निर्वाचनमा घृणाजन्य अभिव्यक्ति र गोपनीयता उल्लंघन बढ्दै : मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले आचारसंहिता उल्लंघन, घृणाजन्य अभिव्यक्ति र मतदाताको गोपनीयता हनन भएको भन्दै सम्बद्ध पक्षलाई सचेत गराएको छ ।

माघ २२, २०८२

रासस

Hate speech and privacy violations on the rise in elections: Human Rights Commission

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मानवअधिकारको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गरिरहेको छ । 

आयोगले आज निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अनुगमन पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा छलफल गरेको थियो । सहभागीहरुले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताए ।

आयोगको अनुगमनबाट राजनीतिक दलका केही नेताहरू र उम्मेदवारहरुले एक अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको पाइएको छ । अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको, मतदाताहरूलाई कुन दल/नेतालाई भोट दिने ? भनी प्रश्न सोध्ने र त्यसलाई भिडियो/अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लङ्घन गरको पाइएको आयोगले जनाएको छ ।

आयोगमा मानवअधिकार अनुगमनबाट निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरुबाट उल्लङ्घन भएको भनी प्रश्न उठेको, निर्वाचनपूर्व नै अमूक उम्मेदवारले जित्छ भनी समाचार तयार गरी भ्रम सिर्जना गरेको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जनाएको छ ।

केही राजनीतिक दलका कार्यालयहरूमा तोडफोड भएको, यसअघि आयोगले राजनीतिक दलका प्रतिनिधिहरु र सञ्चाकर्मीहरुसँग छुट्टाछुट्टै गरेको छलफलमा  उल्लिखित विषयहरुलाई उठाइएको अनुगमनबाट पाइएको छ ।

रासस

Link copied successfully