नयाँ विनियमावलीको विनियम १२ अनुसार राससका तह ५, ७ र ९ का पदहरूमा यसअघि रहँदै आएको खुला तथा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हटाइएको छ ।
What you should know
काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) मा लागू गरिएको सेवा सर्त विनियमावली, २०८२ ले पदपूर्ति प्रक्रियामा कार्यसम्पादन मूल्यांकनलाई मात्र आधार बनाउँदा संस्थागत मेरिट प्रणाली कमजोर हुने र योग्यतम व्यक्तिका लागि अवसर खुम्च्याइएको भन्दै कर्मचारीहरूले विरोध जनाएका छन् ।
नयाँ विनियमावलीको विनियम १२ अनुसार राससका तह ५, ७ र ९ का पदहरूमा यसअघि रहँदै आएको खुला तथा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हटाइएको छ । ती पदहरूमा अब कार्यसम्पादन मूल्याङ्कनमार्फत मात्र पदपूर्ति गरिने व्यवस्था गरिएको छ, जसका कारण कर्मचारी वृत्तमा असन्तुष्टि देखिएको छ ।
यसअघि लागू रहेको राष्ट्रिय समाचार समिति (कर्मचारी सेवा, शर्त) विनियमावली, २०५६ ले पदपूर्ति प्रणालीलाई खुला प्रतियोगिता, आन्तरिक प्रतियोगिता र कार्यसम्पादन मूल्याङ्कनको सन्तुलित संरचनामा आधारित बनाएको थियो । तर नयाँ विनियमावलीले प्रतिस्पर्धाको यही आधारभूत प्रणाली हटाएर पदपूर्तिलाई पूर्ण रूपमा मूल्याङ्कन–केन्द्रित बनाएको छ । विनियमावलीले खुला प्रतिस्पर्धा हटाउँदा संस्थामा उत्कृष्ट क्षमता भएका ‘योग्य व्यक्तिहरू’को प्रवेश र वृत्तिविकास सीमित हुने जोखिम देखिएको कर्मचारीहरूले बताएका छन् ।
सरोकारवाला कर्मचारीहरूले रासस व्यवस्थापन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र लोक सेवा आयोगसँग विनियम १२ पुनरावलोकन गरी सार्वजनिक सेवाका स्थापित मान्यता, संविधानको समान अवसरको मर्म तथा निजामती सेवासागको समरूपता कायम गर्नुपर्ने माग गर्दै प्रशाासन र सञ्चालक समिति अध्यक्षलाई ध्यानाकर्षण गराएका छन् ।
राससका महाप्रबन्धक सन्दीप राईले कर्मचारी पदपूर्ति संस्थाको सांगठनिक संरचना र लोकसेवा आयोगको परामर्शमा कायम गरिएको बताए । उनले सांगठनिक संरचनाको आधारमा पदपूर्ति गरिने व्यवस्था विनियमावलीमा समेटिएको जानकारी दिए । विनियमावली जारी पश्चात कर्मचारीलाई प्रभाव पर्ने अवस्थामा सञ्चालक समिति बोर्डमा निवेदन दिन सकिने व्यवस्था रहेको उल्लेख गर्दै राईले ती निवेदनमाथि निर्णय गर्ने अधिकार पनि बोर्डलाई रहेको बताए ।
उनले भने ‘विनियमावलीमा कायम भएको कर्मचारी पदपूर्तिमा केहि कर्मचारीहरुमा असन्तुष्टि देखिएको छ । कर्मचारीहरूले बोर्डलाई ध्यानाकर्षण गराएका छन्, प्रक्रिया अनुसार केही समय लिएर बोर्डले यो विषय टुंग्गाउने छ ।’ राईले विनियमावली कर्मचारीको हकहित र वृत्ति विकासलाई ध्यानमा राखेर न्यायोचित रूपमा ल्याइएको दाबी गरे ।
लोकसेवा आयोगका प्रवक्ता पुरुषोत्तम शर्माले संस्थाले सहायक, अधिकृत र उपसचिव तहलाई प्रवेश तहका रूपमा कायम गरेको जानकारी दिए । उनका अनुसार राससमा सहायक तह (चौथो तह)मा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने र पाँचौं तहमा सोही कर्मचारी बढुवा हुने व्यवस्था विनियमावलीमा गरिएको हो ।
त्यसैगरी छैटौं तह (अधिकृत) मा ७० प्रतिशत खुला, २० प्रतिशत कार्यक्षमताको आधारमा र १० प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति हुने व्यवस्था कायम गरिनुमा छैटौं तहलाई अधिकृतको प्रवेश तह मानिएको र सातौं तहमा सोही कर्मचारी बढुवा हुने व्यवस्था गरिएको उनले बताए । आठौं तह (उपसचिव)मा प्रवेश तह का रूपमा खुला प्रतियोगिता मार्फत १० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको शर्माले जानकारी दिए ।
हरेक तहमा खुला तथा आन्तरिक प्रतिस्पर्धाको व्यवस्थाले कर्मचारीको वृत्ति विकास अवरुद्ध हुने र खर्च बढ्ने अवस्था देखिएकाले विभिन्न सांगठनिक संस्थानमा विनियमावली परिमार्जन हुादै आएको उनले जानकारी दिए । उनले भने ‘निजामती सेवामा माथिल्लो तहमा खुला प्रतिस्पर्धाका कारण विकृति देखिएकाले संगठनिक संस्थाहरूमा यसलाई परिमार्जन गर्दै लगिएको छ सोही अनुरूप राससमा पनि परिमार्जन गरी कर्मचारीको दरबन्दी कायम गरिएको हो ।’
