चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार

ओलीको निर्वाचन क्षेत्रलाई ध्यानमा राखेर एमालेले तालमेलको प्रस्ताव राखेको थियो ।

माघ २२, २०८२

गंगा बीसी

Oli proposes election coordination, Dahal rejects it

What you should know

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले अस्वीकार गरेका छन् ।

चुनावी तालमेल गर्ने विषयमा ओली र नेकपा संयोजक दाहालबीच टेलिफोनमा कुराकानी भएको थियो । तर, १६४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारले मनोनयन गरी प्रचारमा लागिसकेकाले तालमेल सम्भव नभएको जवाफ फर्काएको नेकपाका निर्वाचन प्रचारप्रसार समितिका संयोजक अग्नि सापकोटाले बताए । ‘एमालेबाट तालमेलको प्रस्ताव आएको हो । हामीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर युद्धस्तरमा प्रचारप्रसार थालिसकेका छौँ । त्यसैले नेकपाले अब कसैसँग तालमेल गर्दैन’ उनले भने ।

नेकपाबाट झापा-५ मा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ उठेका छन् । एमाले र नेकपाबीच तालमेलको चर्चा चलेपछि नेकपा संयोजक दाहालले अब कुनै दलसँग तालमेल नहुने स्पष्ट गरेको छन् । नेकपा, एमाले र अन्य दलसँग तालमेल नहुने भन्दै १६४ निर्वाचन क्षेत्रका निर्वाचन परिचालन समितिलाई घरदैलो अभियान व्यापक बनाउन निर्देशन दिएका छन् । 

सबै जिल्लाका निर्वाचन परिचालन समितिलाई ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्दै दाहालले एमालेलगायत दलसँग तालमेलको भ्रममा नपर्ने बताए । उनले तालमेलको प्रचार गरेर नेकपाविरुद्ध भ्रम सृजना गर्न खोजिएको भन्दै पार्टीका उम्मेदवारलाई जिताउन प्रतिबद्ध हुन निर्देशन दिए । ‘हामीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौं । कसैसँग तालमेल हुँदैन् । जनताबाट अस्वीकृत भएका र जेलेन्सकी प्रवृत्तिसँग तालमेल गरिँदैन्,’ उनले भने, ‘सबै निर्वाचन क्षेत्रबाट उत्साहजनक रिपोर्ट आएको छ । हामीले पहिलो पार्टी हुने सम्भवना देखेको छौं ।’

एमाले र नेकपाबीच तालमेलको  चर्चा चलेपछि दाहालले भर्चुअल सम्बोधन गर्दै आफ्ना उम्मेदवार जिताउन आग्रह गरेका छन् । आफू उम्मेदवार भएको रुकुम पूर्वमा एमालेले प्रलोपाको उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेपछि दाहाल बिच्किएका छन् । तुलनात्मक रुपमा सुरक्षित क्षेत्रमा उम्मेदवार बनेका दाहालविरुद्ध पूर्व माओवादी उपमहासचिव जनार्दन शर्माले सन्दीप पुनलाई उम्मेदवार बनाएका थिए । एमालेले रुकुम पूर्वका उम्मेदवार लीलामणि गौतमलाई ‘निश्क्रिय’ बनाएर पुनलाई समर्थन गरेपछि दाहाल सशंकित भएका थिए ।  

ओलीको निर्वाचन क्षेत्रलाई लक्षित गरी तालमेल प्रस्ताव

ओलीको निर्वाचन क्षेत्रलाई ध्यानमा राखेर एमालेले तालमेलको प्रस्ताव राखेको छ । तर, एमालेले प्रतिनिधिसभाका लागि १६४ क्षेत्रमा उम्मेदवार उठाएको छ । रुकुम पश्चिममा एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गरेको छ । रुकुम पूर्वमा प्रलोपाका उम्मेदवार सन्दीप पुनलाई समर्थन गर्ने एमालेको निर्णयमा भने जिल्ला कमिटी सहमत नभएपछि फिर्ता भएको छ । अरु सबै क्षेत्रमा एमालेका आफ्नै उम्मेदवार छन् । झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार भएपछि ओलीलाई चुनौती थपिएको छ । त्यसपछि एमालेले चुनावी तालमेलको प्रस्ताव अघि सारेको हो ।

