उदयपुर–१ र सुनसरी–४ निर्वाचन क्षेत्र अन्तर्गत रहेको श्रीलंका टापुमा यसपटक अहिलेसम्म कोही पनि उम्मेदवार भोट माग्न पुगेका छैनन् ।
What you should know
उदयपुर — बेलका नगरपालिका–२ बानडाँडास्थित गिदेरी खोलाको झोलुङ्गे पुल तरेपछि श्रीलंका टापु पुगिन्छ । पुलनजिकै बाँसका भाटा र खपटाको छानो भएको तेत्रु राजवंशीको घर छ । तेत्रु यहाँका रैथाने बासिन्दा होइनन् ।
सुनसरीको प्रकाशपुरबाट यहाँ आएका हुन् । ‘दिनभर करेसाबारीमा व्यस्त भइन्छ, तरकारी गोडमेल गरेर घर जान्छु,’ उनले भने, ‘रातिमा हात्ती आएर बाली सखाप पारिदिन्छ ।’ हात्तीले बालीनाली स्वाहा पार्ने मात्र होइन, घर नै भत्काउँछ । स्थानीयसित जम्काभेट भइहाले ज्यानै समेत लिने गरेको उनले बताए । ‘हात्तीको डरले आनन्दसित सुत्न पाइदैन,’ उनले भने ।
स्थानीयका अनुसार हिउँदमा हात्तीले धेरै सताउँछ । बर्खामा कोशी उर्लिएर घेराबन्दी गर्छ । राजवंशीका अनुसार गिदेरी खोलामा पानीको वहाव बढेपछि झोलुंगे पुलबाट वारपार गर्न सकिँदैन । जसले गर्दा स्थानीय बासिन्दा टापुमै थुनिन्छन् । त्यसैले वर्षायाम सुरु हुनुअघि नै स्थानीयले आवश्यक खाद्यान्न, नुन, तेललगायतका सामग्री खरिद गरेर राख्छन् ।
श्रीलंका टापुस्थित रामनगरका सुरज महतोका अनुसार प्रसूतिका लागि गर्भवतीलाई स्वास्थ्य संस्था पुर्याउने सम्भावना पनि हुँदैन । ‘गर्भवतीले घरमै बच्चा जन्माउँछन्,’ उनले भने, ‘गाउँकै सुडेनीको भर पर्नुपर्छ ।’ स्वास्थ्य चौकी नजिक छैन । गिदेरी खोला तरेर पनि तीन किलोमिटर टाढा भागलपुर पुग्नुपर्छ ।
हिउँदमा जसोतसो स्वास्थ्य चौकी पुगे पनि वर्षामा सम्भव हुँदैन । ‘हिउँदमा खेतिपातीका जमिनमूनिबाट पानी तान्न गाउँले मिलेर मोटर जडान गरेका छौं । तर, मोटर चल्ने बिजुलीको लाइन आउँदैन,’ उनले भने । बिजलुीको समस्या सामाधान गर्न नगरपालिका प्रमुख अशोक कार्की र वडाध्यक्ष प्रेम दाहालसित पटकपटक अनुरोध गरे पनि समाधान नभएको उनको भनाइ छ । ‘बत्ती बाल्न मिल्ने लाइन आउँछ,’ महतोले भने, ‘न मिल चलाउन मिल्छ, न मोटर चलाउन, अनि कसरी खेतीपाती गर्नू ?’
टापुमा ५ कक्षासम्म पढाइ हुने रामजानकी आधारभूत विद्यालय छ । त्यहाँ विद्यार्थी अभाव छ । विद्यालय परिसरमा स्थानीय गाईभैंसी चराउँछन् । बेलका–२ स्थित भागलपुर मावि पुग्न बालबालिकालाई १ घण्टा लाग्छ। खेतिपातीमा व्यस्त हुने यहाँका बासिन्दाले छोराछोरीलाई पनि खेतबारीकै काममा लगाउने गरेको रामनगरका बिजय महतो बताउँछन् ।
टापुमा टेलिफोन समेत राम्रोसँग टिप्दैन । जसले गर्दा सहज सम्पर्क हुँदैन । बस्तीमा खानेपानीको एकमात्र विकल्प चापाकल हो । हिउँदमा चापाकल सुक्ने समस्याले स्थानीय आजित छन् । खानेपानीको वैकल्पिक व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । उदयपुर, सुनसरी, मोरङ, सप्तरीलगायत जिल्लाबाट बसाइँ सरेर आएका बासिन्दाको अस्थायी बसोबास छ । खेतिपाती उनीहरुको मुख्य पेशा हो ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लास्थित दल र उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । तर, टापुका बासिन्दालाई भने चुनावले छोएको छैन । यहाँका बासिन्दालाई निर्वाचनका बारेमा कुरा गर्ने फुर्सद पनि छैन । स्थानीय सरोज मल्लिक पनि खेतबारीमै व्यस्त हुन्छन् । बारीमा आलु, टमाटर, गाजर, मुला, साग, बन्दा, काउली जस्ता तरकारी लगाएका छन् ।
तरकारी गोडमेल, मल, पानी पटाउने र उत्पादन भएका तरकारी बजारसम्म लगेर बिक्री गर्दै उनको दिन बित्छ । ‘दिनभरी बारीमै व्यस्त हुन्छौं,’ उनले भने, ‘भाषण सुन्न जाने फुर्सद पनि हुँदैन ।’ दिनभरी खेतबारीको काम सकेपछि रातिमा हात्तीको आतंक सुरु हुने उनले बताए । ‘राम्ररी सुत्न समेत पाइदैन, नेतालाई समस्या सुनाएर के गर्नु ? समाधान गरिदिने होइनन्,’ उनले भने, ‘जे पर्छ आफैले सामाना गर्नुपर्छ ।’ यसअघि पनि चुनावका बेला नेताहरु भोट माग्न बस्तीसम्मै आउँथे । आएका बेला समस्या समाधान गरिने बचन दिन्थे । चुनाव सकिएपछि नेताहरुले यहाँका बासिन्दा र उनीहरुका पीडा भुल्ने गरेको उनले बताए ।
उदयपुर–१ र सुनसरी–४ निर्वाचन क्षेत्र अन्तर्गत रहेको श्रीलंका टापुमा यसपटक अहिलेसम्म कोही पनि उम्मेदवार भोट माग्न पुगेका छैनन् । टापुमा बेलका नगरपालिका–२ र ९ वडा पर्छन् । सुनसरीतर्फ बराहा नगरपालिका–६, ७ र ९ नम्बर वडा रहेका छन् ।
२ हजार भन्दा बढी घरधुरी बसोबास रहेको बेलका–२ का वडाध्यक्ष दाहालले बताए । उनका अनुसार रामनगर क्षेत्रमा ३ सय जनाको मात्र मतदाता परिचयपत्र छ । उनीहरु मतदान गर्न बेलका–२ स्थित सप्तकोशी मावि मतदान स्थलमा आउनुपर्ने वडाध्यक्ष दाहालले बताए ।
