आगामी निर्वाचनबाट सही नेतृत्व उदय हुने आशामा छौं : निर्वाण चौधरी

जेन-जी प्रदर्शनका क्रममा पहिलोपटक निजी क्षेत्रका व्यक्तिमाथि ठूलो आक्रमण भएको निर्वाण चौधरीको भनाइ थियो ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

We are hopeful that the right leadership will emerge from the upcoming elections: Nirwan Chaudhary

काठमाडौँ — प्रतिनिधिसभाको आगामी निर्वाचनबाट निजी क्षेत्रका लागि सही नेतृत्व उदय हुने अपेक्षा रहेको सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताएका छन् ।

कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणको पहिलो दिनको अन्तिम सत्र 'अर्थतन्त्रको पुनरुत्थान, विश्वासको पुनःस्थापना' मा चौधरीले निर्वाचन पछि आउने नेतृत्वले निजी क्षेत्रका लागि समान रुपमा लगानीको अवसर प्राप्त हुने अपेक्षा रहेको बताएका हुन् ।

'आगामी निर्वाचनबाट सही किसिमको नेतृत्व उदय हुने आशामा छौँ । जसले साँच्चिकै समान खेल मैदान र पारदर्शी तथा निष्पक्ष अवसर प्रदान गर्नेछ, ताकि सही लगानी गर्न सकियोस्,' उनले भने । नेपालमा वैदेशिक लगानीका लागि विश्वका ठूला कम्पनीलाई ल्याउन नीतिगत र निर्णयगत रुपमा समस्या रहेको चौधरीको भनाइ थियो । 

विमानस्थल सञ्चालन, टेलिकम, जलविद्युत्‌का क्षेत्रका वैदेशीक सहलगानीकर्ता ल्याउन खोज्दा समस्या भोगेको कुरा चौधरीले स्मरण गरे । 

त्यस्तै, भदौ २३ र २४ को जेन-जी प्रदर्शनमा निजी क्षेत्रले व्यक्तिगत आक्रमण भोगेको चौधरीको भनाइ थियो । 'हामीले पछिल्ला २५ वर्षमा सबै कुरा देखेका छौँ- कर्फ्यु, आगजनी । यो पटक भने धेरै व्यक्तिगत बन्यो, किनकि पहिलोपटक निजी क्षेत्र र निजी सम्पत्तिमाथि प्रत्यक्ष रूपमा आक्रमण भयो,' उनले भने । उक्त आक्रमणले व्यक्तिगत रूपमा ठूलो आघात र तनावको अवस्था सिर्जना भएको उनले बताए । त्यसपछि पनि छिटो पुनःनिर्माणमा लागेको उनको भनाइ थियो ।  

कान्तिपुर

Link copied successfully