बालबालिकामाथि एआई यौन हिंसा बढेको युनिसेफको निष्कर्ष

बुधबार प्रकाशित ‘डिपफेक अब्युज इज अब्युज’ शीर्षकको वक्तव्यमा युनिसेफले जेनेरेटिभ एआईको तीव्र विकाससँगै बालबालिकामाथिको यौन हिंसा र दुर्व्यवहार बढेको उल्लेख गरेको छ ।

माघ २३, २०८२

सजना बराल

UNICEF finds AI sexual violence against children on the rise

What you should know

काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बालबालिकालाई यौनजन्य रूपमा चित्रण गर्ने सामग्रीको सिर्जना, स्वामित्व र वितरणलाई अपराध घोषणा गर्न संयुक्त राष्ट्रसंघीय बाल संगठन (युनिसेफ) ले विश्वभरका सरकारलाई आह्वान गरेको छ ।

बुधबार प्रकाशित ‘डिपफेक अब्युज इज अब्युज’ शीर्षकको वक्तव्यमा युनिसेफले जेनेरेटिभ एआईको तीव्र विकाससँगै बालबालिकामाथिको यौन हिंसा र दुर्व्यवहार बढेको उल्लेख गरेको छ । वक्तव्यमा त्यसबाट बालबालिकाको संरक्षण अधिकारमा नयाँ जोखिम पैदा भएको उल्लेख छ । 

एआईको दुरुपयोगबाट यस्ता सामग्री तीव्र फैलिरहेको र विद्यमान कानुनहरू नियन्त्रण गर्न असफल हुँदै गएको भन्दै युनिसेफले तत्काल कदम चाल्न आग्रह गरेको हो । युनिसेफ, इन्टरपोल र बाल अधिकार संस्था ‘इसीप्याट’ को अध्ययनमा यौनजन्य ‘डिपफेक’को मारमा परेका ११ देशका कम्तीमा १२ लाख बालबालिकाको अनुभव उल्लेख छ । 

एआईबाट बनाइएको हुँदा तस्बिर वास्तविक नभए पनि त्यसको हानि वास्तविक हुने संस्थाले जनाएको छ । एआईमार्फत बनाइएका यस्ता सामग्रीले गहिरो मानसिक आघात, सामाजिक कलंक र दीर्घकालीन तनाव भोग्नुपर्ने भएकाले यसको असर वास्तविक र गम्भीर हुने स्पष्ट पारेको हो ।

पछिल्लो समय नियमनकारी निकाय र कानुन कार्यान्वयन गर्ने संस्थाहरूले पनि एआई–निर्मित बाल यौन दुरुपयोग कन्टेन्टहरू तीव्र रूपमा वृद्धि भइरहेको बताइरहेका छन् । ब्लुमबर्गले इन्टरनेट सुरक्षा संस्थाहरूलाई उद्धृत गर्दै गरेको विश्लेषणअनुसार २०२५ को पहिलो ६ महिनामै यस्ता ‘सिन्थेटिक’ सामग्री समेटिएका वेबपेजहरू करिब ४ सय प्रतिशतले बढेका छन् ।

विज्ञका अनुसार जेनेरेटिभ एआई प्लाटफर्म र एपहरूले यस्ता अवैध सामग्री बनाउन आवश्यक प्राविधिक अवरोधलाई घटाइदिएका छन् । जसले गर्दा इन्टरनेट चलाउने सामान्य ज्ञान भएका प्रयोगकर्ताले यथार्थ जस्तै देखिने सामग्री उत्पादन र वितरण गर्न सक्छन् ।

एआई प्लाटफर्महरू आफैँ पनि छानबिनमा पर्ने क्रम बढ्दो छ । इलन मस्कको कम्पनी ‘एक्सएआई’ ले विकास गरेको र सामाजिक सञ्जाल एक्ससँग जोडिएको एआई च्याटबट ‘ग्रोक’ प्रयोग गरेर कैयौँले बालबालिकाका यौनजन्य सामग्री सिर्जना गरेको भन्दै विभिन्न युरोपेली देशका अधिकारीहरूले चासो व्यक्त गरेका छन् । रोयटर्सका अनुसार फ्रान्सका मन्त्रीहरूले ग्रोकसँग सम्बन्धित सामग्रीबारे कानुनी रूपमै उजुरी दिएका छन् । अहिले मस्कका कम्पनीहरूमाथि नियामकीय दबाब बढेको छ ।

अस्ट्रेलियाको डिजिटल सुरक्षा आयोगसहित विभिन्न नियामक निकायले ग्रोकसम्बन्धी विवादलाई एआई विकासकर्ताहरूले जोखिम अनुमान गर्न र दुरुपयोग रोक्न असफल भएको उदाहरणका रूपमा व्याख्या गरेका छन् । युरोपेली संघ, बेलायत र अस्ट्रेलियामा बाल संरक्षण तथा अनलाइन सुरक्षा कानुन उल्लंघन भएको हो/होइन भन्ने विषयमा अनुसन्धान चलिरहेको छ । मेटा, गुगल र माइक्रोसफ्टजस्ता कम्पनीहरूले सुरक्षा उपाय बलियो बनाएको दाबी गरे पनि आलोचकका अनुसार कार्यान्वयन अझै अन्योलग्रस्त र प्रतिक्रियात्मक मात्र छ ।

