दुर्घटनामा परी बसमा सवार ७ पुरुष र ५ महिला गरी १२ जनाको मृत्यु भएको हो।
रामेछाप — रामेछापको मन्थली नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुने १२ मध्ये ९ जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार मंगलबार साँझ ६ बजेसम्म मृतक १२ मध्ये ९ जनाको सनाखत भएको छ । दुर्घटनामा परी बसमा सवार ७ पुरुष र ५ महिला गरी १२ जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुंगातर्फ आउँदै गरेका बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस रामेछापको मन्थली नगरपालिका-६ स्थित बेनीघाट पुलनजिक मंगलबर बिहान १०:४० बजे दुर्घटनामा परेको हो । बस सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो ।
बसचालकसहित २० जनाको उद्धार गरी सदरमुकाम मन्थली र सिन्धुलीको खुर्काटस्थित शुभ जीवन हस्पिटल पठाइएकोमा मन्थली अस्पताल लगिएका १२ जनालाई अस्पताले मृत घोषणा गरेको प्रहरी निरीक्षक तिम्सिनाले बताए ।
प्रहरीका अनुसार दुर्घटनामा लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङका ४ जनाले ज्यान गुमाएका छन् । उक्त वडाका भीमबहादुर तामाङ र उनकी श्रीमती ३५ वर्षकी सानुमाया तामाङ, ३१ वर्षकी तारा तामाङ र ताराकी भाइबुहारी रमिता तामाङको मृत्यु भएको छ ।
परिवारजनका अनुसार तारा र रमितका साथमा उनीहरूका एक/एक जना छोरा पनि थिए । उनीहरूको साथमा रहेका दुई बालकको अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।
त्यसैगरी दोलखा भीमेश्वर नगरपालिका-७ बस्ने बबि तामाङ, भीमेश्वर नगरपालिका-८ बस्ने मानबहादुर तामाङ, रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ का दीपेश बस्नेत, सोही वडाका दीपेन्द्र बस्नेतको ज्यान गएको छ । त्यस्तै सिन्धुली गोलन्जोर गाउँपालिका-६ बस्ने शिव श्रेष्ठको सनाखत भएको छ । अन्य मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ५ पुरुष र ३ महिला गरी ८ जना घाइते भएका छन्। घाइतेमध्ये बसचालक रामेछाप मन्थली नगरपालिका-११ का सुशान्त थापा मगरलाई उपचारपश्चात् प्रहरीको नियन्त्रणमा राखेको छ ।
त्यसैगरी रामेछाप खाँडादेवी गाउँपालिका-३ का समीर श्रेष्ठ, ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-२ बस्ने जयबहादुर तामाङ, दोलखा भीमेश्वर नगरपालिका-७ की नीलिमा तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका-७ की निष्मा शेर्पा, सोही ठाउँ बस्ने सोम टेण्डी शेर्पा, रामेछाप मन्थली नगरपालिका-१२ बस्ने देवकी खड्का र रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने ओलकबहादुर थापा घाइते भएका छन्।
घाइतेहरूमध्ये ७ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने एक जनाको मन्थली अस्पतालमै उपचार प्रहरीले जनाएको छ । दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्य गरिएको थियो।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताउँदै प्रहरी निरीक्षक तिम्सिनाले मृतकका परिवारले मृतकसँग बालकहरू रहेको बताएकाले दुर्घटनास्थल तामाकोशीमा गोताखोरसहित खोजीकार्य अझै जारी रहेको बताए ।
