देशभरका सबै कारागारको सुरक्षामा सेना खटिँदै

हरेक कारागारमा एक/दुई जना प्रहरी राखेर बाँकी फिल्डमा पठाइँदैछ

माघ २२, २०८२

कान्तिपुर संवाददाता

Army deploying to secure all prisons across the country

What you should know

काठमाडौँ — देशभरका कारागार सुरक्षामा एक महिनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) निर्वाचन सुरक्षामा खटिने भएपछि देशभरका कारागारको अस्थायी सुरक्षामा नेपाली सेना परिचालन हुन लागेको हो । 

हरेक कारागारमा एक/दुई जना प्रहरी राखेर बाँकी फिल्डमा पठाइँदैछ । करिब ८० हजार जनशक्ति रहेको प्रहरीका ७१ हजार र करीब ३७ हजार कार्यरत सशस्त्रका करिब ३५ हजार जनशक्ति २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा परिचालन हुँदैछन् ।

निर्वाचनको भित्री र त्यसपछिको सुरक्षा घेरामा प्रहरी र सशस्त्र तैनाथ हुँदैछन् । यसका लागि कार्यालय र ब्यारेक तथा प्रशासनिक काममा कमभन्दा कम जनशक्ति र अपराध अनुसन्धानमा राखेर बाँकी प्रहरी र सशस्त्रलाई निर्वाचन सुरक्षामा केन्द्रित गराउन लागिएको छ ।

सोहीअन्तर्गत प्रहरी र सशस्त्रबाट दिइँदै आएको कारागार सुरक्षा जिम्मेवारी मतदान सकिएर नफर्किएसम्म सेनालाई दिन लागिएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभरका कारागारमा सेना खटिन लागेको र यसका लागि प्रहरी र सशस्त्रबाट बुझबुझारथको काम भइरहेको छ । ठूला, मझौला र साना गरी देशभर ७५ कारागार छन्, यी सबैमा सेना खटिन लागेको हो । 

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले सेनालाई चुनावी सुरक्षामा खटाउने गरी क्रमशः अन्य सुरक्षा निकायले बुझबुझारथ हुने क्रममा रहेको बताए ।

करीब १ लाख जनशक्ति कार्यरत सेनाका ८० हजार जनशक्ति निर्वाचन सुरक्षामा बुधबारदेखि खटाउन लागिएको छ । सेनालाई बाहिरी सुरक्षा ब्यवस्थापनका अलवा हवाई गस्ती, संयुक्त गस्ती, मतपेटिका ढुवानी, निर्वाचन सामग्री ढुवानीलगायत भूमिकामा परिचालन गराइँदैछ । 

एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना अनुसार सेनालाई एकल र संयुक्त रुपमा अन्य सुरक्षा निकायसँगै परिचालन हुदै छन् । बुधबारबाट सेना निर्वाचनका लागि फिल्डमा निस्कन लागेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमै निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृत गरिसकेका छन् ।

कान्तिपुर

Link copied successfully