जिल्लास्तरमा आचारसंहिता पालना गर्न गराउन सहायक प्रजिहरुलाई जिम्मेवारी दिइएको छ।
काठमाडौँ — गृह मन्त्रालयले ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’को जिम्मेवारी पाएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएको छ।
मन्त्रालयले बुधबार सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई एकसाथ यस्तो निर्देशन दिएको हो। गृह सचिव राजकुमार श्रेष्ठले दिएको निर्देशनमा आचारसंहिता अनुगमनको जिम्मेवारी प्रभावकारीरुपमा निर्वाह गर्न उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आयोगद्वारा प्रदान यस जिम्मेवारीलाई कार्यान्वयन गर्न गराउन निष्पक्ष र निर्भीक भई कार्य गर्नुहुनेछ भन्ने विश्वास गृह मन्त्रालयले लिएको छ र सबै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको रूपमा सम्पादित कार्यहरूको प्रतिवेदन मन्त्रलायमा समेत उपलब्ध गराउन अनुरोध गर्दछ।’
२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचन आयोगले आचारसंहिता, २०८२ लागू गरिसकिएको छ।
जिल्लास्तरमा आचारसंहिता पालना गर्न गराउन आयोगले सहायक प्रजिहरुलाई जिल्लाको आर्थिक विषय बाहेकका अन्य विषयमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी तोकेको स्पष्ट पारेको छ।