एमालेले उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापाले २४ भदौको घटनाविरुद्ध उभिने दलहरुबीच सहकार्य हुन सक्ने बताउँदै आएका छन् । ‘पार्टीको नीति अनुसार, जहाँ–जहाँ देश जलाउनेहरूको विरुद्ध जान तयार हुने राजनीतिक दलहरू छन्, त्यहाँ दुवै पक्षको हितलाई ध्यानमा राखेर निर्वाचन क्षेत्रहरूमा सहकार्य सम्भव छ’ उनले बुधबार पत्रकार सम्मेलनमा भनेका थिए, ‘निर्वाचन क्षेत्रहरूमा यस्तो विन–विन नीतिअनुसार सहकार्य हुन सक्छ ।’

थापाले २३ र २४ भदौको घटनाप्रति इङ्गित गर्दै ‘देश जलाउनेहरुविरुद्ध’ गठबन्धन गर्ने नीति नै भएको बताए । ‘देश जलाउनेहरूविरुद्ध जाने वा उनीहरूको विरोधमा उभिने अन्य राजनीतिक दलहरूसँग निर्वाचन क्षेत्रहरूमा सहकार्य गर्न सकिने पार्टीको स्पष्ट नीति छ,’ थापाको भनाइ छ, ‘देश जलाउनेहरूको विरुद्ध जान तयार हुने राजनीतिक दलहरू छन्, त्यहाँ दुवै पक्षको हितलाई ध्यानमा राखेर निर्वाचन क्षेत्रहरूमा सहकार्य सम्भव छ ।’ उनले दलहरुले प्रत्यक्षका उम्मेदवार उठाइसके पनि निर्वाचन हुने दिनसम्म तालमलेको सम्भावना रहेको बताए । 

‘विभिन्न दलहरूले उम्मेदवार मनोनयन गरिसकेका छन्, तर २१ फागुनभन्दा अगाडिसम्म सबै पक्षबाट सहकार्यका लागि प्रयत्न जारी रहनेछ र अन्तिम समयमा यस्ता ठाउँहरूमा सहमतिमा पुगिन सक्छ,’ उनको भने, ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा विपक्षी एकता वा क्षेत्रीय तालमेलको प्रयासलाई प्रतिबिम्बित गर्छ ।’

ओलीका चुनवी कमाण्ड भन्छन्- तालमेल गर्नेबारे छलफल नै भएको छैन 

झापा-५ मा ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले तालमेल गर्नेबारे छलफल नै नभएको दाबी गरे । ‘हामी विगतकै मत सुरक्षित गर्दै चुनाव जित्ने अवस्थामा छौं,’ उनले भने, ‘यहाँ तालमेलको कुरै भएको छैन ।’ २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र एमालेबीच झापा ३ र ५ मा तालमेल भएको थियो । झापा-३ मा एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेको थियो भने ५ मा राप्रपाले एमालेलाई सघाएको थियो । 

झापा-५ मा यसपटक नेकपाका उम्मेदवार रञ्जित तामाङ प्रतिस्पर्धामा छन् । तामाङका निर्वाचन परिचालन समितिका संयोजक सुरेन्द्र बस्नेतले तालमेलको हल्ला निराधार भएको बताए । ‘अब कुनै पनि क्षेत्रमा तालमेल नहुने निर्देशन अध्यक्षले दिइसक्नुभएको छ । झापा-५ मा हामीले प्रतिस्पर्धालाई तीव्र पारेका छौं,’ उनले भने ।

गंगा बीसी

Link copied successfully