जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ हवल्दारमाथि आक्रमण गरेपछि प्रेमलाई गोली चलाएर नियन्त्रणमा लिगेका हौं ।
What you should know
काठमाडौँ — बाँके घर भएका ३४ वर्षीय प्रेम थारु कहिले आफूलाई विकास, कहिले सौरभ त कहिले ‘सुप्रिम थारु’ भनेर परिचय दिन्थे । नाम फेरिरहने थारुले आफ्नो मुख्य पेसा चोरी भने कारागारमा सजाय भोग्दा समेत फेरेनन् ।
दिउँसोको समयमा घरमा कोही नभएको मौका छोपेर झ्याल ढोका फोड्ने औजार प्रयोग गरी भित्र प्रवेश गर्ने र नगद तथा सुनचाँदीका गरगहना चोरी गर्ने उनको दैनिकी थियो । उनै थारु शुक्रबार राति भने प्रहरीको फेलामा परे । ‘काठमाडौंमा चोरीको घटना बढेपछि हामीले शंकास्पद व्यक्तिको चेकजाँच गरिरहेका थियौं । सोही क्रममा शुक्रबार राति करिब ११:१५ बजे काठमाडौं महानगरपालिका–६ पुरी गाउँमा चेकिङको क्रममा थारु पक्राउ परेका हुन्,’ जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले भने,‘ड्युटीमा खटिएका स्वयम्भूका प्रहरी वरिष्ठ हवल्दारमाथि आक्रमण गरेपछि गोली चलाएर नियन्त्रणमा लिगेका हौं ।’ खुट्टामा गोली लागेर घाइते भएका थारुको हाल उपचार भइरहेको छ ।
मंसिरदेखि माघसम्म नौ घरबाट उनले ८८ तोला सुन, ९९ तोला चाँदी र दुई तोला हिरा चोरेको भन्दै प्रहरीमा उजुरी परेको छ । साथै, थारुले ५५ सय अमेरिकी डलर, ७३ सय भारतीय रुपैयाँ, एक हजार यूरो र १५० अस्ट्रेलियन डलर चोरी गरेका थिए । गरगहनासहित विदेशी मुद्राको हिसाब गर्दा तीन करोड ६ लाख १४ हजार दुई सय रुपैयाँ देखिएको एसपी भट्टराईले बताए । बरामद सामान सनाखतका लागि पहिचानको लागि प्रर्दशनमा राखिने प्रहरीले जानकारी दिएको छ ।
थारु केन्द्रीय कारागारबाट प्यारोलमा थुनामुक्त भएका थिए । प्यारोल भनेको दुई तिहाइ अवधि भुक्तान गरिसकेपछि राम्रो आचरण भएकालाई घरमै कैद भुक्तानको सुविधा दिने व्यवस्था हो । उनी ५ पुस र २९ मंसिर ०७९ मा चोरी मुद्दामा पक्राउ परेका थिए । सोही मुद्दामा उनलाई पुर्पक्षमा जेल चलान गरिएको थियो । उनी २५ जेठ २०८२ मा प्याराेलमा थुनामुक्त भएका थिए ।