बीबीसीका पत्रकार लिभ म्याकमोहनको समाचारअनुसार गत साता फ्रान्समा प्रहरी अधिकारीहरूले साइबर अपराध अनुसन्धानका क्रममा एक्स र एक्सएआईसँग सम्बन्धित कार्यालयहरूमा छापा मारेका थिए । यसले प्रयोगकर्ता मात्र होइन, प्लाटफर्म र विकासकर्तासमेत कानुनी घेरामा पर्न थालेको संकेत दिएको छ । एक्सले यी कारबाहीहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै आरोप अस्वीकार गरेको छ । यस्तै प्रकारका अनुसन्धान युरोपेली संघका अन्य देशहरूमा पनि जारी छन् ।

सरकारहरूले समस्यासँगै प्रश्न बढ्दै गएपछि खुला रूपमै कानुनी प्रतिक्रिया दिन थालेका छन् । बेलायतले एआई प्रयोग गरी बाल यौन दुरुपयोग सामग्री उत्पादन गर्ने, राख्ने वा वितरण गर्ने कार्यलाई स्पष्ट रूपमा अपराध मानेर कानुनको मस्यौदा तयार गरिरहेको छ ।

अमेरिकामा संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एआई–निर्मित बाल यौनजन्य कन्टेन्ट विद्यमान संघीय कानुनअन्तर्गत नै अवैध हुने स्पष्ट पारेको छ । अमेरिकामा वास्तविक बालबालिकाका तस्बिर प्रयोग गरी बनाइएका एआई सामग्रीसम्बन्धी मुद्दासमेत दायर भएका छन् । टेक्सासलगायत केही अमेरिकी राज्यहरूले ‘सिन्थेटिक’ भए पनि नाबालक चित्रण गर्ने अश्लील सामग्रीलाई अपराध मान्ने कानुन पारित गरिसकेका छन् ।

यस विषयमा अन्तर्राष्ट्रियस्तरमा पनि सहकार्य बढ्दै गएको छ । युरोपेली संघको नियमनकारी निकाय युरोपोलले एआई–निर्मित बाल यौन दुरुपयोग सामग्रीसँग सम्बन्धित व्यापक अपरेसनमा दर्जनौँ पक्राउ परेको जानकारी दिएको छ । तथापि, कानुनी व्यवस्थाहरू विभाजित र क्षेत्राधिकार सीमित भएकाले कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको चेतावनी पनि दिएको छ । 

बाल अधिकारकर्मीहरूका अनुसार यो समस्या प्रविधि नीतिमा मात्र सीमित छैन । युनिसेफ र सुरक्षा विज्ञहरूले एआईमार्फत बनाइने यौनिक सामग्री सामान्यीकरण हुन थालेमा बाल शोषणप्रति सामाजिक संवेदनशीलता घट्ने र संरक्षण जोखिम अझै बढ्ने चेतावनी दिएका छन् ।

संस्थाले उद्धृत गरेका सर्वेक्षणहरूमा धेरै बालबालिकाले एआई प्रयोग गरी आफूहरूको नक्कली यौनजन्य तस्बिर बनाइने डर व्यक्त गरेका छन् । युनिसेफले प्रभावित बालबालिकालाई उपयुक्त सहयोग र सुरक्षा प्रदान गर्न अभिभावक, विद्यालय, सामाजिक सेवा र मानसिक स्वास्थ्य व्यवसायी र कानुन कार्यान्वयन पक्षले निरन्तर सूचना र तालिम पाउनु आवश्यक रहेको सिफारिस गरेको छ ।

यस्तै, संस्थाले बाल अधिकार संरक्षणको दायित्व र पारदर्शिता सुनिश्चित गर्न एआई मोडलहरूमा ‘सेफ्टी बाई डिजाइन’ अर्थात् सुरक्षामा आधारित डिजाइनको सिद्धान्त लागू गर्न एआई प्लाटफर्म निर्माताहरूलाई पनि सिफारिस गरेको छ ।

जेनेरेटिभ एआई टुलहरू शक्तिशाली र सर्वसुलभ बन्दै जाँदा टालटुले उपाय वा छिन्नभिन्न प्रयास पर्याप्त नहुने युनिसेफको निष्कर्ष छ । सरकारहरूले स्पष्ट रूपमा आपराधिक कानुन, कडा सुरक्षा मापदण्ड र पीडितहरूलाई आवश्यक क्षतिपूर्ति तथा पुनःस्थापनाको विकल्प हुने गरी आफ्ना राष्ट्रिय कानुनहरूमा तत्काल सुधार गर्न ढिला गर्न नहुने संस्थाले उल्लेख गरेको छ । यो समस्याले बालबालिकालाई थप असुरक्षित डिजिटल वातावरणमा धकेल्ने खतरा रहेको भन्दै युनिसेफले यसको सामना गर्न ठोस अन्तर्राष्ट्रिय समन्वयका लागि पनि आह्वान गरेको छ ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully