सचेत समाजको आधार नै सही सूचना, बहस र संवाद : अध्यक्ष सिरोहिया

कान्तिपुर कन्क्लेभ कुनै औपचारिक सम्मेलन मात्र नभई वर्तमान अनिश्चिततालाई प्रस्टतातर्फ र सामूहिक समाधानतर्फ लैजाने राष्ट्रिय पहल भएको उनले स्पष्ट पारे ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Accurate information, debate and dialogue are the basis of an informed society: Chairman Sirohiya

What you should know

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सचेत समाजको आधार भनेकै सही सूचना, बहस र संवाद भएको बताएका छन् । कान्तिपुर कन्क्लेभको पाँचौं संस्करणको पहिलो दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूहरूले समाचार र विचारको दैनिक अभ्याससँगै राष्ट्रिय महत्त्वका मुद्दामा केन्द्रित रहेर बहस र संवादका मञ्चलाई समेत निरन्तर अगाडि बढाइरहेको बताए ।

'कान्तिपुर कन्क्लेभको विशेषता नै यसले नेपाललाई केन्द्रमा राखेर राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारलाई एउटै मञ्चमा ल्याउनु हो । हामी साझा सरोकारका मुद्दामा सर्वपक्षीय सार्वजनिक बहस हुनुपर्छ भन्ने मान्यता राख्छौं,' उनले भने, 'पाँचौं संस्करणसम्म आइपुग्नु निरन्तरता, भरोसा, सहभागिता र सहकार्यको परिणाम हो ।'

नेपाल लामो समयदेखि शासकीय अस्थिरता, संस्थागत कमजोरी, विश्वासको संकट र अर्थतन्त्रको दबाबसँग जुध्दै आएको भन्दै अध्यक्ष सिरोहियाले त्यससँगै नेपाली समाजभित्र नयाँ चेतनासमेत विस्तार भएको बताए । 'पछिल्ला समयका आन्दोलन, असन्तोष र नागरिक आवाजले राज्य र राजनीतिक नेतृत्वलाई अब कता, कसरी र कसको नेतृत्वमा भनेर नयाँ किसिमका प्रश्नहरू सोधिरहेका छन्,' उनले भने ।

गाउँबस्तीदेखि सहरसम्म, युवा पुस्तादेखि पाका नागरिकसम्म, सडकदेखि डिजिटल मञ्चसम्म प्रश्न चर्का देखिए पनि तिनका जवाफ खोक्रा देखिएको उनले बताए । धाराप्रवाह भाषण, चर्का नारा र आकर्षक आश्वासनले नागरिकको आकांक्षालाई सम्बोधन गर्न नसकिने उनको भनाइ थियो । 'आजको आवश्यकता शान्त, तथ्यमा आधारित, इमानदार र परिणाममुखी राष्ट्रिय संवाद हो । त्यही प्रयोजनका लागि ‘कान्तिपुर कन्क्लेभ’लाई सार्थक मञ्च बनाउने हाम्रो संकल्प छ,' उनले भने ।

कान्तिपुर कन्क्लेभ कुनै औपचारिक सम्मेलन मात्र नभई वर्तमान अनिश्चिततालाई प्रस्टतातर्फ र सामूहिक समाधानतर्फ लैजाने राष्ट्रिय पहल भएको उनले स्पष्ट पारे । 'राजनीति, सुशासन, अर्थतन्त्र, संघीयताको कार्यान्वयन, सूचना/अल्गोरिदमको प्रभाव, नागरिक आवाजको बदलिँदो स्वरूप र क्षेत्रीय–अन्तर्राष्ट्रिय भू–राजनीतिक परिवेशमाथि खुलस्त बहस गर्नेछौं,' उनले भने ।

Accurate information, debate and dialogue are the basis of an informed society: Chairman Sirohiya

दुई दिनको संवादबाट राजनीतिक स्थिरता कसरी सम्भव हुन्छ, सुशासनलाई नाराबाट अभ्यासमा कसरी बदल्ने, अर्थतन्त्र र रोजगार, नागरिकले हरेक दिन भोग्ने वास्तविकतालाई कसरी पुनःउत्थान गर्ने विषयमा ठोस निर्षकर्ष निकाल्ने अध्यक्ष सिरोहियाले बताए । संघीयतालाई सेवा–प्रवाह र प्रभावकारिताको साधन कसरी बनाउने, डिजिटल सार्वजनिक मञ्चलाई जिम्मेवार बनाउने उपाय के हो,  राज्य-नागरिकबीच, नीति-व्यवहारबीच, घोषणा-कार्यान्वयनबीच विश्वास कसरी पुनर्स्थापित गर्ने विषयमा गहन संवाद हुने उनले जानकारी गराए ।

राजनीतिक अस्थिरता, कमजोर संस्थागत संरचना र बढ्दो जनअसन्तोषबीच मुलुकको मार्गचित्रबारे बहस गर्ने उद्देश्यसहित ‘कान्तिपुर कन्क्लेभ–२०२६’ सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने कन्क्लेभमा देशभित्र र बाहिरका बौद्धिक, राजनीतिक र नीतिगत क्षेत्रका व्यक्ति भेला भएर समसामयिक सवाल र सम्भावनामाथि संवाद गर्नेछन् ।

Accurate information, debate and dialogue are the basis of an informed society: Chairman Sirohiya

नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता शिरिन एबादीले मुख्य मन्तव्य दिँदै लोकतन्त्र, नागरिक स्वतन्त्रता र न्यायको अवस्थामाथि अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्नेछिन् । कन्क्लेभमा नेपालसहित विभिन्न मुलुकका ५३ वक्ता सहभागी छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully