'फेक रेस्क्यु' प्रकरणमा पक्राउ परे सिद्धी अस्पतालका सञ्चालक 

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गरिमामा आँच आउने कार्य गरे/गराएको भन्दै राष्ट्रहित प्रतिकूलको काम गर्न नहुने समेतका कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

Siddhi Hospital operator arrested in 'fake rescue' case

What you should know

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेक रेस्क्यु प्रकरणमा थप एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धी इन्टरनेसनल हस्पिटल प्रालिका सञ्चालक डाक्टर गिर्वाणराज तिमिल्सिना छन् । 

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गरिमामा आँच आउने कार्य गरे/गराएको भन्दै राष्ट्रहित प्रतिकूलको काम गर्न नहुने समेतका कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । यसअघि बिमा रकम हत्याउन गरिएको नक्कली उद्धार उडानमा सीआईबीले उद्धार कम्पनी माउन्टेन रेस्क्युका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रवीन्द्र अधिकारी, अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एन्ड एसिट्यान्सका कार्यकारी निर्देशक मुक्ति पाण्डे र म्यानेजर सुभास केसीलाई पक्राउ गरेको थियो ।  

माउन्टेन रेस्क्यु सर्भिस प्रालिबाट उद्धार भएका १२ सय ४८ मध्ये १ सय ७१ जना, नेपाल चार्टर्ड सर्भिसबाट ४ सय ७१ मध्ये ७५ जना र एभरेस्ट एक्सपिरियन्सबाट ६ सय १ मध्ये ७१ जना पर्यटकको शंकास्पद उद्धार गरिएको प्रारम्भिक जाँचमा देखिएको सीआईबीको भनाइ छ । ‘एउटा क्षेत्रका लागि अनुमति लिएर अर्कै ठाउँबाट उद्धार गरिएको विवरण पेस, नक्कली कागजात, दुई/तीन जनाको एकै पटक उद्धार गरेर फरकफरक उद्धारको बिल बनाउने जस्ता काम गरेर यो अपराध भएको देखिन्छ,’ सीआईबी प्रमुख मनोज केसीले भने, ‘बिमा भुक्तानी गर्ने कम्पनीले प्रश्न उठाउँदै पठाएका इमेलसमेत प्राप्त भएका छन् ।’ 

प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि पत्रकार सम्मेलन गरेर यो प्रकरणमा जोडिएका हेलिकोप्टर सञ्चालक र अस्पतालबारे छानबिन भइरहेको बताएको थियो । 

एआईजी केसीका अनुसार, यो अनुसन्धान अघि बढाउन प्रहरीले ६ वर्ष पहिले तत्कालीन सहसचिव घनश्याम उपाध्याय नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदनलाई समेत आधार बनाएको थियो । उपाध्याय समितिले संगठित अपराध तथा ठगीको कसुरमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गर्नुपर्ने भन्दै प्रतिवेदन बुझाएको थियो । त्यो सुझाव गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगे पनि अनुसन्धान अघि बढ्न सकेको थिएन । 

त्यो प्रतिवेदनमा पर्यटकलाई नियोजित रूपमा बिरामी गराउन खानेकुरामा मिसावट गराई उद्धार गरेर काठमाडौं ल्याउने गरिएको खुलाइएको थियो । त्यसपछि अस्पताल भर्ना गराएर संगठित तवरले बिमा रकम दाबी गर्ने, एउटै उडानमा धेरै पर्यटकलाई ल्याएर अलगअलग मान्छेको नाममा बेग्लै बिल जारी गरेको उल्लेख थियो ।

कान्तिपुर

Link copied successfully