'परिवर्तन स्वाभाविक हो । परिवर्तन खोजिराख्नु पर्दैन । खोज्नुपर्ने कुराचाहिँ परिवर्तनको गति र दिशा कता छ भन्ने हो ।'
What you should know
काठमाडौँ — राजनीतिक विश्लेषक सीके लालले संविधान र कानुनअनुसार राज्य सञ्चालन हुनुपर्ने भए पनि शक्तिको बलमा शासन चलाउने सिद्धान्त नेपालमा रहेको बताएका छन् ।
कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणमा सोमबार 'नेपाली क्रान्तिको यात्रा : विगतको विवेचना, आगतको आकलन' सत्रमा विश्लेषक लालले पृथ्वीनारायण शाह र जंगबहादुर राणाले गरेको अभ्यास अहिले पनि कायमै रहेको बताए । 'पृथ्वीनारायण शाहको समय १८ औँ शताब्दीको अन्ततिर काठमाडौं विजयपश्चात् शक्ति हुनेले आफूअनुकूलको सत्ता चलाउन पाउँछ भन्ने मान्यता स्थापति भयो । त्यो मान्यता नेपालबाट अहिलेसम्म पनि गएको छैन,' लालले भने, 'शक्ति जसको छ, त्यसलाई बलियो बनाइदिए जंगबहादुरले मध्य १९ औँ शताब्दितिर । यो शक्तिको सिद्धान्त बलियो भएर हाम्रो इतिहासले हाम्रो मानसिकता निर्माण गरेको छ, जसलाई इतिहासविद्हरूले महान् व्यक्तिहरूको कथाको रूपमा भन्छन् । त्यसबाट अझै पनि निस्किन सकेका छैनौं ।'
सुगौली सन्धिपछि नेपाल संविधान र नियम कानुनअनुसार चल्ने अपेक्षा रहे पनि जंगबहादुर राणाले त्यसो हुन नदिएको लालको विश्लेषण छ । 'सुगौली सन्धिपछि अब त नियमअनुसार चल्ला भनेको, जंगबहादुरले स्थापित गरिदिए कि होइन पृथ्वीनारायण शाहको बन्दुकको संगिनको नोकले कोरिएको भूगोलको रेखामा तरबारको धारले शासनसत्ता हत्याउनेले जंगबहादुरले शक्ति भनेको जे हो त्यही हो । त्यसैले शासन गर्ने अधिकार निर्धारण गर्छ भन्ने कुरा स्थापित भयो,' उनले भने ।
लालले कुनै पनि नागरिकको मनस्थिति उसको भूगोल, इतिहास, अर्थतन्त्र तथा उत्पादन प्रणाली र संस्कृतिबाट निर्धारण हुने बताए । 'परिवर्तन स्वाभाविक हो । परिवर्तन खोजिराख्नु पर्दैन । खोज्नुपर्ने कुरा चाहिँ परिवर्तनको गति र दिशा कता छ भन्ने हो,' उनले भने ।
