‘कोहीले कसैलाई पनि हराउन सक्छ’

नेपालका कप्तान रोहितकुमार पौडेलले टिमको लक्ष्य भनेकै प्रतियोगिताको सुपर–एट पुग्ने रहेको बताए।

माघ २३, २०८२

हिमेश

'Anyone can beat anyone'

What you should know

मुम्बई — नेपालले पछिल्लो ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई झन्डै झन्डै हराइसकेको थियो । सायद यो कुरा अफ्रिकी कप्तान एडेन मारक्रमलाई भन्दा बढी कसलाई सम्भना होला र ? त्यसैले उनले ठीकै भनेका हुन्, ‘यसपल्टको विश्वकपमा कोहीले कसैलाई पनि हराउन सक्छ ।’

भारत र श्रीलंकामा ट्वान्टी–२० विश्वकप सुरु हुन एक दिन बाँकी छँदा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को मुख्यालयमा ‘क्याप्टेन्स डे’ मनाइयो । त्यसमा भारतमा खेल परेका ११ कप्तान उपस्थित थिए । 

दुई चरणमा भएको कार्यक्रम मुख्यतः तीन विषयमा केन्द्रित रह्यो, एसोसियट देशको बढ्दो सम्भावना, झन् झन् ब्याटरमैत्री भएको ट्वान्टी–२० क्रिकेट अनि पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कारको मुद्दामा केन्द्रित रह्यो । यसपल्टको विश्वकपमा एसोसियट देशको सम्भावनाबारे सोधिएका प्रश्नमा नामिबिया, स्कटल्यान्ड, अमेरिका, इटाली, अमेरिका र क्यानडासँगै नेपालका कप्तानको दाबी थियो, आफ्नो देशको प्रतिनिधित्व गरेर विश्वकप खेल्नु आफैमा ठूलो हो, यो अवसरको भरपुर सदुपयोग गर्नेछौं । 

नेपालका कप्तान रोहितकुमार पौडेलले टिमको लक्ष्य भनेकै प्रतियोगिताको सुपर–एट पुग्ने रहेको बताए । उनले यो विश्वकपमा नेपालको सहभागिताले अबको पुस्तालाई यस खेलसँग जोडिन प्रेरित गर्ने बताएका छन् । कान्तिपुरको प्रश्नमा रोहितले भने, ‘अहिलेको टिममा जति पनि खेलाडी छन्, ती सबै सन् २०१४ मा नेपालले खेलेको पहिलो ट्वान्टी–२० विश्वकपबाट प्रेरित भएर क्रिकेटमा आएका छन् । मलाई के विश्वास छ भने यो विश्वकपमा हाम्रो सहभागिताले अबको पुस्तालाई क्रिकेटमा आफ्नो करियर देख्न सहयोग गर्नेछ ।’ 

यसैक्रममा उनको के माने भने यसका लागि प्रतियोगितामा नेपाली टिमको प्रदर्शन पनि राम्रो हुनुपर्नेछ । उनले प्रतियोगितामा नेपालको सम्भावनाबारे सकारात्मक रहनुपर्ने बताए । उनको तर्क थियो, ‘हामीले वेस्ट इन्डिजलाई हराएका मात्र छैनौं, सिरिज नै जितेका छौं । बंगलादेश र दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि हामी जितको नजिकसम्म पुग्न सकेका थियौं । यो सबै कुराले हामीलाई यसपल्टको विश्वकपमा खेल्न प्रेरित गरिराख्नेछ ।’ 

बलरलाई गाह्रो

यो विश्वकपमा पनि सबैभन्दा गाह्रो कसैलाई हुनेछ, त्यो बलरलाई हुनेछ । किनभने अबदेखि ट्वान्टी–२० क्रिकेटमा नियमित रूपमा तीन सयको स्कोर बन्न सक्नेछ । इंग्लिस कप्तान ह्यारी ब्रुक्सले ट्वान्टी–२० क्रिकेट बढीभन्दा बढी ब्याटरतर्फ ढल्केको स्वीकारे । भारतीय कप्तान सूर्यकुमार यादवले पनि यो तथ्य नकार्न सकेनन् । उनको भनाइ थियो, ‘हाम्रा आफ्नै बलरलाई कति धेरै गाह्रो हुन्छ, त्यो मलाई राम्रोसँग थाहा छ । मलाई बलरप्रति सहानुभूति छ ।’

