गाई, भैंसी, भेडा, बाख्रा र बंगुरको अभिलेखीकरण गर्न बार क्यूआर कोडसहितको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस, माइक्रोचिप्सका साथै प्रत्येक पशुलाई पहिचान नम्बरसहितको ट्याग दिइने
What you should know
काठमाडौँ — नेपालमा अब पशुको पनि डिजिटल पहिचान हुने भएको छ । राष्ट्रिय परिचयपत्रमार्फत नागरिकको डिजिटल विवरण सुरक्षित गरेको सरकारले गाई, भैंसी, बाख्रा, भेडा र बंगुरको विवरण अभिलेखीकरण गर्ने गरी ‘पशु पहिचान र ट्रेसेबिलिटी प्रणाली (एआईटीएस) को स्थापना तथा कार्यान्वयन निर्देशिका, २०८२’ अन्तिम चरणमा पुर्याएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारले निर्देशिका जारी गरेलगत्तै प्रत्येक पशुलाई १२ अंकको विशेष पहिचान नम्बरसहितको ट्याग दिइनेछ । विशेष प्रयोजनका पशुहरूका लागि बार क्यूआर कोडसहितको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस, माइक्रोचिप्स तथा अन्य प्रविधिको समेत प्रयोग गरिनेछ ।
मानिसका लागि परिचयपत्र भएजस्तै एआईटीएस पनि पशुहरूको डिजिटल परिचय भएको कृषि तथा पशु विकास मन्त्रालयका सहसचिव डा. शरणकुमार पाण्डेले बताए । ‘पशुको तथ्यांक डिजिटल गर्ने यो निर्देशिका हामी फागुनभित्र पास गरेर पाँच वर्षभित्र देशका सबै पशुहरूको विवरण डिजिटल बनाउने तयारीमा छौं,’ डा. पाण्डेले भने, ‘सफ्टवेयर तयार गरेर हामीले डेमो प्रोजेक्ट पनि तयार गरिसकेका छौं ।’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खरालका अनुसार पशु, पशु उत्पादनको स्रोत, तिनको व्यवस्थापन र रोग नियन्त्रणलाई व्यवस्थित बनाउन यो निर्देशिका तयार गरिएको हो । ‘यस प्रणालीमा पशुको जन्म मिति, माउको परिचय, भालेको परिचय, उत्पादन, पशु स्वास्थ्य तथा खोप, नश्ल, स्वामित्व, पशुहरूको आवतजावतसहित मृत्युको जानकारी पनि विवरणमा समावेश हुनेछ,’ सचिव खरालले भने, ‘कुन भेगको पशुलाई के भएको छ ? रोगको प्रकोप र स्वास्थ्य अवस्थाको जानकारीसहित पशु कल्याणका लागि पनि यो प्रणालीले विशेष काम गर्नेछ ।खरालका अनुसार यो अन्तर्राष्ट्रिय प्रयोग भएकाले नीतिगत मार्गदर्शनसमेत सरकारलाई सहयोग गर्नेछ ।
‘हाम्रो जस्तो देशमा छाडा पशुको संख्या घटाउन र पहिचानमा समेत यसले मद्दत गर्नेछ । अब कुनै पनि पशु चोरी हुने वा हराउने छैन । अनुदान वितरणमा समेत यस प्रविधिको प्रयोगले दोहोरिनेपन कम गर्ने र पारदर्शिता सुनिश्चित गर्ने हामीलाई विश्वास छ,’ खरालले थपे, ‘पशु बिमा, नश्ल सुधार, पशु र पशुजन्य पदार्थको उत्पादन क्षमता मूल्यांकन यकिन गरी तिनका गुणस्तर प्रमाणीकरणलगायत अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरणको आधार तय गर्न एआईटीएसले सहयोग गर्नेछ ।’
मन्त्रालयलाई प्राविधिक रूपमा अहिले इन्टरनेसनल लाइभस्टक रिसर्च इन्स्टिच्युटले सहयोग गरेको छ । यसरी संकलन भएको विवरण सरकारले पशुसम्बन्धी सम्पूर्ण तथ्यांक राष्ट्रिय सूचना प्रविधि केन्द्रको डाटा सेन्टरमा सुरक्षित राख्नेछ भने यसको सञ्चालन पशु सेवा विभागमार्फत हुनेछ ।
संघ, प्रदेश र स्थानीय तहले प्रणाली कार्यान्वयनमा समन्वय गर्ने निर्देशिकामा उल्लेख छ । हाल विभिन्न निकायबाट प्रयोगमा ल्याइएका सबैखाले पशु पहिचान प्रणाली यो निर्देशिका लागू भएको मितिबाट यसै प्रणालीअनुरूप हुने गरी आबद्ध हुनुपर्नेसमेत उल्लेख छ । एआईटीएस नेपालमा पहिलो पटक पशु क्षेत्रमा केन्द्रीकृत डिजिटल पहिचान प्रणाली भएको समेत मन्त्रालयले जनाएको छ ।
