थाइल्याण्डको थम्पायल विहारका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा ‘महान् धम्म यात्रा’ नाम दिइएको टोली विभिन्न स्थान हुँदै फागुन १० गते लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ ।
रौतहट — विश्वभर शान्ति, अहिंसा र मानव एकताको सन्देश फैलाउने उद्देश्यसहित थाई भिक्षुको टोली रौतहटको चन्द्रपुरबाट मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीसम्म पैदल यात्रामा निस्किएको छ ।
थाइल्याण्डको थम्पायल विहारका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा ‘महान् धम्म यात्रा’ नाम दिइएको टोली विभिन्न स्थान हुँदै फागुन १० गते लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ ।
भारतको आसाम र त्रिपुरा हुँदै नेपाल प्रवेश गरेको टोलीले चन्द्रपुर नगरपालिका–१ स्थित गोल्माराजा बुद्ध विहारबाट यात्रा सुरु गरेको हो । थाइल्याण्डका २२ जना भिक्षुहरु दुई दिनअघि गोल्माराजा बुद्ध विहार आइपुगेका थिए।
उनीहरुसँगै लाओस, भारत र नेपालका भिक्षु समेत गरी २८ जनाको टोलीले ‘शान्तिको लागि धम्मयात्रा–भगवान् बुद्ध जन्मस्थल लुम्बिनीसम्म’ भन्ने मूल नारासहित पैदल यात्रा सुरु गरेको हो ।
लुम्बिनी पुगेपछि पूजापाठ गरी सहभागीहरु आ–आफनो देश फर्कने भन्ते मेधकर स्थवीरले बताए । ‘शान्ति, सहअस्तित्व र करुणाको सन्देश प्रवाह गर्ने उद्देश्यले १५ दिनसम्म पैदल यात्रा सञ्चालन गरिनेछ,’ उनले भने,‘यात्राले विश्व शान्ति प्रवर्द्धनका साथै बुद्धको शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।’
यो यात्रा धार्मिक कार्यत्रम मात्र नभई विश्व शान्ति, अहिंसा र मानव सभ्यताको साझा सन्देश बोकेको ऐतिहासिक पहल भएको भन्ते स्थवीरले बताए ।