ब्याटर झन् झन् आक्रामक हुन थालेको, रनको वर्षा हुन थालेको मात्र होइन, बलर स्वयं निराश हुन थालेकोबारे सबैभन्दा सटिक उत्तर अफगानिस्तानका कप्तान राशिद खानको थियो । उनले भने, ‘यदि बलरले २ सय ५० देखि ३ सय रन बन्ने छ भनेर सोच्छ भने त्यो ठीक भएन । यो मानसिकता सबैभन्दा पहिला हटाउनुपर्छ । कम्तीमा म आफैं एउटा बलर भएको नाताले यस्तो सोच्दिनँ । यही बलरले राम्रो बलिङ गर्छ भनेर कसैले केही भन्न सक्दैन ।’

राशिदले थपे, ‘यही कसैले योर्कर बलिङ गर्छ भने त्यसमा छक्का प्रहार गर्न सकिन्न । यही कसैले ठीक स्थानमा सटिक बलिङ गर्छ भने त्यसमा कसैले सजिलै चौका प्रहार गर्न सक्दैन । ट्वान्टी–२० क्रिकेटमा ठुल्ठूला स्कोर मात्र बनेका छैनन्, कमजोर स्कोर पनि तयार भएका छन् । यो बलरकै कारण हो । बलरले जितको मानसिकताले खेल्नुपर्छ, त्यो भयो भने हुन्छ ।’

वेस्ट इन्डिजका कप्तान साइ होपको भनाइ भने यसमा केही फरक रह्यो । उनले भने, ‘एउटा ब्याटरको रूपमा हाम्रो लक्ष्य नै रहनेछ, तीन सयभन्दा बढीको रन बनाउने । क्रिकेट समय अनुसार फेरिएको छ । क्रिकेट खेल्ने ढंग फेरिएको छ । अहिले ट्वान्टी–२० क्रिकेटमा धेरै परिवर्तन आएको छ । कुनै टिमले यसै अनुसार तयारी गर्नुपर्छ । हामीले पनि त्यसरी नै तयारी गर्ने हो ।’

‘हामीले केही पनि गर्न सक्दैनौं’
भारतीय कप्तान सूर्यकुमार यादवका लागि जति प्रश्न सोधिएका थिए, त्यसमध्ये अधिकांश भारतविरुद्धको खेलमा पाकिस्तानको सम्भावित अनुपस्थिति नै रह्यो । पाकिस्तानी क्रिकेट बोर्डले अहिलेसम्म भारतविरुद्धको खेल बहिष्कार गर्ने भनेको छैन । सूर्यकुमारलाई के विश्वास लाग्छ भने सायद पाकिस्तान श्रीलंकाको कोलम्बोमा हुने त्यस खेलमा सहभागाी हुन आउने छ । तर यति भन्दाभन्दै पाकिस्तान खेल्न आएन भने भारतीय खेलाडीले गर्न सक्ने केही होइन । 

सूर्यकुमारले भने, ‘हामी यो खेलका लागि कोलम्बो जाने छौं । खेलका लागि अभ्यास पनि गरेका छौं । हाम्रो कोलम्बो जाने टिकट आइसकेको छ । तर, पाकिस्तान यो खेलका लागि आउने छैन भने हामीले गर्न सक्ने केही छैन । अहिले हामी तटस्थ भूमिमै खेल्दैछौं । मलाई लाग्छ, आईसीसीले पनि आफूले सक्दो काम गरिरहेको छ । हामी भने पाकिस्तानविरुद्ध खेल्न तयार छौं । कुरा त्यही हो, यो सबै सम्भावना पाकिस्तानी सरकारको निर्णयमै टिकेको छ । फेरि यो सजिलै सुल्झाउन सकिने काम पनि होइन ।’

हिमेश

Link copied successfully