पाँच महिनापछि डिस्चार्ज भए जेन–जी आन्दोलनका घाइते प्रकाश

२३ भदौमा भएको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनअघि उनको देब्रे खुट्टामा गोली लागेको थियो 

माघ २१, २०८२

समर्पण श्री

Prakash, injured in Gen-G movement, discharged after five months

What you should know

काठमाडौँ — राष्ट्रिय ट्रमा सेन्टरको ४५१ नम्बर वार्ड । सामान प्याक गरिरहेकी नन्दा बोहराको आँखामा खुसीका आँसु भरिएका थिए । बेडमा पल्टिरहेका छोरा प्रकाश सिरानीछेउ भएका पुस्तक साथीहरूलाई झोलामा हाल्न इंगित गरिरहेका थिए । नन्दाले छोरालाई हेर्दै भनिन्, ‘म अस्पताल आएकै दिन लागेको थियो, अब पाँच/छ महिना त यहीँ बित्छ भनेर ।’

जेन–जी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका प्रकाश मंगलबार पाँच महिनापछि राष्ट्रिय ट्रमा सेन्टरबाट डिस्चार्ज हुँदाको क्षण थियो यो । 

गत २३ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवनअघि भएको आन्दोलनका क्रममा उनको देब्रे खुट्टामा गोली लागेको थियो । नसामा गहिरो चोट पुगेपछि उनलाई लामो समय आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । ‘यी दिनहरू सजिला कहाँ थिए र । यति दुख्थ्यो, मलाई बाँच्दिनँ जस्तो हुन्थ्यो,’ प्रकाश भावुक सुनिन्छन् ।

त्यो दिन गोली लागेपछि प्रकाश ढलेका थिए । अस्पताल लैजाँदै गर्दा उनको एउटा जुत्ता छुटेको थियो । रगतले लतपतिएको त्यो जुत्ताको तस्बिर सामाजिक सञ्जालभरि छायो । २४ भदौको प्रदर्शनमा निस्किएका थुप्रै व्यक्ति त्यही लतपतिएको जुत्ता देखेर आक्रोशित देखिन्थे । जेन–जी आन्दोलनको प्रतीक बनेको त्यो आइकोनिक जुत्ता प्रकाशकै रहेको विषयमा कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको थियो ।

Prakash, injured in Gen-G movement, discharged after five months

त्यो जुत्ताको पनि आफ्नै कथा थियो । त्यो कथा पनि प्रकाशले कान्तिपुरलाई सुस्केरासहित केही समयअघि सुनाएका थिए । २०७३ मा हेल्थ असिस्टेन्ट (एचए) पास गरेपछि प्रकाश लोक सेवा आयोगको परीक्षाको तयारीमा जुटेका थिए । भनेजस्तो नभएपछि उनले केही समय विभिन्न परियोजनामा काम गरे ।

केही समय दैलेख कारागारको स्वास्थ्य सेवा शाखामा पनि काम गरे । घरको सानो किराना पसल र सामान्य खेतीपातीबाट हुने आम्दानीका भरमा घर खर्च नचल्ने भएपछि प्रकाश आत्तिएका थिए । भूकम्पले भत्काएको घर बनाउँदा ऋण लागेको थियो । ऋण बढ्दै गएपछि उनले विभिन्न विकल्प खोजे, धेरैमा असफल भए । उनको छटपटी बढिरहेका बेला रुस–युक्रेन युद्ध सुरु भयो । साथीभाइको सल्लाहमा उनले रुसी सेनामा भर्ती हुन जाने निर्णय लिए । 

दुई वर्षअघि प्रकाश रुसी सेनामा भर्ती पनि भए, युक्रेनविरुद्धको लडाइँमा होमिए । संयोगले १० महिनाअघि सकुशल नेपाल फर्किन पाए । रुसी सेनाको कमाइबाट उनले बाइक किने । घर फर्किंदै गर्दा नेपालगन्जको एक पसलमा उनले सेलमा राखिएका दुई जोर जुत्ता पनि किने । त्यसमा एक जोर थियो– भाइरल बनेको सेतो जुत्ता । ‘साम्बा ब्रान्डको त्यो जुत्ता मैले १५ सय रुपैयाँमा किनेको थिएँ,’ प्रकाश सम्झन्छन् ।

जुत्ता भाइरल भइरहँदा प्रकाश भने आईसीयूमा थिए । त्यसपछिको अस्पताल बसाइ सहज भने थिएन । ‘मेरा लागि त्यो नर्क बराबर थियो,’ डिस्चार्जको तरखरमा रहेका प्रकाश भन्छन् । डेढ महिनादेखि भने उनको दुखाइ क्रमशः कम हुँदै गयो । ‘आज डाक्टरले डिस्चार्ज दिने भनेपछि खुसी पनि लाग्यो । यतिका समय बितेका दिनहरू सम्झिएँ,’ प्रकाश भन्छन् । अस्पताल बस्दा पनि प्रकाशको मन भने देशको भविष्यमाथि थियो । ‘परिवर्तनका लागि आवाज उठाएकै कारण गोली खाँदाको पीडा त छँदै थियो । अब देश कता जाने हो भन्ने कुराले बढ्ता पिरोलेको थियो,’ उनी सम्झिन्छन् ।

Prakash, injured in Gen-G movement, discharged after five months

प्रकाशको उपचारका लागि उनकी आमा नन्दा बोहरा असोज ३ गते काठमाडौं आइपुगेकी थिइन् । छोराको हर पीडाको साक्षी बसेकी आमा नन्दा छोरा डिस्चार्जको खबरले खुसी त छिन्, तर चिन्ता भने सकिएको छैन । 

‘घर जान पाइन्छ भन्ने सोच्दा खुसी लाग्छ,’ उनी भन्छिन्, ‘तर खुट्टाको नसा कत्तिको बलियो हुन्छ, भविष्यमा के हुन्छ भन्ने डर पनि उस्तै छ ।’ डाक्टरका अनुसार नसाले पूर्ण रूपमा काम गर्न अझै समय लाग्नेछ । केही समयपछि पुनः फलोअप र थप उपचारका लागि आउन प्रकाशलाई सुझाएका छन् ।

प्रकाश हाल रास्वपाका तर्फबाट समानुपातिक सांसदको बन्दसूचीमा चौथो नम्बरमा छन् । हिजो संसद् भवन अगाडि सडकमा गोली खाएका प्रकाश अब संसद् भवनभित्र पस्न चाहन्छन् । घाइते र सहिद परिवारको आवाज बुलन्द पार्न चाहन्छन् । ‘घाइतेहरूको पीडा आफैंले अनुभूत गरेको छु । परिवारको पीडा महसुस गरेको छु । उनीहरूको आवाज र परिवर्तनका लागि म योगदान गर्न चाहन्छु,’ उनी भन्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully