दिनहुँ कैलालीको गौरीफन्टा नाकाबाट करिब चार सय र कञ्चनपुरको गड्डाचौकीबाट डेढ सय नेपाली भारततर्फ
What you should know
धनगढी — निर्वाचनले गाउँसहरमा चहलपहल बढेको छ, उम्मेदवार मतदाता रिझाउन घरदैलोमा जुटेका छन् । तर निर्वाचनको मुखमा काम खोज्न भारत पस्नेको सीमा नाकामा लर्को देखिन्छ ।
बर्दिया गेरुवा गाउँपालिकाका सुशील चौधरी कञ्चनपुरको गड्डाचौकी नाकामा भेटिए । उनको समूहमा ६ युवा थिए । उनीहरू भारत हिमाचल प्रदेशस्थित मण्डी जान लागेका थिए । ‘भोट हालेर जाने मन थियो, तर साथीभाइ सबै जान लागे,’ सुशीलले भने, ‘यतिबेला भारत नपुगे काम नपाउने समस्या हुन्छ ।’
मण्डीमा पुल निर्माणमा मजदुरी गर्दै आएका उनीहरूको समूह पुस तेस्रो साता माघी पर्व मनाउन घर फर्केको थियो । ‘माघी सकिएको पनि धेरै भइसक्यो, अब चुनावको भन्दा कमाइको चिन्ता भयो,’ उनले भने । आर्थिक अवस्था कमजोर भएका कारण रोजगारी गर्न बर्सेनि भारत जानुपर्ने बाध्यता रहेको उनले सुनाए ।
सोही समूहका २६ वर्षीय सुभाष चौधरी भन्छन्, ‘हाम्रै वडाको ढुकनिया र शान्तिपुरका डेढ सय जना बढी उतै मण्डीमा छन्, हामी मात्र माघीमा घर आएका हौं ।’ घरमा बस्दा बेरोजगार हुनुपर्ने तर भारत गए दैनिक ५ देखि ७ सय भारु ज्याला पाइने उनले बताए । ‘चुनावलाई आउँदैनौं, अब धान रोप्ने बेला मात्र घर फर्कने हो,’ सुभाषले भने ।
चुनावका बेला भोट हाल्ने मन भए पनि बाध्यताले भारत जानुपरेको बर्दिया गेरुवा–४ का सोहनलाल चौधरी बताउँछन् । ‘नेता ठीक भएनन्, खोइ अहिलेसम्म केही गरेनन्,’ उनले भने, ‘आफ्नै देशमा रोजगारी पाए खाडी र भारत पस्नुपर्ने थिएन ।’ उनले परदेशमा निकै हप्कीदप्की सहेर काम गर्नुपर्ने अवस्था भए पनि घर खर्च जुटाउनकै लागि जानुपरेको बताए ।
कैलाली र कञ्चनपुरको सीमा नाकामा सशस्त्र प्रहरीले भारततर्फ आउजाउ गर्नेमध्ये रोजगारीका लागि जाने कामदारको विवरण राख्ने गरेको छ । गड्डाचौकी नाकास्थित सशस्त्र प्रहरी चेकपोस्टका अनुसार गत साता मात्र कामको खोजीमा दैनिक १ सय ६० सम्म नेपाली भारतका विभिन्न सहर गएका छन् । अधिकांश दिल्ली, पञ्जाब, बेंगलुरु, मुम्बई, हिमाचल र उत्तराखण्डका सहर गएका छन् । तीमध्ये धेरैजसो केही महिनाको पटके कामका लागि गएका हुन् ।
कैलालीको त्रिनगर नाका भएर रोजगारी खोज्दै भारत पस्नेको संख्या गड्डाचौकीको भन्दा बढी छ । त्रिनगरस्थित सशस्त्र प्रहरी चेक पोस्टका अनुसार गौरीफन्टा नाका भएर दैनिक ३–४ सय नेपाली कामको खोजीमा भारत पसिरहेका छन् ।
कामको खोजीमा भारत जाने युवाको संख्या बढ्दै गएको गौरीफन्टा नाकानजिक रहेको शान्ति पुनःस्थापना गृहकी परामर्शदाता दीपा विष्टले बताइन् । ‘सोधपुछ गर्दा उतै कामकाज गर्ने बताउँछन्, कतिपयले नातेदारले बोलाएको भन्छन्, धेरै युवायुवती भारतका ठूला सहरतिर जाने गरेका छन्,’ उनले भनिन् ।
