएकाले यो सामाजिक चेतना जगाउने माध्यम रहेको लामाले बताए । 

अर्का वक्ता कमेडियन आदर्श मिश्रले राजनीतिक व्यंग्य गर्दा सोच्नु नपर्ने बताए । नेताहरूले सोचेर बोल्दैनन् भने कमेडियनले पनि धेरै सोचेर बोल्नु नपर्ने उनको धारणा थियो । उनले भने, ‘धेरै नेताको भाषण हेरेको छु, १५–२० मिनेटसम्मको । सबैभन्दा बढी हाँस्ने नै नेता बोल्दा हो ।’ 

उनले कमेडीको स्वरूप परिवर्तन हुँदै गएको बताए । अहिलेको समयमा मानिसहरू फुर्सदमा नरहेको भन्दै मिश्रले १५ सेकेन्डको रिल्स हेर्नसमेत समय नहुने अवस्था आएको धारणा राखे । उनले भने, ‘१५ सेकेन्डको रिल्स हेर्ने फुर्सद त छैन, डेढ मिनेटको कसले सुन्छ ? मान्छेलाई फुर्सद नै छैन ।’

मिश्रले नेपालका दैनिक समाचार हास्यव्यंग्यको पञ्चलाइन जस्तो भएको टिप्पणी पनि गरे । हरेक दिन समाचार पढिरहने र आफूलाई हरेक समाचारको हेडलाइन हास्यव्यंग्यको पञ्चलाइन लाग्ने उनको भनाइ थियो । उनले उदारहण दिँदै भने, ‘अस्ति मैले पढिरहेको थिएँ– देश ७३.६ बिलियन ट्रेड डेफिसिटमा गयो, यो राम्रो जोक हो, यसमा थप्न केही पनि पर्दैन ।’

मिश्रले कमेडीको स्वतन्त्रतामा आउने दबाबको विषय पनि उठाए । उनले भारतमा कमेडियनले जोक गर्दा जेल जानुपर्ने स्थिति भएको उदाहरण दिँदै नेपालमा पनि पहिले केही कलाकारलाई कानुनी चुनौती भएको स्मरण गराए । उनले भने, ‘नेपालमा पनि सुरुमा प्रनिश जेल गयो, त्यसपछि अपूर्व गयो । मलाई पनि लग्ने थियो । मलाई पक्राउ पुर्जी जारी गर्न बिहार जानुपर्थ्यो, किनकि मेरो नागरिकता छैन ।’ 

अर्का वक्ता कमेडियन सुन्दर खनालले कमेडी गर्ने क्रममा आउने धम्की र दबाबका विषयमा आफ्नो दृष्टिकोण राखे । कसैको पक्ष र विपक्षमा बोलेको भनेर गुनासो आउने, कहिले कुट्ने धम्की दिने गरिएको भन्दै उनले कमेडियनहरूले आफू तयार भएर कमेडी गर्नुपर्ने जनाए । खनालले कमेडी केवल मनोरञ्जन नभई एउटा सिर्जना भएको उल्लेख गर्दै दर्शकलाई हँसाउनु सजिलो नभएको बताए ।

‘आँसु नचाहेर आउँछ, तर मानिस हाँसो चाहन्छ । मानिसलाई हँसाउन गाह्रो छ । यसका लागि धेरै मिहिनेत चाहिन्छ,’ उनले भने । उनले कमेडी क्षेत्रको भविष्य र त्यसको टिकाउपनामा कलाकार, दर्शक र समाजको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । कमेडी गर्नेहरू गलत दिशातर्फ लागेमा सुधारका लागि खबरदारी र आलोचना आवश्यक हुने उनको भनाइ थियो । 

सत्रको सहजीकरण गरेका हास्यव्यंग्य कलाकार मनोज गजुरेलले पनि हास्यव्यंग्यको सामाजिक भूमिकालाई जोड दिए । उनले अहिलेका युवा पुस्ताले लामो कमेडीभन्दा छोटो प्रस्तुति बढी रुचाउने बताए । समयसँगै दर्शकको रुचि र मनोविज्ञान परिवर्तन भएको उल्लेख गर्दै गजुरेलले प्रविधि, सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्मका कारण ध्यान अवधि घट्दै गएको बताए । ‘अहिलेका युवापुस्ताले छोटो सामग्री मन पराउँछन् । लामो भयो भने बीचमै ल्याङ हुन्छ,’ उनले भने ।

गजुरेलले कमेडी केवल मनोरञ्जन नभई समाजसँग गहिरो रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै ‘पुरानो नराम्रो, नयाँ राम्रो’ भन्ने सामान्य धारणा गलत रहेको बताए । ‘नयाँ र पुरानो दुवैमा राम्रो र नराम्रो पक्ष हुन्छ,’ उनले भने, ‘अहिले फरक यति मात्र हो कि नयाँ पुस्ताले त्यसलाई नयाँ रंग र नयाँ रूप दिएको छ ।’ उनले भाषा र संस्कृतिको संरक्षणमा पनि जोड दिए ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully