यसअघि पनि मेघालयमा अवैध कोइलाखानीका कारण पटक–पटक ज्यान जाने घटना हुँदै आएका छन् ।
विराटनगर — भारतको मेघालय राज्यको पूर्वी जयन्तिया हिल्स जिल्लामा रहेको अवैध कोइलाखानीमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ। शुक्रबार थप सात जनाको शव फेला परेपछि मृतक संख्या बढेको हो।
बिहीबार भएको विस्फोटपछि सुरु गरिएको खोज तथा उद्धार कार्यका क्रममा यसअघि १८ जनाको शव निकालिएको थियो। राज्य विपद् व्यवस्थापन टोली, राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) र स्थानीय सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन्। अधिकारीहरूका अनुसार अझै केही व्यक्ति बेपत्ता हुन सक्ने आशंकामा खोजी जारी छ।
प्रहरीका अनुसार अवैध ‘र्याट–होल’ कोइला खानीमा विस्फोट भएको हो, जहाँ सुरक्षा मापदण्डको गम्भीर उल्लंघन हुँदै आएको थियो। घटनापछि खानी सञ्चालकसहित केही व्यक्तिलाई पक्राउ गरिएको छ भने विस्फोटको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।
मेघालयका मुख्यमन्त्री कोनराड के संग्माले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कडा कारबाही गरिने बताएका छन्। यसअघि पनि मेघालयमा अवैध कोइला खानीका कारण पटक–पटक ज्यान जाने घटनाहरू हुँदै आएका छन्, जसले मेघालय राज्यमा खानी सुरक्षा र सरकारी निगरानीप्रति गम्भीर प्रश्न उठाएको छ।
